चम्क्यो तारा चमक्क



रिलिजका लागि तयार भएको फिल्म गुनगुनको दोस्रो गीत सार्वजनिक गरिएको छ। सामाजिक कथामा निर्माण भएको यस फिल्मको दोस्रो गीतमा संचिता लुइँटेल र सन्नी ढकाललाई फिचरिङ गरिएको छ। गीतमा प्रेमजोडीको प्रेमभाव चित्रण गरिएको छ।

चम्क्यो तारा चमक्क बोलको यो गीतमा प्रदीप भट्टराईको शब्द, विकास चौधरीको संगीत तथा मेलिना राई र दौलत राईको स्वर रहेको छ। गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका छन् भने सौरभ लामाले छायांकन गरेका हुन्। फिल्ममा संचिता र सन्नीसँगै यसका निर्देशक तथा निर्माता पुकार भट्टराई, नायक सुवास मेचे रवीन्द्रप्रताप सेन, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बालदीप राई, विपीन प्रसाईंलगायतले अभिनय गरेका छन्।

कात्तिक ३० बाट अल नेपाल रिलिजमा आउने फिल्मले समाजकै घटनालाई चित्रण गर्ने निर्देशकले बताए। ‘कथा सामाजिक नै हो, प्रस्तुतिमा केही भिन्नता ल्याउने कोसिस गरेको छु।’ –भट्टराईले भने। प्रार्थना फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्