क्यान्सर उपचार नेपालमै सम्भव छ



समयमै उपचार गरे क्यान्सर पूर्णरूपमा निको हुन्छ

 

नेपालको मेडिकल अन्कोलोजीमा सुधार गरी यसै क्षेत्रमा क्यारियर स्थापना गर्न र क्यान्सरको क्षेत्रमा अग्रगामी कार्य गर्न मातृभूमिप्रतिको जिम्मेवार महसुस गर्दै क्यान्सर विशेषज्ञ बन्ने उद्देश्यका साथ चिकित्सा शिक्षामा एक युवा होमिनुभएको थियो। अन्य मेडिकल फिल्डमा क्यारियर स्थापना गर्ने अवसरको बाबजुद एक अन्कोलोजिस्ट हुने निर्णय गर्नु त्यति सजिलो निर्णय थिएन।

तर नयाँ क्षेत्रका लागि साहसी र नेपालका लागि अपरिहार्य थियो। नेपालमा धेरै क्यान्सरका बिरामी रहेका र उपचारका लागि विदेशिनुपर्ने बाध्यतालाई केही हदसम्म भए पनि कम गर्ने उद्देश्य बोकेर नेपालमै क्यान्सरका बिरामीको उपचार गर्ने र सुधार गर्ने दृढ अठोटका साथ राजीव गान्धी क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर, नयाँ दिल्लीमा औपचारिक अध्ययन पूरा गरी थुप्रै अवसर र प्रस्तावलाई पाखा लगाउँदै आफ्नै देशमा क्यान्सरको छुट्टै अस्पताल खोलेर नेपाली जनताकै सेवा गर्ने अठोट बोकेर नेपाल फर्किनुभयो। तिनै सकारात्मक सोच र साहस बोकेर नेपाल फर्किनुभएका नेपाल क्यान्सर अस्पताल अनुसन्धान केन्द्र प्रालि नेपालका संस्थापक, मेडिकल अन्कोलोजिस्ट क्यान्सर परामर्शदाता तथा कार्यकारी अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप ः

क्यान्सर के हो ?

क्यान्सर अर्थात् अर्बुद रोग मानिसको शरीरमा हुने दीर्घरोगमध्ये एक हो। जसरी घर बनाउँदा विभिन्न सामग्रीको आवश्यकता पर्दछ, त्यसै गरी मानिसको शरीर असंख्य स–साना कोषले बनेको हुन्छ। हरेक कोषिकाको आ—आफ्नै जीवनचक्र हुन्छ। जसरी प्रत्येक प्राणीको जन्मपछि मृत्यु हुन्छ, त्यसै गरी सबै कोषिकाको एक समयमा मृत्यु हुन्छ। कोषिकाको जीवनशैलीलाई प्रकृतिले सन्तुलनमा राख्छ र यो वंशाणुगत हुन्छ।

कोषिकाको जीवनचक्रलाई प्रकृतिले सन्तुलनमा राख्ने हुँदा यो अनियन्त्रित तरिकाबाट वृद्धि हुन सक्दैन र प्रकृतिको नियमानुसार चलेको हुन्छ। क्यान्सर कसरी हुन्छ भने मानिस जन्मनुअगाडि भ्रुणको अवस्थामा हुँदा नै कोषिकाको कुनै एक वंशाणुमा कुनै कारणवश खराबी आउँछ। यस प्रकारको खराबी लिएर जन्मेका व्यक्तिहरू पछि गएर विभिन्न कारणवश जस्तैः परिवर्तनीय जीवनशैली, आहारविहार, दूषित वातावरण तथा अन्य कारणले गर्दा उक्त कोषिकाहरू क्यान्सरको कोषिकामा परिवर्तन हुन्छन्। यसरी क्यान्सरको कोषिकामा परिवर्तन भएका कोषिका अनियन्त्रितरूपमा वृद्धि हुन्छन् र त्यो एक अंगबाट शुरू भएको क्यान्सरको कोषिकाहरू क्रमशः शरीरको विभिन्न अंगमा फैलिई उक्त अंगलाई हानी नोक्सानी पुर्याउँदछ र समयमा उपचार नभएमा मानिसको मृत्युसमेत हुन्छ। यसै रोगलाई क्यान्सर अर्थात् अर्बुद रोग भनिन्छ।

क्यान्सर कति प्रकारका हुन्छन् ?

