कौराको फूल डालीमा



कौरा गीतको एल्बम फूल डालीमा हालै सार्वजनिक भएको छ। हुसमान थापामगर (रिदम) र कल्पना गुरुङको स्वर रहेको उक्त गीतमा शब्द पनि हुसमान र कल्पनाकै रहेको छ भने संगीत हुसमान र संगीत संयोजन दुर्गा गुरुङले गरेका छन्।

मार्मिक रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको गीतको भिडियोमा तनहँु जिल्लाको सदरमुकाम दमौलीनजिकै रहेको ब्यास गुफा हुँदै करिब १ घन्टा उकालो पार गरेपछि पुगिने सुन्दर केशवटार रुम्सी गाउँको मनोरम वातावरण हेर्न पाइन्छ। भिडियोमा खेम गुरुङ र आरुसी मगरले अभिनय गरेका छन् भने उनीहरुलाई नृत्यमा सविता गर्जा, रीता गर्जा, पुस्पा सरु, आशा सरु, कञ्चन आले, शोभा थापा, सरीता थापालगायतले साथ दिएका छन्। गीतको दृश्यमा गाउँमै बसोबास गर्ने मगर समुदायलाई पनि समावेश गरिएको छ। आ–आफ्ना भेषभूषामा सजिएका मगर समुदायका बच्चादेखि वृद्धवृद्धाले यस गीतको छायाकंनमा रातभर बसेर सहयोग गरेको गीतमा त्यहाँको सामाजिक संस्कृति झल्किने नाच पनि देख्न सकिन्छ। भिडियो सुटिङको व्यवस्थापन जीवन आले र सन्तोष रानाले गरेका हुन्।

भयो नि भेट रोधी घरैमा, भेट नभैसम्म हिँडे रहरैमा, भयो नि भेट रोधी घरैमा पुरुष स्वरलाई काट्दै गीतमा महिला स्वर गुञ्जन्छ– पुग्छ क्यारे मनले आँटेको, रोधी घरमा झरी मन मुटु साटेको, पुग्छ क्यारे मनले आँटेको। भिडियोमा निर्देशन पर्सन गुरुङ, कोरियोग्राफी गोपाल थापा तथा छायाकंन र सम्पादन शक्ति प्रज्वल घिमिरेको रहेको छ। निर्भाना कला केन्द्रले उत्पादन तथा वितरण गरेको म्युजिक भिडियोलाई निर्भाना टिभी नेपालले पोस्ट प्रोडक्सन गरेको हो।

प्रतिक्रिया दिनुहोस्