योगदानको कदर गर



नेता बाह्रैमास निकै व्यस्त हुने भएपनि हाम्रा मन्त्री निकै फुर्सदिला छन् । कुनै कार्यक्रममा सहभागी हुन निम्तो पठाइयो भने ‘हुन्न, ‘म भ्याउँदिन’ भन्ने चान्स न्यून छ । यो मामलामा पर्यटन मन्त्री अधिकारी अन्य समकक्षी भन्दा एक कदम अघि छन् ।
मनकामना केवलकारले यात्रुलाई चढाउने तीनवटा डब्बा थप्ने भएसँगै उनी सोमबार चितवनको कुरिनटार हानिए । निकै प्रशन्न मुद्रामा देखिएका अधिकारीले डब्बाको उद्घाटन गरे । उनी कार्यक्रमको अतिथि भएको देख्दा लाग्थ्यो, मुलुकमा पहिलो पटक केवलकार शुभारम्भ हुँदैछ । २० औं बर्षदेखि चलिरहेको केवलकारबारे उनले भन्न भ्याए–‘केवलकारले मनकामना र आसपासको क्षेत्रको पर्यटन प्रर्वद्धनमा सघाउ पुगेको छ ।’

अधिकारी कहिले हाइकिङ भन्दै डाँडापाखामा देखिन्छन् भने कहिले विमानस्थलको संभाव्यता अध्ययन भन्दै दौडिन्छन् । अनि कहिले चाहिँ खैं कहाँ कहाँका विमानस्थलको अनुगमन र विमानस्थलको हवाई परीक्षणमा निस्किएको बताउँछन् । उनको यस्तो व्यस्तता र दौडधुप देख्दा सरकारले सक्रिय मन्त्रालय गठन गर्न चुकेको रैछ । त्यसैले सरकारले अधिकारीको योगदानलाई कदर गर्दै चाँडै उनलाई ‘घुमफिर तथा अनुगमन मन्त्री’को समेत जिम्मेवारी तोकोस ।

प्रतिक्रिया दिनुहोस्