क्यान्सरसम्बन्धी पछिल्लो अध्ययनअनुसार मानिसमा हुने क्यान्सरहरू १ सयभन्दा बढी प्रकारका छन्। तर त्यसमध्ये केही क्यान्सर भने अत्यधिक मात्रामा मानिसमा हुने गरेको पाइन्छ भने केही क्यान्सर न्यून मात्रामा हुने गर्दछ। यो रोग मानव शरीरको कुनै पनि अंगमा हुन सक्दछ। नेपालमा पाइने प्रमुख क्यान्सरमा फोक्सोको क्यान्सर, स्तन क्यान्सर, आन्द्राको क्यान्सर, टाउको र घाँटीको क्यान्सर र पाठेघरको मुखको क्यान्सर ५ प्रकारका रहेका छन्।

क्यान्सर सरुवा रोग हो कि होइन ?

क्यान्सर सरुवा रोग होइन। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। यसकारण क्यान्सर रोगीसँगै बस्दा, खाँदा, हेलमेल गर्दा कुनै संकुचन मान्नुपर्ने अवस्था छैन।

क्यान्सर निको नै नहुने रोग भनिन्छ, वास्तविकता के हो ?

क्यान्सर निको नै नहुने रोग भनेर समाजमा चिनिन्छ तर वास्तविकता यो होइन। क्यान्सर शुरूमा पत्ता लगाई उपचार गरे यो रोग निको हुन्छ। हामी के भन्छौं भने समाजमा हुने केही क्यान्सर रोगीहरू बचाउन सक्छौं। एक तिहाइ क्यान्सर रोगी उपचार गरेर बचाउन सकिन्छ भने बाँकी एक तिहाइ क्यान्सर रोगीलाई बाँचुन्जेलसम्म सहज जीवनयापन गराउने वातावरण सिर्जना गर्न सकिन्छ।

समाजमा क्यान्सरबारे नकारात्मक धारणा हुन गएका कारण क्यान्सर रोगको वास्तविकता हाम्रो समाजमा क्यान्सर रोगबाट उपचार गरी निको भएका बिरामीले आफू क्यान्सर रोगबाट निको भएको कुरा न्यून अर्थात् थोरै मात्र बोल्ने गर्दछन्। तर कोही व्यक्ति क्यान्सरबाट मृत्यु भएमा वा पीडित भइरहेमा यसको आवश्यकताभन्दा अधिक मात्रामा प्रचारप्रसार गरेको पाइन्छ जसले गर्दा हाम्रो जनमानसमा क्यान्सर भनेको निको नहुने र ज्यानै जाने रोगका रूपमा चिनिएको वा चित्रित गरिएको छ। क्यान्सरबारे नकारात्मक धारणा यति मात्रामा सीमित नरही मनोरञ्जनको साधनको अभिन्न अंगका रूपमा रहेको टेलिभिजनको पर्दामा धारावाहिक टेलिशृंखला, समाचार, नाटक तथा अन्य सञ्चारमाध्यमबाट क्यान्सर रोगबाट पीडितको समाचार तथा कहानी मात्र देखाउनु पनि अर्को कारण हो।

क्यान्सर रोगबाट निको भएर पहिलाको जस्तै सरल जीवनयापन गरिरहेका थुप्रै व्यक्तित्वहरू हाम्रोसामु हुनुहुन्छ। यदि सञ्चारमाध्यमबाट यस्ता व्यक्तित्वहरूको पनि अन्तर्वार्ता लिई समाचार प्रचारप्रसार गरिदिनुभएमा समाजमा फैलिएको क्यान्सर रोगबारेको नकारात्मक धारणा केही हदसम्म न्यूनीकरण हुनेमा आशावादी हुनेछु।

क्यान्सर शरीरको कुनै पनि भागमा हुने भएकाले यसको कुनै खास प्रकृतिको वा एउटै लक्षण हुँदैन। शरीरका अंगअनुसार विभिन्न प्रकारका लक्षणहरू देखा पर्न सक्छन्। शरीरमा देखा परेका कुनै लक्षण उपचारपछि पनि लामो समय वा महिना दिनभन्दा बढी रहिरहेमा वा कुनै शंका लागेमा यथाशक्य नजिकको चिकित्सक वा स्वास्थ्य संस्थामा गई जँचाउनुपर्छ।

