सीमाक्षेत्रमा कडाइ होस्



नेपालमा सुरक्षा निकायदेखि दर्जन बढी गैरसरकारी संस्थाले अभियान चलाए पनि रोजगारीका नाममा अवैध ओसारपसार र चेलीबेटी बेचबिखन हुँदै आएको छ। विभिन्न संस्थाको सक्रियता रहँदारहँदै पनि चेलीबेटीलाई विभिन्न नाका प्रयोग गरी भारतीय शहरमा लगेर बिक्री गर्ने क्रम बढिरहेको पाइएको छ। आकर्षक रोजगारी र धेरै पैसा कमाउने लालसा देखाएर विदेशमा लगी बिचल्ली बनाउने क्रम बढ्दै गएको छ। प्रहरीको तथ्यांकअनुसार यस वर्ष सयौँ चेलीहरूको उद्धार भएको छ। गतवर्ष अवैध ओसारपसार र बेचबिखन गर्नेविद्ध ३८ उजुरी दर्ता भएका थिए। बेचबिखनको जोखिममा परेका ४७६ जनालाई सीमाक्षेत्रबाटै उद्धार गरिएको थियो ।

त्यसअघिको वर्षमा ५१६ जनालाई उद्धार गरिएको थियो । विभिन्न संस्थाहरूले बर्सेनि पीडितको उद्धार गर्दै आएका छन्। तर, प्रहरीले मुख्य आरोपीलाई पक्राउ गर्न सकिरहेको छैन। अधिकांश घटनामा युवतीलाई सीमा कटाउनुअघि नै अभियुक्त सुरक्षित स्थानमा पुगिसक्ने, पीडित भएकाहरूबाट पनि अभियुक्तको परिचय लुकाउने प्रवृत्तिले चेलीबेटी बेचबिखन नियन्त्रणमा चुनौती बढेको छ।
सीमाक्षेत्रका बसपार्क तथा बेचबिखन बढी हुने स्थानहरूमा प्रहरीसहित विभिन्न संस्थाले निगरानी बढाउने गरे पनि चेलीबेटी बेचबिखनको दर बर्सेनि बढिरहेको छ। उच्च मनोकांक्षा भएका किशोरी र युवतीहरू बेचबिखनमा पर्ने गरेको तथ्यांकले देखाएको छ। घरपरिवारबाट हिंसामा परेका, चरम गरिबीले गाँजेका, अभिभावकविहीन, एकल महिला र छिट्टै विश्वास गर्ने युवतीहरू बेचबिखन तथा अवैध ओसारपसारको उच्च जोखिममा पर्ने गरेका छन् ।
केही वर्षअघि चेलीबेटी बेचबिखन भारतीय शहरहरूमा मात्रै हुने गरेको थियो। तर, अहिले दलालले विभिन्न प्रलोभन देखाएर अवैध ओसारपसार गरी रोजगारीका लागि भन्दै खाडी मुलुकमा पुर्याउने गरेका छन्। पहिले प्रेमको नाटक गरी बिहे गरेर भारतीय कोठीसम्म पुर्याएर बेच्ने दलाल थिए भने अहिले सरकारले प्रतिबन्ध लगाएका मुलुकहरूमा पुर्याएर बिक्री गर्ने गिरोहहरू बढेका छन्। हालै मात्र इराकमा चरम यातना खेप्दै आएका चेलीहरूको सकुशल उद्धार भयो। ती चेलीहरूले इराकमा नारकीय जीवन भोग्नुपरेको दृष्टान्तले पनि नेपाली चेलीहरूको विदारक दृश्य छर्लंग हुन्छ।

एउटै युवतीलाई दलालले स्वदेश हुँदै विदेशसम्म एकबाट अर्कोलाई बिक्री गर्छन्। अन्तिममा खरिद गर्नेले यौनशोषण, श्रमशोषण र चर्को यातना दिन्छन्। काठमाडौंदेखि बिक्री हुँदै दिल्ली, दुबई र कुवेतमा पुगेका थुप्रै युवतीको साझा समस्या यौनहिंसा र यातना नै हो। दलालको चंगुलमा फसेर आफ्नो जीवन नै बर्बाद बनाएका महिलाको पीडा कुवेतस्थित नेपाली दूतावासमा दिनहुँजसो आउने गरेको छ।

चेलीबेटी बेचबिखनविरुद्ध काम गरेका संस्थामा परेका निवेदनका आधारमा परराष्ट्र मन्त्रालय हुँदै कुवेतस्थित दूतावाससँग समन्वय गरी केही महिलाको उद्धार गरिए पनि बेचबिखनमा परेका कति महिला अलपत्र छन् ? त्यसको तथ्यांक कसैसँग छैन। अवैध बाटो हुँदै पैसा कमाउने लोभमा दलालको फन्दामा परेका महिलाले भारत हुँदै तेस्रो देशमा पुग्ने गरेका कारण यसको तथ्यांक सरकारसँग छैन। शुरूमा परिवारकै सल्लाहमा विदेश गएर अलपत्र परेपछि मात्रै प्रहरीमा उजुरी गर्ने प्रवृत्तिका कारण चेलीबेटी बेचबिखन बढेको छ।

दर्जनौं संस्थाको अथक प्रयासबाट पनि यो समस्या न्यूनीकरण नहुनुमा युवतीको पनि कमजोरी देखिन्छ। मानव बेचबिखनको समस्याबारे जानकारी हुँदाहुँदै पनि प्रहरी र विभिन्न संस्थाको आँखा छलेर दलालको फन्दामा पर्नु जानी–जानी मृत्युकुण्डमा हाम फाल्नुजस्तै हो। सरकारले प्रतिबन्ध लगाएका मुलुकमा जाने चाहना राख्नु नै पहिलो गल्ती हो। त्यसैले, बेचबिखनमा पर्नुअगावै स्वयम् सतर्क हुनु बढी बुद्धिमानी कार्य हुनेछ।
– वसन्ता अर्याल, चितवन।

प्रतिक्रिया दिनुहोस्