कडा सुरक्षाबीच मोदीद्वारा पटेलको विश्वकै अग्लो स्मारक अनावरण गरिँदै



काठमाडाैं । भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ ।

उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अनावरण गर्न लागेका हुन् । सो अनावरण कार्यक्रममा भारतीय प्रहरीले व्यापक सुरक्षा प्रदान गरेको समाचारमा जनाइएको छ ।

सो स्मारक भारतीय स्वतन्त्रता सेनानी बल्लभभाइ पटेलको हो । उनको स्मारक करिब चार वर्ष लगाएर बनाइएको छ । यसै महिना निर्माण सम्पन्न भएपछि त्यसको अनावरण प्रधानमन्त्री मोदीले बुधबार गर्ने कार्यक्रम रहेको भनी व्यापक प्रचार गरिएको थियो ।

सोहीबमोजिम अनावरणको तयारी गरिएपछि स्थानीयले त्यसको विरोध गरेका छन् । उनीहरूले उक्त सालिक निर्माणप्रति असन्तुष्टि जनाउँदै अनावरणको दिन विरोध प्रदर्शन गर्ने जनाएका थिए ।

सरकारले प्रधानमन्त्री उपस्थित हुने यस कार्यक्रममा कुनै असुरक्षा नहोस् भनेर ठूलो संख्यामा प्रहरी खटाएको छ । सादा पोसाकमा खटाइएका प्रहरीले शंकास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएका समाचारहरू पनि आइरहेका छन् ।

गुजरातका प्रहरी अधिकारीले उक्त स्मारक रहेको क्षेत्रको वरिपरि करिब १० किलोमिटर क्षेत्रसम्म कम्तीमा पनि पाँच हजार प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।

गुजरातमा स्वतन्त्रता सेनानी बल्लभभाइ पटेलको ६ सय फिट अग्लो स्मारक, निर्माणमा ३० अर्ब भारतीय रुपैयाँ खर्च, स्मारक बनाउँदा लिएको जग्गाको क्षतिपूर्ति नपाएको भन्दै स्थानीय भने विरोधमा

उक्त स्मारकलाई विश्वकै सबैभन्दा अग्लो भनी प्रचार गरिएको छ । त्यसको उचाइ १८२ मीटर (६००) फिट रहेको बताइएको छ । उक्त स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपैयाँ खर्च लागेको बताइएको छ ।

स्मारक उद्घाटनका लागि बुधबार गुजरातमा विशेष कार्यक्रमको आयोजना गरिएको बताइएको छ । त्यस स्मारक निर्माण भएको क्षेत्रवरिपरिको आकाशमा बुधबार बिहानदेखि नै हेलिकोप्टरले हवाई सुरक्षा गस्ती दिइरहेको छ ।

त्यसैगरी प्रधानमन्त्री मोदीले उक्त स्मारकको अनावरण गर्ने क्रममा हेलिकोप्टरले आकाशबाट पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको पनि अधिकारीहरूले जनाएका छन् ।

‘स्ट्याचु अफ युनिटी’ एकताको स्मारक नाम दिइएको सो स्मारक निर्माण गर्न स्थानीय नागरिकको धेरै जग्गा सरकारले लिएको आरोप स्थानीयको रहेको छ । उनीहरूले सरकारसँग त्यस जग्गाको क्षतिपूर्ति माग गरेका छन् ।

सरकारले क्षतिपूर्ति नदिएकाले नै गुजरातका स्थानीय बासिन्दाले सो स्मारकको अनावरण कार्यक्रमको विरोध गरेका जनाइएको छ । उनीहरूले विगत लामो समयदेखि आफ्नो जग्गाको क्षतिपूर्ति मागेको बताएका छन् ।

तर, स्थानीयको जग्गाअनुसारको क्षतिपूर्ति सरकारले नदिएकोले आफूहरूले विरोध गरेको उनीहरूको भनाइ छ । स्थानीय नागरिकले विभिन्न संघर्ष समिति नै बनाएर प्रधानमन्त्री मोदीलाई उक्त स्मारकको अनावरणमा नआउन भनेका छन् । यदि उनी सो उद्घाटनमा आएमा कडा विरोध गर्ने पनि उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्