खेलेरै नाम र दाम कमाउंदै सन्दीप



कविरस शर्मा
पहिलो पटक जुनियर टिमका लागि ट्रायल दिँदा उनी असफल भएका थिए । तर पछि यू—१९ टिमको कप्तान नै बने उनी । अनि भारतकै चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग ‘आइपीएल’ खेलेसँगै विश्व क्रिकेटमा एकाएक चम्किए यी युवा खेलाडी । जहाँ उनको खेल कौशल र उत्कृष्टताबाट विश्व क्रिकेटका मै हुं भन्ने खेलाडीहरु समेत प्रभावित भए । उमेर समूहबाट नेपाली क्रिकेटमा चम्केका उनी दिल्ली डेयरडेभिल्सबाट व्यवसायिक क्लब म्याच खेल्ने पहिलो नेपाली खेलाडी मात्र होईन, दिग्गज खेलाडीहरुसामु नेपाली खेलाडीले पनि उत्कृष्ट खेल्न सक्छन् भनेर विश्वलाई नै देखाउन सफल भए । दिल्ली डेयरडेभिल्सबाट मात्र ३ म्याच खेलेपनि आफूलाई प्रमाणित गर्न उनले कुनै कसर बाँकी राखेनन् । यस्ता थुप्रै विशेषता बोकेका ब्यक्ति हुन् नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने । जसलाई अहिले अन्तर्राष्ट्रिय क्रिकेटका विभिन्न घरेलु लिग खेल्न भ्याई नभ्याई छ ।

छोटो समयमा नै एकाएक राष्ट्रिय टोलीको अभिन्न अंग बनेको सन्दिपले यु—१९ विश्वकपमा आयरल्याण्डविरुद्ध ह्याट्रिक लिन सफल भए । उमेर समूहमा यसअघि पाँच जना क्रिकेटरले मात्र यो सफलता हात पारेका थिए । सन् २०१६ मा पहिलो पटक यी फुच्चे केटोले राष्ट्रिय टिममा डेब्यु गर्दा सबैजना आश्चर्यचकित भएका थिए । त्यतिबेला सन्दीप मात्र १६ वर्षको थिए । तर त्यहि फुच्चे केटोले आफ्नो नाम नेपाली क्रिकेटको इतिहासमा नै स्वर्णिम अक्षरले लेख्लान् भन्ने कसैले सोचेका पनि थिएनन् । उनी आइपीएलमा व्यवसायिक क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बन्न सफल भए । जुन उनको जीवनको टर्निगं प्वाइन्ट नै बन्यो ।

आइपीएलपछि क्यानेडियन लिग, वेस्ट इन्डिजमा भएको क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’, अफगानिस्तान प्रिमियर लिग ‘एपीएल’ तथा केरलाबाट उनले म्याच खेलिसकेका छन् । हालसालै युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी–१० र अष्ट्रेलियाको ‘बिग बाश’ लिग खेल्नका लागि मेलबर्न स्टार्स क्लबमा समेत उनी अनुबन्ध भएका छन् । केही दिन अघि मात्र उनी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सिलेट सिक्सर्सबाट खेल्ने पक्का भएका छन् । कलिलो उमेरमै एकपछि अर्को विदेशी लिगमा जम्न थालेका उनले करौडौ प्रशंसक समेत कमाएका छन् । करौंडौ प्रशंसकसँगै किशोर अवस्थामा खेलेरै करोडपति बन्ने पहिलो नेपाली खेलाडीको उपमा समेत उनले आफ्नो पोल्टामा पारेका छन् ।


