बिद्यालय भवन निर्माणमा लापाबार्ही देखिएपछि नगरपालिकाले भत्कायो



नेपाल समाचारपत्र, पर्वत ।
कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यामिक विद्यालयको भवन निर्माणमा लापरवाही भएको पाइएको छ।

भवन ढलानका क्रममा ठेकेदारले चरम लापरवाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले खटाएको प्राविधिक टोलीले रड बुनाइ र ढलानमा लापरवाही भएको जनाएको छ। लापाबार्ही भएको देखिएपछि भवन भत्काइएको छ ।

भवनको छत ढलान गर्दा सामान्यतः पाँच इन्च मोटाइ हुनुपर्नेमा तीन इन्च पनि नभएको र ढलान ठाउँठाउँबाट खसिसकेको देखिएकाले ढलान भत्काइएको छ। भवनको ढलान गर्ने क्रममा टेका क्रस नभएको, फर्म वर्क कमजोर भएको, तोकिएको मापदण्डअनुसार रड प्रयोग नगरिएका कारण ढलानमा लापरबाही भएको भन्दै स्थानीयले नगरपालिकामा गुनासो गरेका थिए।

अनुगमनमा गएका प्राविधिक दिपक थापाका अनुसार बिम, स्ल्याप, लेभल, थिकनेस मापदण्डअनुसार छैन। ‘यही कारण भत्काउनुपर्ने बाध्यता भएको हो,’ थापाले भने ‘कमजोरी ढलानमा पाएका छौँ।’

शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले आफूहरुले प्राविधिकहरुसंग सहकार्य गरेर काम गर्न भने पनि त्यसअनुसार काम नगर्दा भवन निर्माण त्रुटि भएको आएको बताए। ‘भवनको पिलर र बिम समेत बांगिएको पाएपछि हामीले काम रोक्नुहोस भनेका हौँ,’ उनले भने, ‘झन् साँझमा हतारहतार ढलान गर्नुभएछ। प्रमुख प्रशासकीय अधिकृतले काम नरोकेमा भुक्तानी नदिने बताउँदा समेत टेर्नुभएन।’

तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतबाट भवन अनुदानअन्तर्गत ३६ लाख रुपैयाँको लागतमा भवन निर्माण प्रारम्भ गरिएको थियो। निर्माणको ठेक्का तेह्रथुमका ठेकेदार रामकुमार लिम्बुले लिएका थिए। विद्यालयका प्रधानाध्यापक खिमलाल गौतमका अनुसार विद्यालयको भवन निर्माणका लागि आवश्यक कामदार र सबै सामग्रीहरु खरीद गर्ने गरी प्राप्त भएको कुल बजेट ३६ लाखमा ठेक्का सम्झौता भएको थियो।

निर्माणको जिम्मा लिएका ठेकेदार लिम्बुले भने काम गर्ने क्रममा मिस्त्रीका कारण गल्ती भएको स्वीकार गरेका छन्। उनले सम्झौता भएको बजेटबाटै पुनः ढलान गरी तोकिएको मापदण्डअनुसार निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्