छुचो थुतुनो



एमाले राजनीतिबाट वर्षौसम्म ओझेल परेका, राजनीतिको फ्रन्टलाइनमा आउन अनेक जुक्ति जुराए काठमाडौंका नेता केशव स्थापितले । कुनै बेला काठमाडौं महानगरको नेतृत्व गरेर चर्चा कमाएका उनलाई धेरैले छिटै राष्ट्रिय राजनीतिमा फड्को मार्ने अड्कल पनि गरे । अर्थात् राजनीतिमा स्थापित हुने अब स्थापित नै हो भन्नेहरु धेरै थिए ।

तर धेरैको अड्कल फेल भयो, स्थापित राजनीतिबाट वर्षौसम्म विस्थापित भए । तत्कालिन माऊ पार्टी एमालेका कारणले भन्दा पनि उनी आफ्नै कारणले राम्रैसँग विस्थापित भएको धेरैको ठहर छ । ग्रहदशा कटाउन दर्जनौ नेताको दरवारको दर्शन गरेपनि उनलाई साढेसातीले छोडेन, कुनै पनि नेताको आर्शिवादले छोएन ।

बल्ल तल्ल गत वर्ष ग्रहदशा कटाएछन् क्यार उनलाई रातारात फलिफाप पनि भयो । काठमाडौंमा फेरी मेयर बन्छन् भन्ने अड्कललाई तोड्दै, दर्जनौ आकांक्षीलाई साइड लगाउँदै उनी सांसद मात्रै हो र फ्याट्ट प्रदेश–३का मन्त्री बने । तर यतिबेला स्थापितलाई मन्त्रीपद फलिफाप नभएको चर्चा व्यापक छ । आफ्नै मन्त्रीपरिषद्का मुख्यमन्त्रीसँग पटक–पटक जुहारी चलेपछि मन्त्रीपद धरापमा भएको बुझियो ।

मुख्यमन्त्री डोरमणी पार्टीका ‘मुख्यमणी’ ओलीसँग दर्शन भेट गर्न काठमाडौं आएपछि उनको पद खुस्किने निधो भएको धरहराले सुइँको पाएको छ । त्यसैले धरहराको ठहर छ–थुतुनो सम्हाल्न नसकेपछि थर मात्रै स्थापित भएर के गर्नु, पद नै विस्थापित हुने भएसी ।

प्रतिक्रिया दिनुहोस्