वन अतिक्रमणमा ध्यान जाओस्



यहाँ विभिन्न बहानामा वन अतिक्रमण गर्ने क्रम बढिरहेको छ । बाढीपीडित, सुकुम्बासी र भूमिहीनको नाममा वन अतिक्रमण भइरहँदासमेत नियमनकारी निकाय मौन छ । बाढीपीडित र सुकुम्बासीको नाममा वन अतिक्रमण भएको देखिए पनि जमिन हुनेले समेत वन अतिक्रमण गरेर भोगचलन गर्दै आएका छन् । १ हजार ९ सय ६८ हेक्टर वन अतिक्रमण भएको सरकारी तथ्याङ्क नै छ । सुकुम्बासीका नाममा हुकुम्बासीले समेत रजाइँ गरिरहेको देखिएको छ ।

अहिले सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाको वनक्षेत्र अतिक्रमण भएको देखिएको छ । राप्तीसोनारी गाउँपालिकामा १ हजार ६ सय ४६ दशमलव ६९ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । वन कार्यालयका अनुसार कोहलपुर इलाका वन कार्यालयको क्षेत्राधिकारभित्र २ सय ७१ हेक्टर र बैजापुर क्षेत्रमा ३ सय ९५ दशमलव ४८ हेक्टर वन अतिक्रमण भएको छ ।

त्यस्तै झोरा इलाका वन कार्यालयअन्तर्गतका सामुदायिक वन पनि अतिक्रमण भएका छन् । त्यस क्षेत्रमा २६ दशमलव ३ हेक्टर वन अतिक्रमण भएको छ । बाढीपीडितको नाममा वन अतिक्रमण गर्ने क्रम बढेको छ । राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा ६ सय हेक्टर वन अतिक्रमण भएको छ । सोही क्षेत्रमा रहेको हरिहरपुरमा ३ सय हेक्टर र शम्शेरगन्जको अम्रहवामा १ सय तथा शम्शेरगन्जकै महेन्द्रपुरमा ६६ दशमलव ६७ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।

वन अतिक्रमण गरेर ३ हजार ९ सय ७२ परिवारले बसोवास र भोगचलन गर्दै आएका छन् । वन अतिक्रमण गरेर बसेका धेरैजसोको लालपुर्जा भएको जमिन र घर भएको वन कार्यालयको अनुसन्धानले देखाएको छ । राप्ती नदीमा आएको बाढीले घरबाससमेत बगाएको भन्दै झोरा र हजरत सामुदायिक वन अतिक्रमण गरेर ३ सय २२ परिवार बसेका छन् । अतिक्रमणकारीले वनक्षेत्रमा पक्की संरचना निर्माण गरिसकेका छन् ।

पछिल्लो समय राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका सामुदायिक वन अतिक्रमण हुने क्रम बढेको छ । उक्त वनक्षेत्रमा बाढीपीडितको नाममा अतिक्रमण भइरहेको वन कार्यालयले जनाएको छ । फत्तेपुरका राप्ती नदीपीडितबाट १ सय १० हेक्टर वन अतिक्रमण भएको छ । यस विषयमा वन कार्यालयले एक्सन लिन जरुरी छ ।
– सम्झना चौधरी, बाँके (सावउस सदस्य) ।

प्रतिक्रिया दिनुहोस्