क्यान्सर रोगका कारणहरू

क्यान्सर रोग लाग्नुमा यही कारण हो भनेर एकिन गरी भन्न गाह्रो छ। क्यान्सर हुनुको एउटा मात्र कारण हुँदैन। तर नसर्ने रोगको प्रमुख कारण सूर्ति सेवन तथा उत्पादन नै हो। जो मानिस धूमपान या खैनी खान्छ उसलाई फोक्सो, मुख र घाँटीको क्यान्सर रोग हुने प्रबल सम्भावना हुन्छ। अत्यधिक धूमपान र मध्यपानको सेवनले शरीरका विभिन्न अंगमा क्यान्सर रोग लाग्ने प्रबल सम्भावना हुन्छ।

क्यान्सरका अन्य कारणमा खानपिन र जीवनशैली हो।

वंशाणुगत
केही क्यान्सर रोगहरू वंशाणुगत भएको पनि पाइएको छ। वंशाणुगत भन्नाले कुनै व्यक्तिमा क्यान्सर रोग पाइएको खण्डमा उक्त व्यक्तिको रक्तसम्बन्धी नातेदारलाई समेत क्यान्सर रोग लाग्ने सम्भावना बढी हुन्छ वा परिवारमा २ वा सोभन्दा बढी व्यक्तिमा कुनै क्यान्सर भएमा वा ५० वर्षभन्दा माथिको व्यक्तिमा देखिएको क्यान्सर कम उमेरका व्यक्तिमा भएमा, एकै व्यक्तिको दुई अंगमा क्यान्सर पनि वंशाणुगत भएको हुन सक्छ।

विकिरण ः हाम्रो शरीरमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा विभिन्न स्रोतका माध्यमबाट रेडियो विकिरणको प्रभाव परेको हुन्छ। जस्तैः अत्यधिक घाम र परमाणुको प्रभावले हाम्रो शरीरको विभिन्न भागमा क्यान्सर रोग हुने बढी सम्भावना हुन्छ। त्यसै गरी नियमितरूपमा उपचार विधिमा प्रयोग हुने रेडियो विकिरण जस्तैः एक्सरे, सिटी स्क्यान, रेडियो थेरापी, किमो थेरापी र मेमोग्राम आदिको अत्यधिक प्रयोगबाट कुनै–कुनै बेला क्यान्सर हुने सम्भावना रहन्छ।

जीवाणुको कारणबाट ः कुनै–कुनै क्यान्सर रोगको कारक तत्वका रूपमा कुनै जीवाणुहरूले गर्दा पनि भएको छ। उदाहरणका लागि सर्भिकल क्यान्सर, कलेजोको क्यान्सर, हेपाटाइटिस ‘बीु भाइरस र हेपाटाइटिस ‘सीु भाइरस।

अन्य कारक तत्व

१. वातावरण प्रदूषण

२. औद्योगिक प्रदूषण

३. मिसावटयुक्त खानपानको सेवन

४. विभिन्न विषाक्त रसायन पदार्थको प्रभावले गर्दा

क्यान्सर रोगबाट बच्नका लागि के गर्नुपर्छ ?

तल उल्लिखित बुदाँहरूमा ध्यान दिइएमा सबै प्रकारका क्यान्सर रोगमध्ये ५० प्रतिशत अर्बुद रोगबाट हामी बच्न सक्छौं।

१. धूमपान र मध्यपान नगर्ने

२. शाकाहारी र सन्तुलित भोजन गर्ने

३. चर्को नुनको प्रयोग नगर्ने

४. धूँवामा सेकाएको मासु कम सेवन गर्ने

५. चिल्लो पदार्थ, ढुसी परेको खानेकुरा र बासी खानेकुराको प्रयोग कम गर्ने

६. नियमित व्यायाम गर्ने

७. सरसफाइमा ध्यान पुर्याउने

८. नियमित स्वास्थ परीक्षण गराउने

नेपालमा पछिल्लो समय क्यान्सरका बिरामीहरू धेरै बढेका हुन् ?

