एनपीएलः उपाधीका लागि मेलौली र पाटन भिड्ने



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधीका लागी मेलौली नगरपालिका र पाटन नगरपालिका भिड्ने भएका छन् ।

बिहीवार सम्पन्न दोस्रो सेमिफाईनल खेलमा किरन ठगुन्नाको उत्कृष्ट प्रदर्शनले दशरथचन्द नगरपालिका ‘सी’ लाई ७ विकेटले पाखा लगाउदै मेलौली नगरपालिका फाईनल प्रवेश गरेको छ ।

निंगलासैनी खेल मैदान देहीमाडौंमा टस जितेर पहिला ब्याटिंग गरेको दशरथचन्द ‘सी’ ले सुरेन्द्र बिसीको ४८ तथा नरेश नाथको ३७ रनको मद्दतमा २० ओभरमा ७ विकेटको क्षतीमा १४८ रन बनायो । मेलौलीका किरन ठगुन्ना र जयराम भट्टले एक एक विकेट हात पारे । १४९ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको मेलौलीले १४ दशमलव ३ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । जसमा किरन ठगुन्नाले अर्धसतकिय पारीका साथ ५० रन जोडे भने कृष्णदेव भट्टले अविजित ४९ रन बनाए । खेलका म्यान अफ द म्याच मेलौलीका किरन ठगुन्ना चुनिए ।

यसअघि बिहीवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा सिगास गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै पाटन उपाधी नजिक पुगेको हो ।
पहिला ब्याटिंग गरेको सिगास १६ दशमलव ४ ओभरमा ७९ रनमा समेटियो । जसमा लोकेन्द्र रावलले व्यक्तिगत २७ रनको योगदान गरे । पाटनका सुभाष विष्टले ३ विकेट हात पारे । ८० रनको सामान्य विजयी लक्ष्यका साथ मैदान उत्रेको पाटनले ११ दशमलव १ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । पाटनका विकास विष्टले अविजित ३४ रन बनाए ।

पाटन र मेलौलीविचको उपाधी भिडन्त शुक्रवार विहान ८ बजेपछी हुने जनाईएको छ । उक्त फाईनल खेलसंगै समापन समारोह विभिन्न सांस्कृतिक कार्यक्रमका साथ हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्