धरहरा पुनर्निर्माण कार्यमा अवरोध नआओस्



भूकम्पले ध्वस्त पारेको धरहरा साढे ३ वर्षपछि बल्ल पुनर्निमाण शुरु भएको छ । काठमाडौंको पहिचान धरहरा ढलेपछि यहाँको सौन्दर्यमा समेत कमी महसुस गरिएको थियो । तर अब धरहरा पुनर्निर्माण कार्य सम्पन्न भएपछि यहाँको सुन्दरता पहिलेको भन्दा झनै बढ्ने देखिन्छ । निर्माण कम्पनीले स्थानीय र अन्य कारणबाट कुनै अवरोध नभएमा अबको दुई वर्षमै सम्पन्न गर्ने दाबी गरेको छ ।

आधुनिक र परम्परागत सामग्री प्रयोग गरी निर्माण गर्न लागेको आधुनिक धरहरा २२ तले हुनेछ भने यसको उचाइ ७९ मिटर अग्लो हुनेछ । भूकम्पले ढालेर बाँकी रहेको धरहराको ठुटोलाई एक किसिमको पारदर्शी ग्लासले छोपेर प्रदर्शनीका लागि राखिने जाइएको छ । त्यसैले पनि यो धरहरा क्षेत्र पहिलेको तुलनामा बढी नै सुन्दर हुनेछ । तर अब यो र त्यो बहानामा यसको निर्माणकार्यमा भने ढिलाइ गर्नुहुँदैन ।

जीआईटीसी रमन ज्वाइन्ट भेन्चरले एक सातादेखि धरहराको पुनर्निर्माण कार्य शुरु गरे पनि स्थानीय र सरकारको स्वामित्वमा रहेको दुई निकायको भवन खाली नहँुदा भने निर्माणमा समस्या देखिएको छ । निर्माण कम्पनीका प्रतिनिधि पवन महतोले सरकारले काम गर्न इजाजत दिए पनि समस्या यथावत् रहेको बताउनुले समयमै धरहरा निर्माण नहोला कि भन्ने आशंका छ । यता स्थानीयले परम्परादेखि चल्दै आएको जात्रामा हिँड्ने स्थान खालि गर्न माग गर्दै आएको समाचार छ । टक्सार विभाग र हुलाक सेवा विभागको भवन स्थानान्तरण नगरेसम्म काम गर्न समस्या पर्ने कम्पनीको भनाइ छ । ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्नुपर्ने धरहराको २८ रोपनी जग्गामा दुई निकाय रहेकाले ती निकायको भवन खाली नभएसम्म धरहरा निर्माण गर्न कठिन छ । यतातर्फ सरकारको ध्यान जानु जरुरी छ ।

पुनर्निर्माण प्राधिकरणले निर्माण कम्पनीलाई काम गर्ने अधिकार दिएलगत्तै पुनर्निर्माणको कार्य शुरु गरे पनि सरकारले भने त्यहाँ रहेका टक्सार विभाग र हुलाक सेवा विभागलाई कहाँ स्थानान्तरण गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन । यता स्थानीयको अवरोधको कारण पनि काम गर्न समस्या परेको छ । त्यसैले स्थानीयका जायज मागको सम्बोधन गर्नु अपरिहार्य छ । साथै टक्सार र हुलाक विभाग कार्यालय स्थानान्तरण गर्ने विषयमा पनि सरकारले निर्णय गर्न ढिला गर्नुहुँदैन । तिहारको लागि लक्ष्मीको फोटो अंकित सुन–चाँदीको सिक्का छाप्नुपर्ने कारण तत्काल टक्सार विभाग हटाउन नसक्ने कुरा बाहिर आएको छ । त्यसैले तिहारपछि तुरुन्तै टक्सार विभागसहित हुलाक सेवा विभाग स्थानान्तरण गर्नका लागि अहिलेदेखि नै पहल गरियोस् ।

प्रतिक्रिया दिनुहोस्