नेपालमा मात्र नभई विश्वभरि क्यान्सरका बिरामीको संख्या अनियन्त्रितरूपमा बढ्दै गइरहेको छ। यसको मुख्य कारण शुरूमा यस रोगको कुनै लक्षण देखा पर्दैन। तेस्रो वा चौथो अवस्थामा मात्र यस रोगको लक्षण देखापर्दछ जुन अन्तिम अवस्थामा पुगिसकेको हुन्छ। शुरूको अवस्थामा पत्ता लागेमा यो रोग अवश्य निको हुन्छ। शुरूको अवस्थामा यो रोगको लक्षण प्रायः देखा नपर्ने भएकाले स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि सबैले हरेक वर्ष आफ्नो स्वास्थको सम्पूर्ण जाँच गरी केही समस्या देखापरेमा समयमा नै उपचार गरेमा क्यान्सर पूर्णरूपमा निको हुन्छ।

नफैलने क्यान्सर भएमा यसको उपचारका लागि क्यान्सर भएको ठाउँबाट मासु निकाली बायोप्सी जाँच गरिन्छ। सानो सियोले क्यान्सर भएको ठाउँबाट पानी निकाली देखिएका कोषिकाको अध्ययन गरी जाँच गर्न सकिन्छ, जसलाई एफएनएसी (फाइन निडल एसपिरेसन सिभिटोलोजी) भनिन्छ। यसका अलावा शरीरको कुन–कुन ठाउँमा क्यान्सर फैलिएको हेर्न अत्याधुनिक यन्त्रबाट विभिन्न जाँच गरिन्छ। जस्तैः एमआरआई, अल्ट्रासोनोग्राम, पेट स्क्यान, मेमोग्राम, सिटी स्क्यान। अब नेपालमा सबै प्रकारका क्यान्सर रोगको परीक्षण तथा उपचार सम्भव भएको छ। क्यान्सर रोगको परीक्षण तथा उपचारका लागि विदेशिनुपर्ने अवस्था छैन।

उपचार पद्धति नेपालमा नै सहज भएको हो ?

हो, केही वर्षयतादेखि क्यान्सरको उपचार पद्धतिमा धेरै सुविधा भएको छ। क्यान्सर उपचारका लागि चाहिने आधुनिक उपकरणहरू धमाधम भित्रिन थालेका छन्। जसले गर्दा आज आम नेपालीको क्यान्सरको उपचारमा आवश्यक सुविधा पुगेको छ।

उपचारका लगि विदेशिनेको संख्या घटेको छैन किन ?

यो यथार्थ र तीतो सत्यता हो। हुन त तुलनात्मकरूपमा पहिलेभन्दा घटेको छ। तर यो पर्याप्त भएको छैन किनभने नेपालमा क्यान्सर उपचार क्षेत्रमा भएको प्रगतिबारे धेरै जनमानसमा जानकारी छैन। हाम्रो समाजमा कोही छरछिमेकी वा कोही व्यक्ति बिरामी भएमा आफ्नो विषय वा क्षमताभन्दा बाहिर गएर सल्लाह सुझाव दिने चलन छ।

यसले गर्दा बिरामी तथा क्यान्सर रोग लागेका व्यक्तिहरू अज्ञानतावश नेपालमा उपचार नगरी विदेशमा जान्छन्, जसले गर्दा आर्थिक, मानसिक, सामाजिक दुःख झेलिरहेका छन्। क्यान्सर रोग निको भएकाहरूको हाम्रो समाजमा सफल कथाको कुनै चर्चा परिचर्चा, समाचार बन्दैन, बन्छ त केबल अति कम संख्यामा विदेशबाट उपचार गरी फर्केका सीमित व्यक्तिहरू जस्तैः राजनीतिकर्मी, सेलिब्रेटिज् र क्यान्सर रोगबाट पीडित तथा मृत्यु भएकाहरूको मात्र। यसलाई चिर्न हामीले कडा मेहनत गर्नुपर्ने देखिन्छ।

नेपाल क्यान्सर अस्पतालले नयाँ प्रविधि भित्याएको छ रे ? नेपालमै क्यान्सर उपचारमा सहज बनाउन के–कस्ता प्रविधि भित्याएको छ ?

