नेपाललाई चीनमा मिश्रित सफलता



काठमाडौं, (नेस)
आगामी जापानमा हुने ओलम्पिक २०२० मा प्रवेश गर्न तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले चीनमा मिश्रित सफलता हासिल गरेको छ ।

मंगलबार भएको खेलमा नेपालले बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई ३–० गोलअन्तरले हराएको थियो । नेपालको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक–एक गोल गरेका थिए । तर यात्राको पहिलो खेलमा भने नेपाली टोली बेइजिङ फोनेनिक्ससँग ४–१ गोलअन्तरले पराजित भएको थियो । ३ मैत्री खेल खेल्ने योजनामा रहेको नेपालले बुधबार अन्तिम खेलमा बेइजिङ फोनेनिक्ससँग खेल्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार यस खेलपश्चात नेपाल म्यानमारमा शुक्रबार प्रस्थान गर्नेछ । त्यहाँ ओलम्पिक छनोटको लागि प्रस्पिर्धा गर्ने पनि एन्फाले जानकारी दिएको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पहिलो पटक ओलम्पिक छनोटका लागि सहभागिता जनाउन लागेको हो । टोलीलाई नेपालका पूर्व स्ट्राइकर हरि खड्काले प्रशिक्षण दिएका छन् । नेपालले म्यानमारमा आयोजकसहित भारत र बंगलादेससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले ८ नोभेम्बरमा भारतविरुद्ध, ११ नोभेम्बरमा म्यानमार तथा १३ नोभेम्बरमा बंगलादेससँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्