विस्फोटक पदार्थको नियन्त्रण जरुरी



दशैँ सकिएसँगै तिहार र छठपर्व नजिकिँदै गर्दा नेपालका सीमाक्षेत्रबाट पटाका भित्रिने क्रम शुरू भएको छ । बारुदजन्य विस्फोटक पदार्थ भित्रिँदा ठूलो परिमाणको धनराशी खेर जानुका साथै पटाकाका कारण ज्यान नै जाने जोखिम रहन्छ । मानिसको जीवन पलपलमा जोखिमपूर्ण छ । स–साना कुरामा ध्यान नदिने हो भने मानवजीवन खेर जान पनि सक्छ । व्यापारीहरुले कमाउने लोभमा तिहार, छठपर्व र हरिबोधनी एकादशीसम्म विस्फोटक पदार्थको व्यापार गर्छन् । प्रशासनले केही वर्षदेखि पटाकालगायत विस्फोटक पदार्थको बिक्री वितरण तथा ओसारपसारमा रोक लगाए पनि लुकिछिपी यस्ता पदार्थ भित्रिने क्रम जारी नै छ ।

अहिले दैनिकजसो सीमावर्ती क्षेत्रहरुबाट ठूलो परिमाणमा पटाकालगायतका विस्फोटक पदार्थ बरामद भइरहेको छ । तर, पटाका भित्रिन छाडेको छैन । प्रहरी, प्रशासनलगायतका निकायले नेपालमा तिहार तथा चाडपर्वको समयमा पटाका, आतिसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग र बिक्री वितरण गर्न रोक लगाएको छ । तर अवैधरुपमा नेपालमा आउने क्रम जारी नै छ ।

तिहार तथा छठपर्वमा रमाइलो गर्ने नाममा पटाका र आतिसबाजीको आवाजले मानिसको कानमा असर गर्छ । त्यसबाट निस्कने बारुद र आगोले आगलागी हुने जोखिम पनि रहन्छ । बालबालिकाको आँखा नै गुम्ने, शरीरमा गम्भीर चोट पुग्ने र मृत्यसमेत हुनसक्ने जोखिम रहन्छ । चाडपर्वमा रमाइलो गर्ने नाममा जोखिम मोल्नुहुँदैन । लाखौँ रकम अनुत्पादकरुपमा बाहिरिने गर्दा त्यसको घाटा देशले बेहोर्नुपर्छ । पटाका पड्काउँदा अंगभंग भई अपांग जीवन बिताउनुप¥यो भने त्यो सबैका लागि पीडादायी हुन्छ ।

पटाकाजस्ता विस्फोटक पदार्थ निरुत्साहित गर्नका लागि सबैको सहयोग उत्तिकै महत्वपूर्ण रहन्छ । सरकारले विस्फोटक पदार्थ प्रतिबन्ध लगाउँदा करोडौं रुपियाँ बाहिरिन पाएको छैन । भारतीय सीमावर्ती क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गर्ने हो भने लुकिछिपी भित्रिने विस्फोटक पदार्थ पनि निरुत्साहित हुनेछन् । प्रशासनले पटाका आयात र बेचबिखनमा रोक लगाए पनि दिनहुँजसो ठूलो परिमाणमा बरामद भइरहनु दुर्भाग्य हो । सार्वजनिक शान्तिमा खलल पार्ने यस्ता पदार्थ नियन्त्रण नभएसम्म जोखिम बढाउने सम्भावना उत्तिकै रहिरहन्छ ।

पटाकालगायतका पदार्थ आयात गर्ने मात्र होइन बेचबिखनमा संलग्नलाई विस्फोटक ऐनअनुरुप कारबाही हुन्छ । पटाकाले निम्त्याउने सक्ने क्षतिबारे जानकारी हुँदाहुँदै पनि कमाउने लोभमा यस्ता पदार्थको बेचबिखन गर्नु गम्भीर लापरबाही हो । गम्भीर प्रकृतिका पटाका बमको आवाजमात्र होइन, त्यसले पार्ने क्षति पनि अकल्पनीय हुन्छ । प्रशासनले निषेध गरेको चर्को आवाजको पटाका बेच्ने र पड्काउने काम गरेमा विस्फोटक पदार्थ ऐन–२०१८ अनुरूप मुद्दा चलाउने गरिन्छ ।

प्रहरीले हरेक वर्ष केही व्यवसायीलाई केही विस्फोटक पदार्थ ऐनअनुरूप र जथाभावी पड्काउनेलाई केही सार्वजनिक अपराधको मुद्दा चलाएर कारबाही गर्दै आएको छ । उक्त ऐनमा सामान्य खालका पटका बेचबिखन गर्नेलाई १ हजार रुपियाँ जरिबाना, आतिसबाजी वा पटकाभन्दा चर्को खालका विस्फोटक पदार्थसहित पक्राउ परेकालाई १ वर्ष कैद वा १० हजार रुपियाँ जरिबाना गर्न सकिने प्रावधान छ ।

नाइट्रो ग्लिसिरिन, डाइनामाइट र ब्लास्टिक पाउडरसहित पक्राउ परेमा दुई वर्ष कैद वा २० हजार रुपियाँ जरिबाना हुने प्रावधान छ । हाम्रा चाडपर्वलाई सभ्य, भव्य, सुसंस्कृत बनाउन यस्ता पदार्थ निरुत्साहित गर्नुपर्छ । अरुलाई हैरानी बनाएर होइन, शान्त र सुन्दर तरिकाले चाडबाड मनाउनु नै बुद्धिमानी हुने देखिन्छ ।
– रामनारायण गजुरेल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्