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा अवस्थित छ। गत ३ वर्षदेखि यो हस्पिटल एकै छानामुनि विभिन्न प्रकारका क्यान्सर रोगको उपचार सेवामा सञ्चालन भइरहेको छ। यस हस्पिटल नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीबाट समुद्घाटन गरिएको हो र यस क्यान्सर हस्पिटलले आफ्नो उद्देश्य नेपाली जनतालाई अन्तर्राष्ट्रियस्तरको उपचार नेपालमा नै उपलब्ध गराउनु हो। हस्पिटलको उद्देश्यअनुरूप क्यान्सर उपचारका लागि चाहिने अत्याधुनिक उपकरणहरू र प्रविधि भित्याएको छ।

साथै अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्न दक्ष प्राविधिक तथा प्रसाशनिक जनशक्तिको परिचालनले गर्दा यस हस्पिटलले नेपाली जनतालाई अन्तर्राष्ट्रियस्तरको क्यान्सरसम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ। जसले गर्दा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले गर्वसाथ कोही पनि क्यान्सर बिरामी उपचारका लागि विदेशिनुपर्ने गराएको छैन। हाम्रो नारा नै ‘नेपालीहरूको क्यान्सर उपचार नेपालमैु रहेको छ।

क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि कार्यरत हुनुहुन्छ, अब नेपालमै सहजै उपचार गर्न के गर्नुपर्ला ?

सबैभन्दा ठूलो चुनौती क्यान्सर उपचारको गुणस्तर सेवाको विस्तार अति जरुरी छ। एकातिर उपचार गर्ने प्रविधि र दक्ष प्राविधिक जनशक्तिको अभाव छ भने अर्कोतिर क्यान्सर रोगको औषधि धैरे महँगो छ। यो चुनौतीलाई न्यूनीकरण गर्न नेपाल सरकारबाट क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय नीतिलाई प्राथमिकतामा राख्नुपर्छ र यो नीति बनाउनु अति आवश्यक भइसकेको छ। नेपाल सरकारको तर्फबाट उच्च प्रविधि भित्याएर, दक्ष प्राविधिक जनशक्तिको आपूर्ति गरी सबै नेपाली जनतालाई स्वास्थ्य बिमा गराई क्यान्सर रोगको उपचारमा सहजीकरण गर्न सकिनेछ।

रेडियसनले के–कस्तो असर पार्छ र क्यान्सरको उपचारमा यसको प्रयोग कसरी गरिन्छ ?

क्यान्सरको उपचार गर्ने प्रविधिमा रेडियसन पछिल्लो प्रविधि हो। रेडियो विकिरणको सही प्रयोगबाट क्यान्सरको कोषिका नष्ट हुन गई क्यान्सरको उपचारमा सहयोग गर्छ। तर यसको प्रयोग गलत भएमा यसले फाइदाभन्दा बेफाइदा हुने बढी हुन्छ। त्यसकारण रेडियसनको विधिबाट उपचार गर्नेहरूले सुरक्षाको दृष्टिकोणले धेरै ठूलो सतर्कता अपनाउनुपर्ने हुन्छ। नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले अन्तर्राष्ट्रियस्तरको टु विन रेडियसन मेसिन भित्याएको छ, जुन आजको दिनमा क्यान्सरको उपचारमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक उपकरण मानिन्छ। साथै यस उपकरण सञ्चालन तथा उपयोगमा अपनाउनुपर्ने सुरक्षामा सम्पूर्ण सावधानी पनि अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार गरिएको छ।

अब के क्यान्सरका बिरामीले पहिलाजस्तो उपचारका लागि पूरा शरीरमा रोगसँग लड्न सक्ने क्षमतामा ह्रास आउने गरी किमो लिनुपर्दैन त ?

क्यान्सरको उपचारका लागि नभई नहुने उपचारको विधिमध्ये किमो थेरापी पनि एक हो। किमो थेरापीको प्रविधिबाट शरीरमा अत्यधिक मात्रामा वृद्धि भएको क्यान्सरका कोषिकालाई नष्ट गर्ने काम गरिन्छ। तर किमोले यसो गर्ने क्रममा शरीरको साधारण कोषिकालाई केही हदसम्म नकारात्मक प्रभाव पारेको हुन्छ। यसकारण यस्तो नकारात्मक प्रभावलाई न्यून गर्न हाल विभिन्न प्रविधिहरू प्रयोगमा आएको छ, जस्तोः टार्गेड ड्रग थेरापी एन्ड इमुनोथेरापी। आज यस्ता थेरापीको प्रविधि पनि नेपालमा उपलब्ध छ तर यो महँगो प्रविधि हो।

क्यान्सरको उपचार महँगो र निको नहुने भएकै कारण धेरै बिरामी उपचारको पहुँचमा पुग्न सक्दैन भनिन्छ नि ?

