स्वास्थ्य चौकी भवन हस्तान्तरण



नेपाल समाचारपत्र, पाल्पा ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पाल्पाले करिव २ करोड लागतमा एउटा स्वास्थ्य चौकीको निर्माण गरी सम्वन्धित कार्यालयलाई हस्तान्तरण गरेको छ ।

कार्यालयले माथागढी गाउँपालिका २ रुप्से स्वास्थ्य चौकीको भवन हस्तान्तरण गरेको हो ।

एकीकृत स्वास्थ्य कार्यक्रम अन्र्तगत सञ्चालित भवनको एक कार्यक्रमका बिच स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ । दुई करोड सात लाख बीस हजारको लागतमा निर्माण भएको सो भवन बालमैत्री र अपांगमैत्री चर्पी सहित आरसीसी फ्रेम स्टक्चर विद्युतीय सेनेटरी र खानेपानीको व्यवस्था छ । भवनमा २० कोठा, ४ वटा शौचालय र एउटा हल रहेको छ भने २सय ६७ वर्ग मीटर क्षेत्रफल रहेको छ ।

भवन हस्तान्तरण समारोहका प्रमुख अतिथि तथा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले भवन निर्माणसँगै सेवामा सहजता हुने विश्वास व्यक्त गर्दै स्थानीय स्तरमै गुणस्तर आधारभूत स्वास्थ्य सेवाबाट उपलब्ध गराउन भवन निर्माण गरिएको बताए । जनताहरु सामान्य उपचारबाट बञ्चित हुनु नपर्ने र अकालमै मृत्युवरण गर्न नपर्ने वातारणको प्रवन्ध गाउँपालिकाले सिर्जना गरेकोले स्थानीय जनताहरुलाई भरपुर सेवा लिन अध्यक्ष थापाले आग्रह गरे ।

कार्यक्रमका सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रमेश थपलियाले भवन गुणस्तरीय र मजबुत रहेको वताउदै भवनको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक कुमार नेपाली, भवन डिभिजन कार्यालयका ईञ्जिनियर हरीभक्त श्रेष्ठ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यम चिदी लगायतले स्थानीयहरुलाई भवन निर्माणले स्थानीय तहमै स्वास्थ्य सेवा लिन सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्