देवानी संहिताको असर



भदौ १ देखि लागू भएको देवानी संहिताले पुरुषलाई पनि सम्बन्धविच्छेद गर्न सहजता प्रदान गरेपछि देशभर सम्बन्धविच्छेदका घटना बढोत्तरी भइरहेका छन् । भदौअघिसम्म सम्बन्धविच्छेदका लागि अदालतको ढोकासम्म पुग्ने पुरुष नगण्य थिए । तर, विगत दुई महिनाको तथ्यांकलाई हेर्ने हो भने सम्बन्धविच्छेदको दृश्य भयावह देखिएको छ । अहिले महिलाभन्दा बढी पुरुष नै सम्बन्धविच्छेदका लागि अग्रसर देखिनुले नेपाली समाज कस्तो अवस्थामा गुज्रिएको रहेछ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

पारिवारिक सम्बन्धमा यति विघ्न दरार उत्पन्न हुनु पक्कै पनि सुखद मान्न सकिँदैन । समाज कति उकुसमुकुसको अवस्थामा रहेछ भन्ने यही दुई महिनामा देखिएका दृश्यहरुले पुष्टि गरेको छ । बल्लतल्ल जोडिएको सम्बन्ध बिग्रनु, टुट्नु र फाटो आउनु विडम्बनाको कुरा हो । यो एउटा ठूलो सामाजिक समस्या बनिसकेको छ ।

ऐनले प्रदान गरेको सुविधाको उपयोग गर्दा धेरै जोडीको पारिवारिक जीवन नै ध्वस्त बन्न पुगेको छ । जसको सामाजिक असर दुवै परिवार मात्र होइन, उनीहरुसँग सम्बन्ध जोडिएका थुप्रै परिवारले भोग्नुपर्ने अवस्था सृजना भएको छ ।

काठमाडौं जिल्लामा मात्रै डेढ महिनाको अवधिमा १८५ जोडीले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएका छन् । जसमध्ये ९८ पुरुषको निवेदन परेको छ । दैनिक दश जनाले सम्बन्ध तोड्न अग्रसर भएको देखिनु पक्कै पनि शुभसंकेत होइन । पश्चिमा संस्कारको प्रभाव र एकल जीवन बाँच्ने अभ्यास नेपालमा पनि शुरू भैसकेको छ । यसले हाम्रो परम्परागत सामाजिक विश्वास, प्रेम, सामूहिक भावना, सम्बन्ध र सद्भावमाथि नै गम्भीर सवाल खडा गरेको छ ।

विगतमा विभिन्न हिंसा, अवहेलना, बहुविवाहजस्ता कारणले सम्बन्धविच्छेद गर्न महिला बाध्य हुन्थे । अहिले बढ्दो विदेश मोह र त्यसले निम्त्याएका विविध सामाजिक तथा घरायसी समस्याका कारण सम्बन्धहरु टिकाउ हुन सकिरहेका छैनन् ।

जहाँ विश्वासको संकट हुन्छ, अर्थसँग जोडिएका सवालहरु अपारदर्शी बन्छन्, शारीरिक सम्बन्धका विषय खुल्छन्, अनुचित लाभ र लोभले छोप्छ, पारिवारिक मर्यादा भंग हुन्छ अनि चाहेर वा नचाहेर सम्बन्धविच्छेदको सुविधा लिन बाध्य हुन्छन् । सम्बन्धविच्छेदका पछाडि जे–जस्ता कारण जिम्मेवार भए पनि यो एउटा असंगति हो । यसले समाजमै नकारात्मक परिणाम ल्याउँछ ।

एक व्यक्ति वा परिवारका पछाडि धेरै व्यक्ति वा परिवारको सम्बन्धका आयामहरु जोडिएका हुन्छन् । हाम्रो जस्तो सामाजिक परिवेशमा यसले सम्बन्ध जोडिएका सबैलाई असर पु¥याउँछ । सम्बन्धविच्छेदले क्षणिकरुपमा वैयक्तिक स्वतन्त्रता प्राप्त होला । तर, यसले सामाजिक संरचनामै ठूलो संकट उत्पन्न गर्छ । सामूहिक परिवारको संस्कार, नैतिक मूल्य र मान्यतामा ह्रास, वैदेशिक रोजगार, पारिवारिक विखण्डनका साथै बढ्दो सामाजिक सञ्जालको दुरुपयोगका कारण उत्पन्न विकृति सम्बन्धविच्छेद बढाउन उद्यत छन् ।

पछिल्लो समय सम्बन्धविच्छेदका लागि अदालतसम्म धाउने महिला वा पुरुषले पति–पत्नीबीचको नैतिक आचरण, घरेलु हिंसा, आर्थिक मुद्दाजस्ता कारण दर्शाएका देखिन्छन् । कतिपयले आफ्नो स्वार्थसिद्ध गर्न सम्बन्धविच्छेदलाई हतियार बनाउने गर्छन् । जे–जस्ता कारणबाट सम्बन्ध तोड्न चाहे पनि त्यो समाजका लागि चिन्ताको विषय हो । यसले भविष्यमा उत्पन्न गर्ने समस्या र सामाजिक संरचनाका विषयमा समेत सचेत हुनुपर्ने अवस्था आइसकेको छ ।

सम्बन्धविच्छेद कानुनी अधिकार भए पनि यसले समाजमा उत्पन्न गर्ने विकृतिबारे पनि अधिकारकर्मीले चासो राख्दै सकभर सम्बन्ध बिग्रन नदिने उपाय अवलम्बन गर्नु जरुरी देखिएको छ ।
– रविन रिजाल, कुपण्डोल, ललितपुर ।

प्रतिक्रिया दिनुहोस्