सन्दीप पछिल्लो एक वर्षमै फ्रेन्चाइज लिग खेलेर करोडपति बनिसकेका छन् । इंन्डियन प्रिमियर लिग ‘आइपीएल’ मा खेलेबापत् दिल्ली डेयरडेभिल्सबाट उनले ३२ लाख नेपाली रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यस्तै, ग्लोबल टी–२० क्यानाडामा ४० हजार अमेरिकी डलर अर्थात् नेपाली ४३ लाख २० हजार रुपैयाँ लिए । क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ मा ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार लाख आम्दानी गरेका थिए । साथै सन्दिपले अफगानिस्तान प्रिमियर लिग ‘एपीएल’ बाट १५ हजार अमेरिकी डलर तथा केरलाबाट ३० हजार अमेरिकी डलर पारिश्रमिक लिए । यूएई, मेलबर्न स्टार्स क्लब र बंगलादेशको सिलेटबाट पनि उनले चित्तबुझ्दो रकम नै हात पार्नेछ । यस्तै नेपालमै बढ्न थालेको विभिन्न घरेलु क्रिकेट लिगबाट पनि उनको आम्दानी वृद्धि भएको छ । यो बाहेक उनले विभिन्न ब्यवसायिक कम्पनीको ब्रान्ड एम्बेस्डर भएबापत् एक करोड भन्दा बढी रकम पनि कमाएका छन् ।

एकपछि अर्को विदेशी लिगमा माग बढ्दै गएको सन्दीपले विदेशी भूमिमा नेपाली राष्ट्रिय टोलीबाट पनि कीर्तिमान बनाएका छन् । आईसीसी टी–२० एसिया क्वालिफायर खेलका दौरान उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले गत बर्ष जुलाईमा सिंगापुरमा भएको यु—१९ विश्वका क्वालिफायरमा ६ खेलमा २४ विकेट लिदैं किर्तिमान बनाएका थिए । स्याङ्जाको आरुचौरमा जन्मिएका सन्दीपको खेल जीवनको यात्रा भने चितवनको क्याम्पाचौरबाट शुरु भएको थियो । चितवनमा हुँदा उनले नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान राजु खड्काबाट प्रशिक्षण लिएका थिए ।


वर्तमान नेपाली खेल वृतलाई हेर्ने हो भने खेलेरै पेट पाल्ने अवस्था अझै सिर्जना भईसकेको छैन । अझ विगतलाई खोतल्ने हो भने त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिष्ठा उंचो राख्ने कतिपय चर्चित खेल हस्तीहरुको जीवन अभावमा बितेको तीतो यथार्थ सर्वविदितै छ । तीमध्येका कतिपय गुमनाम नामहरुको जीवन अझै पनि अभावमा नै बितिरहेको छ भने केही अभावकै जिन्दगीमा रुमल्लिएर संसारबाट नै बिदा पनि भईसकेका छन् । तर अहिले सन्दिपको सफलताले भने नेपाली खेलकूद जगतलाई केही हदसम्म राहत महसूस गराएको छ ।

क्रिकेटको कारण अहिले जसरी अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालको नाम फैलिरहेको छ, त्यसमा सन्दिपको सफलताले त झन् सुनमा सुगन्ध थप्ने काम गरेको छ । नेपाली मूलका भएपनि विदेशबाट खेलेर नाम र दाम कमाउने खेलाडीहरुको बारेमा हामीले धेरै सुनेका र देखेका छौं । तर नेपालको प्रतिनिधित्व गर्दै विदेशी खेल मैदानमा सफलताको ओईरो नै लगाएपछि सन्दिपले ती सबैलाई उछिनेका छन् ।

कलिलो उमेरमा नै नाम र दाम दुवै आर्जन गरेका सन्दीप युवा पुस्ताका लागि उदाहरणीय बनेका छन् । यति मात्र होइन, उनी सम्पूर्ण नेपाली खेलकूदकै प्रेरणाको खानी समेत हुन् । बितेको एक वर्षभित्र खेलमार्फत् जति उनले नाम र दाम आर्जे त्यो नेपाली खेलकूदकै पहिलो घटना हो । किशोर अवस्थाको सन्दिपका लागि यो त भर्खर करियरको सुरुवात मात्र हो । भविष्यमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई यसरी नै निरन्तरता दिन सकेमा खेलेरै नाम र दाम कमाउने मात्र होइन, नेपाली शेन वार्न कहलिएका उनी कुनै दिन विश्वस्तरका क्रिकेट लेजेन्डहरुको सूचीमा समेत अटाउनेमा दुईमत नहोला ।

प्रतिक्रिया दिनुहोस्