छठी पूजाघाट बनाउने क्रममा भएको झडपमा दर्जनौं घाइते



गोकुल घोरसाइने, बारा
बाराको महागढीमाई नगरपालिका वडा नंम्बर १ स्थित गढीमाई मन्दिर परिसरमा छठ पर्वकोलागि पुजाघाट बनाउने क्रममा दुई पक्षबीच सोमबार बिहान झडप भएको छ । झडपमा करिब एक दर्जन घाईते भएका छन ।
गढीमाई मन्दिरको उत्तरतर्फको गेट नजिकै रहेको सार्वजनिक जग्गामा दुई समूहले छुट्टाछुट्टै छठ घाट बनाउने क्रममा बिहान १० बजे झडप भएको हो । उक्त स्थानमा विगतका बर्षहरुमा स्थानीयले छुट्टा छुट्टै घाट बनाएर पुजा गर्दै आएका थिए ।

साबिक बरियारपुर वडा नंम्बर २ को छठ घाट निर्माण स्थलमा नगरपालिकाले सडक विस्तार गर्ने क्रममा ढलान गरेको कारण छठ घाट बनाउन स्थान साँघुरो भएको भन्दै साविक बरियारपुर वडा नंम्बर ४ स्थित जमिनमा स्थानीयले अर्को घाट बनाउन लागेपछि विरोधमा उत्रेका महागढीमाई नगरपालिका वडा नंम्बर ४ र साविक वडा नम्बर १ तथा २ का स्थानीयहरुबीच झडप परेको हो ।
स्थान साघुरो भएको भन्दै १ र २ नम्बर वडाका बासिनदाले अर्को घाट बनाउने तयारी गरेपछि अर्को पक्षले एक हप्तादेखि सो स्थानमा घाट बनाउन र पुजा चलाउन नदिने चेतावानी दिएका आएका थिए । घाट निर्माण गर्ने बारेमा स्थानीयहरुबीच भइरहेको वार्ताको निष्कर्ष नआउदै अर्को पक्षले जसरी पनि बनाएर छाडने अडान राखेर निर्माण शुरु गरेपछि दुवै पक्षबीच झडप सुरु भएको थियो ।

झडपमा स्थानीय अशोक गोढ, जयनारायण जैसवाल, रामजी महतो, नन्दकिशोर ठाकुर, नरेश मण्डल, रामधिस महतो र साविक वडा नम्बर एकका पुर्व अध्यक्ष झगरु महतो, गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव मोतिलाल कुशवाह, दिलिप कुशवाहा मुकेश कुशवाह, रन्जन कुशवाह, राजकुमर कुशवाह, सुरेन्द्र कुशवाह, मुक्ति साह कानु लगायत घाइते भएका छन ।

घाइतेमध्ये मोतिलाल कुशवाहा, दिलिप कुशवाहाको अवस्था गम्भीर रहेको र निजहरुलाई उपचारका लागि वीरगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक रञ्जित सिंह राठोरले जानकारी दिए । अन्य सामान्य घाइतेहरुको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको राठौरले जानकारी दिएका छन । झडपलाई नियन्त्रण गर्न प्रहरी पोष्ट बरियारपुर र सशस्त्र प्रहरी बेस क्याम्प बरियारपुरले गरेको प्रयास असफल भएपछि जिल्ला प्रहरी कार्यालय कलैयाबाट प्रहरी निरीक्षक धर्मजंग थिङको अगुवाइमा थप टोली पठाएर स्थितिलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । अहिले बरियारपुरको स्थिति समान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्