पीपीएल क्रिकेटः सन्दीपको कप्तानीमा विराटनगरको पहिलो जित



नेपाल समाचारपत्र, पोखरा ।
पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर  पहिलो जित निकालेको छ ।

बुधबार भएको रोमान्चक खेलमा विराटनगरले सोमपाल कामीको बुटवल ब्लास्टर्सलाई १२ रनले हराएको हो ।लगातार तीन खेलपछि विराटनगरको यो पहिलो जित हो ।

पोखरा रंगशालामा विराटनगरले दिएको १४१ रनको लक्ष्य पछ्याएको बुटवलले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाउन सक्यो । अन्तिम ओभरमा बुटवललाई जितका लागि १३ रन आवश्यक रहदा किशोर महतोले एक विकेट सहित मेडन ओभर बलिङ गरेपछि विराटनगरले जित निकालेको हो । उनले सिद्दान्त लोहनीलाई आउट गरेका थिए ।

बुटवलका भिम सार्कीले ५० रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सागर पुनले २९ रन जोड्दा शंकर रानाले २३ रन बनाए ।

विराटनगरका सन्दीप लामिछाने र किशोर महतोले २र२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४० रन बनाएको थियो । खराब सुरुवात गरेको विराटनगरका लागि मोहमद जायद आलमले अर्धशतकीय इनिङस खेले ।

सुन्य रनमा पहिलो विकेट गुमाएको विराटनगरका लागि आलमले ७२ रनको योगदान दिए । यस्तै प्रदीप ऐरीले ४१ रन जोडे । आलम र प्रदीपले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बुटवलका ललित सिंह भण्डारीले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्