यो यथार्थ र साँचो हो, किनभने क्यान्सर उपचारको प्रविधि नै महँगो छ। हुन त नेपाल सरकारले केही हदसम्म यो रोग लागेकालाई सुविधा दिएको छ। तर यो सुविधा रोगको उपचारका लागि ज्यादै अपर्याप्त छ। क्यान्सरको उपचारका लागि नेपाल सरकारले न्यूनतम ५ लाख देखि १० लाखसम्मको खर्च उपलब्ध गराउनु आवश्यक पर्छ। त्यसकारण यस्तो आर्थिक समस्याका लागि सरकारले स्वास्थ्य बिमाको नीति ल्याएमा क्यान्सर बिरामीले उपचार सेवामा ठूलो सहयोग हुनेछ र क्यान्सर बिरामीले उपचारका लागि हात फैलाउनुपर्ने थिएन।

क्यान्सर उपचारमा दक्ष जनशक्ति, उपकरण, औषधि, आर्थिक अभावका कारण धेरै नेपालीको रोग पहिचानमा ढिलासुस्ती हुनुका साथै उपचारमा पालो कुर्दा अकल्पनीय अवस्थाको सामना गर्नुपर्छ भनिन्छ, तपाईंको अनुभवमा कस्तो छ ?

यो साँचो हो। नेपालमा क्यान्सर उपचारको निदान जनताको घरदैलोमा पुगेको छैन। अशिक्षा, गरिबी, कमजोर आर्थिक अवस्था र जनचेतनाको कमीले गर्दा क्यान्सर उपचार अस्पतालमा पुग्दा धेरै ढिलो भइसकेको हुन्छ, जसले गर्दा उपचारमा जटिलता र निको हुने सम्भावना ज्यादै न्यून हुन्छ। यसकारण हामीले क्यान्सर उपचार गर्ने सेवा जिल्ला जिल्लामा दिन सकेमा केही राहत पुग्ने थियो।

क्यान्सर युरोप, अमेरिकामा उपचार गरे निको हुन्छ, नेपालमा गरे पैसा मात्र खर्च हुन्छ भनिन्छ नि ?

यो जनमानसमा फैलिएको भ्रम मात्र हो। हाम्रो नेपालमा क्यान्सरको उपचारका लागि लाग्ने खर्चको जोहो आफैंले गर्नुपर्छ। तर युरोप, अमेरिकामा क्यान्सरको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने गर्छ। वास्तवमा क्यान्सरको उपचारमा लाग्ने खर्च अरु देशमा भन्दा हाम्रो नेपालमा सस्तो छ। नेपालमा क्यान्सरबाट निको भएकाहरू समाजमा नबोल्ने र बाहिरबाट उपचार गरी फर्कन सफल भएकाहरू मात्र सञ्चारमाध्यममा आउने भएकाले यो भ्रम फैलिएको छ।

क्यान्सर पनि अरु रोगजस्तै एक रोग हो। समयमा नै उपचार गरे यो रोगको उपचार नेपालमा नै सम्भव छ। मेरो सन्देशः अब सबैखाले क्यान्सर पहिचान गर्न र उपचार गर्न नेपालमै सम्भव छ। हिजोजस्तो क्यान्सरको पहिचान र उपचारका लागि भने कुनै पनि नेपालीले विदेश धाउनुपर्ने अवस्था छैन। यसका लागि सबैको सहकार्य र पहुँचयोग्य बनाउन सरकारले नीतिगतरूपमै सहजीकरणको वातावरण बनाउनु जरुरी छ।

क्यान्सर रोग लाग्नुमा यही कारण हो भनेर एकिन गरी भन्न गाह्रो छ। क्यान्सर हुनुको एउटा मात्र कारण हुँदैन। तर नसर्ने रोगको प्रमुख कारण सुर्ती सेवन तथा उत्पादन नै हो।

प्रतिक्रिया दिनुहोस्