कांग्रेस महासमितिको अपेक्षा



नेपालको लामो इतिहास रहेको प्रमुख राजनीतिक दलमध्येको एक नेपाली कांग्रेसको महासमिति बैठक आउँदो मंसिर पहिलो साता बस्दै छ । केन्द्रय समितिभन्दा माथिल्लो निकायको रुपमा रहेको महासमिति बैठकको मुख्य एजेन्डा विधान संशोधन तथा परिमार्जन भए पनि यो बैठकले नेपाली कांग्रेसको भावी रणनीतिको बारेमा समेत छलफल गरी ठोस कार्यदिशा पहिल्याउने भनिएको छ । कांग्रेसको १३औं महाधिवेशनपछि पहिलोपटक बस्न लागेको महासमिति बैठकले इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको नेपाली कांग्रेसलाई चलायमान र सशक्त बनाई पुनर्जीवन दिने अपेक्षा पनि गरिएको छ ।

केन्द्रीय समितिका सबै नेताहरु मात्र हैन, देशभरका जिल्ला नेतृत्व र क्षेत्रीय नेृत्वमा रहेका नेताहरुसमेत रहेको महासमितिका ३ हजारभन्दा बढी नेताहरुको सामूहिक छलफलबाट निकालिएको निष्कर्षले नेपाली कांग्रेसलाई पुनः सशक्त र पहिलो राजनीतिक शक्तिको रुपमा पु¥याउन नसकिने होइन । कांग्रेसभित्र गुट–उपगुट व्याप्त छ । नेताहरुमा सामूहिक छलफल गरी निर्णय गर्ने प्रचलन छैन । नेताहरुमा ‘हामी’ भन्दा पनि ‘म’ भन्ने प्रवृत्तिबाट अघि बढ्ने गरिएको पाइन्छ । ‘राम्रोलाई’ भन्दा ‘हाम्रोलाई’ प्राथमिकता दिएको पाइन्छ । पार्टीभित्र क्षमता र योग्यता भएका तथा पार्टीलाई धेरै योगदान पु¥याएका नेता–कार्यकर्तालाई पाखा लगाउने गरिएको पाइन्छ । जनअपेक्षको सम्बोधन गर्न नसकेको, समय सान्दर्भिक निर्णय क्षमता नभएको जस्ता आरोपहरु पनि कांग्रेसलाई लागिरहेको छ । यही कारण पछिल्लो निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेको निष्कर्षसमेत निकालिएको छ ।

मुलुकमा भएका ठूला–ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई लोकतन्त्रको विश्वव्यापी मूल्य र मान्यताप्रति प्रतिबद्ध पार्टी भनिन्छ । तर पार्टीभित्रको आन्तरिक संस्कार निरंकुशता भएको भन्दै निकै आलोचना पनि हुने गरेको छ । पार्टी विधि विधानअनुसार संस्थागत ढंगले नचलेको भन्दै कांग्रेसका जिम्मेवार नेताहरु नै दैनिक भाषण गर्दै हिँडिरहेको पाइन्छ । पछिल्लो तीन दशकको इतिहासलाई मात्र हेर्ने हो भने पनि ठूला–ठूला राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको देखिन्छ । यही पार्टी अहिले सबैभन्दा कमजोर भएको छ । मंसिर ५ देखि ९ गतेसम्म बस्ने महासमिति बैठकमा कांग्रेसको विगत, वर्तमान र भविष्यबारे विस्तृत छलफल गरी भावी रणनीति बनाएर अघि बढ्नका लागि महासमिति बैठक कोसेढुंगा साबित हुनसक्छ । पार्टीभित्र भएका विगतका कमी–कमजोरी सच्याउन र पार्टीलाई एकताबद्ध ढंगले अघि बढाई फेरि देशको नेतृत्व गर्ने दलको रुपमा स्थापित गर्नको लागि ठोस नीति बनाउन पनि महासमिति बैठक सक्षम हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्