नेपालमै पहिलो पटक मौरीको बिमा



मौरिपालनमा जोखिम घट्दै

सलिम अन्सारी, प्यूठान ।

मुलुकमै पहिलो पटक प्यूठान जिल्लाका किसानले मौरीको बिमा सुरु गरेका छन् । नेपाल सरकारले आइ एम इ जनरल इन्सोरेन्स कम्पनी लि. को सहकार्यमा मौरीको विमा कार्यक्रम शुरु गरेको हो।

कृषकहरु मौरीपालनतर्फ आकर्षित भएपनि यसमा जोखिम बढि भएकोले व्यवसायिक रुप दिन समस्या भइरहेका बेला जिल्लाबाट विमा कार्यक्रम शुरु भएपछि कृषकहरु खुशी भएका छन्।

प्यूठान नगरपालिका ७ का डिमराज पोख्रेलले पाल्दै आएका मौरीका घारहरुको विमा गर्दै मुलुकमै पहिलो पटक मौरीको विमा कार्यक्रमको शुभारम्भ गरिएको छ।

‘लामो समयको छलफल र कृषकहरुको मागलाई ध्यानमा राख्दै विमा गर्ने कार्य शुरु भएको हो’ पोख्रेल मौरी पालन तथा मह उत्पादन केन्द्रका डिमराज पोख्रेलले बताए ।पोख्रेलले
शिक्षक पेशाबाट अवकाश लिएर पछिल्लो समय मौरी पालन व्यवसायमा होमिएका छन्।

विभिन्न समयमा हुने दुर्घटना तथा रोग व्याधि लगायतका कारणबाट मौरीपालक कृषकहरु पलायन हुनुपर्ने स्थितिको अन्त्यका लागि विमा कार्यक्रम सञ्चालनमा आएको नेपाल मौरी पालन केन्द्रिय सहकारी संघका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए।

सहकारीमा देशभरका ६ हजार २ सय मौरीपालक किसान आबद्ध भएर मौरीपालनमा रहेका समस्याहरूलाई समाधान गर्न सामूहिक पहल गरिरहेको पोखरेलले बताए ।

‘संघकै अगुवाइमा चरन क्षेत्रको पहिचान गरेर तराईका मौरी प्यूठान ल्याएका छांै,’ उनले भने, ‘प्यूठानमा यो समयमा मौरी चर्ने उपयुक्त वातावरण रहेकाले मह उत्पादन राम्रो भइरहेको छ ।’ सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत रकम व्यहोर्ने गरी विमा कार्यक्रम शुरु गरिएको पोख्रेलको भनाइ छ। आगलागी, भूकम्प, बाढी पहिरो, आँधी, वर्षा, अशिना, सडक दुर्घटना, विषादीको प्रयोगले मौरीमा पर्ने नोक्सानीले व्यवसायी धराशायी हुन नपरोस् भनेर प्रति व्यवसायी ५ लाख रुपैया वरावरको विमा गरिने उनले बताए।
एक जना व्यवसायीले प्रतिघार बास्तविक खरीद मूल्य, व्यवस्थापन खर्च र प्रतिगोला मूल्यको आधारमा विमा गरिने छ। विमा गर्ने व्यवसायीहरुको एक घारमा कम्तिमा ५ फ्रेम मौरी अनिवार्य हुनुपर्ने व्यवस्था छ।

सम्बन्धित स्थानीय तहको कृषि शाखामा कार्यरत मौरीविज्ञको मूल्यांकनका आधारमा किसानले भुक्तानी पाउने व्यवस्था मिलाइएको छ । बिमा गरेको मौरी घारको क्षति भएको दाबीसहित माग गर्न आए नोक्सानी भएको ९० प्रतिशतसम्म रकम भुक्तानी किसानले पाउने बताईएको छ।परम्परागत मौरी पालन हुँदै आएको प्यूठानमा अहिले आधुनिक तरिकाबाट मौरीपालन सञ्चालन हुन थालेको छ।

स्थानीय रैथाने मौरीभन्दा उन्नत जातका मेलिफेरा मौरीबाट राम्रो उत्पादन लिन सकिन्छ।

प्यूठान कात्तिक र मंसिर महिनाका लागि मौरी चरनको हब नै बन्दै गएको छ । प्यूठानको बिजुवार, ढुंगोगढी, जुम्रिकाँढा, माझकोट, धर्मावती, गोठीबाङ क्षेत्रमा प्रशस्त चिउरीका बोट हुने र कात्तिक र मंसिरमा फुल्ने भएकाले तराईका किसानले मौरी चराउन यो समय प्यूठान रोज्ने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्