सोफाको सहारामा अमिरले गाए



आमा हुन् भगवान

हेटौंडा, (नेस)। दर्शकदीर्घामा उभिएकालाई एउटा रहस्यले तानिसकेको थियो। थाहा महोत्सव अवलोकनकर्ता हतारिएर मञ्चतर्फ लम्किँदै गरेका देखिन्थे। घाँटीभन्दा तलको भाग नचल्ने कारण सोफामा पल्टाइएका उनले सुतेरै गीत गाए आमा हुन् भगवान्, आमा हुन् देवी, आमाबिना चल्दैन मेरो जिन्दगी।

मञ्चको एउटा सानो सोफामा पँरै शरीर राखेर बसेका उनै रहस्यले भरिएका व्यक्तिलाई आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान र प्रेस सल्लाहकार कुमार नेगीले सोफासहित बोकेर मञ्चछेऊँ ल्याउँदा चिन्नेले चिने उनै बहुप्रतिभाशाली व्यक्तित्व अमिर भोम्जनलाई। १८ वर्षीय अमिर थाहानगर–१, खानीगाउँका बासिन्दा हुन्। ‘मलाई सबभन्दा प्यारो भनेकै आमा हो, म हिँड्न त के बस्न पनि सक्दिनँ। कतै जानुप¥यो भने सहारा चाहिन्छ र त्यो सहारा नै मेरी आमा हुन्’ –उनले भने। त्यसपछि गाए आमा मेरो जिन्दगीको पनि जिन्दगी। अमिरले यसरी आफ्नो कथाब्यथासहित आमाको गीत गाउँदा दर्शकका आँखा आँसुले टिल्पिलाए।

तथापि अमिर भन्दै थिए ‘कमअन्, मलाई हौसला दिनुहोस्।’ थाहानगरको इन्द्रायणी चौरमा कात्तिक १० देखि जारी तेस्रो थाहा महोत्सवका क्रममा बुधबार अमिरले आफ्ना वेदनायुक्त प्रस्तुति दिए। उनले गाएको आमा शीर्षकका गीत उनका चर्चित रेकर्डेड गीतमध्ये पर्छन्। वसन्त सापकोटाको सहयोगले उनले ५ गीत रेकर्ड गराइसकेका छन्। अमिर गीतकार, कवि र चित्रकार पनि हुन्। उनको चित्र ताइवानमा २ लाख रुपियाँमा बिक्री भएको छ भने उनी त्यही चित्रबापत ताइवानमा फरवेन्ट ग्लोबल लभ अफ लाइफ पुरस्कारबाट सम्मानित भएका छन्।


ताइवानका पँर्वराष्ट्रपति मा यिङज्युले ताइवानमा उनलाई पुरस्कृत गरेका हुन्। क्यान्सरपीडित ताइवानी कवि चोउ ताक्वानको स्मृतिमा उनका आमाबाबुले पुरस्कार स्थापना गरेका हुन्। यसअघि झमककुमारी घिमिरेलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो। बहुअपांगता भएका बहुप्रतिभाशाली कलाकार अमिरसँग अचम्मको प्रतिभा छ। उनी मुखले कलम, कम्प्युटर र मोबाइल चलाउँछन्। युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उनलाई चित्रकलातर्फ राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको छ।

सम्मानसँगै अमिरले १ लाख रुपियाँ प्राप्त गरेका थिए। मकवानपुरका अमिरका अरूका जस्तै सपना छन्, तर उनी शारीरिक कठिनाइका कारण सपना सहजै पँरा नहोलान् कि भन्ने चिन्तामा छन्। अमिरको न हात चल्छ, न खुट्टा नै। तर, उनले हरेस खाएका छैनन्। मुख र जिब्रोका भरमा उनी आफ्नो जीवन चलाइरहेका छन्, सपनालाई पछ्याइरहेका छन्। उनी भन्छन्– ‘मसँग विश्वास छ, आँट छ। म गर्न सक्छु।’ मुखको सहयोगमा उनी लेख्ने मात्र होइन, राम्रा चित्र पनि बनाउँछन्।

उनी गुन्गुनाउँछन्, जीवनका उकालीओराली समेटिएका गीतहरू। यही अभ्यासले हुनुपर्छ, अहिले अमिर गायक बन्ने सपना बुनिरहेका छन्। आफ्ना गीतका लागि आफैं शब्द कोरिरहेका छन्। अमिरलाई स्कुल जान मन पनि मन थियो। बिडम्वना, स्कुल उनको पहुँचमा भएन। ६ कक्षा पढेका अमिरले स्कुल लैजाने÷ल्याउने सहयात्री नपाएपछि अध्ययन बीचैमा छाडे। त्यसैले होला उनीसँग गुनासा पनि छन्।

महोत्सवको चौथो दिन मंगलबारको विशेष प्रस्तुतिमा गायक मिलन लामा र कमल खत्रीले दर्शक तताएका थिए। लोकदोहोरीमा जमेका गायक लामा र युवाबीच लोकप्रिय खत्रीले महोत्सवमा आएका दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए। मिलनले माझी दाइ पोखरा फेवा तालको, घरमा पराल बारीमा बन्सोलगायत गीत गाएका थिए भने कमलले बोल्दैन त्यो तिम्रो तस्वीर, कोरेर प्रेमपत्र, कसम कसमलगायत गीत गाएका थिए।

प्रतिक्रिया दिनुहोस्