’समुदाय–प्रहरी साझेदारी’ अवधारणा लागू



????????????????????????????????????

काठमाडौं, । गृहमन्त्री रामबहादुर थापाले ’समुदाय–प्रहरी साझेदारी’ अवधारणाको आइतबार आयोजित एक समारोहबीच उदघाटन गर्नुभयो । गृहमन्त्री थापाले पब्लिक सेक्युरिटी एआउन्समेन्ट क्लिक गरी उक्त अवधारणाको आरम्भ भएको घोषणा गर्नुभएको थियो ।

गृहमन्त्री थापाले सरकारले अंगीकार गरेको “समृद्ध नेपाल सुखी नेपाली“ लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्तिको स्थापना जरुरी रहेको बताउँदै मुलुकमा सुशासन कायम गर्न र सुरक्षित समाजको स्थापना गर्न सबै प्रकारका अपराधलाई निष्तेज र नियन्त्रण गर्न समेत अवधारणाले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

देशव्यापी रुपमा सातवटै प्रदेशमा नेपाल प्रहरीको नेतृत्वमा नयाँ पहलकदमीको सुरुवात भएको चर्चा गर्दै यो अभियानलाई प्रहरीको मात्रै दायित्व नभनेर सबै समुदाय, नागरिकहरुको सक्रिय सहभागिता एवं भूमिका आवश्यक रहेको उहाँले बताउनुभयो ।

समाजमा शान्ति सुरक्षाको स्थापना एवं विकास र समृद्धिको मार्गमा अपराध मुख्य बाधक रहेको बताउँदै गृहमन्त्री थापाले अपराध नियन्त्रण गर्न प्रहरीले मात्रै होइन बर्दी बिनाका नागरिक समुदायले पनि प्रहरीको भूमिका निर्वाह गर्न जरुरी रहेको बताउनुभयो ।

घरेलु एवं यौन हिंसाका घटनाका पछाडि मदिरा एवं लागूऔषध सेवन एउटा मुख्य कारक भएकाले त्यसलाई पूर्ण नियन्त्रण गर्न सरकारले नयाँ योजना समेत सुरु गरिसकेको बताउँदै गृहमन्त्री थापाले लागूऔषध दुर्व्यसनी एवं मदिरा सेवन नियन्त्रण एवं निष्तेज गर्न स्कुलमा अध्यनरत विद्यार्थीहरुले पनि आफ्नो सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

समारोहमा गृहसचिव प्रेमकुमार राईले सरकारले लिएको नीति एवं समाजमा शान्ति सुरक्षा र सुशासन कायम गर्न समुदाय प्रहरी साझेदारीले प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्दै साझेदारी अन्तर्गतका प्राविधिक पक्षहरुका सफल कार्यान्वयनमा गृह मन्त्रालयले सदैव नेपाल प्रहरीलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरुको अनुभव समेत उपयोग गर्दै अगाडि बढे अझै प्रभावकारी रुपमा योजना सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय सरकार मार्फत प्रहरीले समुदायसँग सहकार्य गरेको काम उदाहरणीय रहेको बताउनुभयो ।

नेपाल प्रहरीको सिंगो संरचना एकिकृत भएर अन्य पक्षलाई समावेश गरी यस कार्यक्रममार्फत मुख्य आधारभूत र अनिवार्य कार्यक्रमको लागि सुशासनको अनुभूति सामुदायिक अभ्यासबाट मात्रै हुने बताउँदै उहाँले सुरक्षाको प्रत्याभूति पनि प्रहरी र जनताको सामुदायिक प्रयासबाट प्राप्त हुने बताउनुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय(प्रहरी साझेदारी अवधारणा प्रस्तुत गर्दै शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदाय(प्रहरी साझेदारी भन्ने मूल लक्ष्यकासाथ देशव्यापी रुपमा अवधारणा शुभारम्भ गरिएको उल्लेख गर्नुभयो ।

अवधारणाको कार्यान्वयनबाट अपराध रोकथाम र सुरक्षा व्यवस्थापनमा जनसाझेदारी तथा अनुसन्धान जनसहयोग अभिवृद्धि हुने अपेक्षा लिएको उहाँले बताउनुभयो । यस अवधारणाले नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था, विद्यालय र मिडियाबीचमा साझेदारी स्थापना गरी नागरिक प्रहरी र समुदायबीचको सम्बन्ध, अन्तरक्रिया र आत्मनिर्भरताको बहसलाई संरचनागत र प्रणालीगत व्यवस्थापन गर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले समुदाय(प्रहरी साझेदारीको औचित्य, आवश्यकता र आधारहरुबारे अवगत गराउँदै सुरक्षा र विकासको अन्तरसम्बन्ध, सामुदायिक प्रहरी र स्थानीय सरकार प्रणालीको सामञ्जस्यता, स्थानीय तह र नेपाल प्रहरीको साझेदारीका आधारहरु, विद्यालय सम्पर्क कार्यक्रमको औचित्य, अपराधमा बालबालिका र युवाको संलग्नता तथा सम्बद्ध जोखिमबारे विश्लेषणात्मक जानकारी दिनुभयो ।

समारोहमा नगरपालिका प्रमुखहरुको तर्फबाट ऐक्यवद्धता मन्तव्य व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरीको उपस्थिति समाजमा अमनचयन तथा शान्तिसुरक्षा कायम गर्न उल्लेखनीय भूमिका रहने चर्चा गर्नुभयो । समाजमा कुनै पनि घटना घटन नदिन सबै समुदाय र नागरिकले आ(आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा कलाकारहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै कलाकार मनोज गजुरेलले अवधारणाको सफलताको लागि शुभकामना दिनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रचना गर्नुभएको “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी“ बोलको गीत गायक शिशिर योगी र गायिका अञ्जु पन्तले प्रस्तुत गर्नुभएको थियो ।’समुदाय–प्रहरी साझेदारी’ अवधारणा देशव्यापी रुपमा आजै ७ वटै प्रदेश र ७७ वटै जिल्लामा समेत शुभारम्भ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्