कतारदेखि नै ४८ टोली बनाउने लक्ष्य



लन्डन, (एजेन्सी)
फिफा अध्यक्ष गियानी इन्फान्टीनोले विश्वकपमा टोलीको संख्या बढाउने योजनाअनुसार आगामी कतारमा हुने विश्वकपदेखि नै यसको थालीन गर्ने बताएका छन् ।

इन्फान्टीनोले यसअघि २०२६ को विश्वकपमा मात्रै टोलीको संख्या बढाउने भनेका थिए । बुधबार उनले यसको साटो कतारमा हुने २०२२ विश्वकपदेखि नै ३२ बाट ४८ टोली संख्या पु¥याउने बताए । सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरुपमा आयोजना गर्नेछन् ।

इन्फान्टीनोले बताए—यदि यो संभव छ भने कतारबाटै किन शुरु नगर्ने? हामीले कतारी साथीहरुसँग छलफल गरिरहेका छौ । अन्य क्षेत्रका साथीहरुसँग पनि छलफलमा छौ । हामीले यो हुन सक्ने आसा पनि गरेका छौ । हामीले कोसिस गर्ने हो । किनभने कोसिसले नै राम्रो नतिजा अगाडि आउनेछ ।

क्वालालम्पुरमा एसियन फुटबल महासंघको नयाँ मुख्यालय खोलेको कार्यक्रममा इन्फान्टीनोले सो योजना छिटै कार्यान्वयन गर्ने बताएका हुन् । उनको क्लब वल्र्ड कपमा पनि टोली फैलाउने योजना रहेको पनि बताइएको थियो । उनले बताए—साथै विश्वका हरेक क्लबलाई ल्याउने योजना छ । यसले साँचो प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्