होटल र पूर्वाधार नहुँदा भोकै फर्किछन् पर्यटक



सरिता चलाउने, सल्यान
जिल्लाको प्रमुख पर्यटकीयस्थलका रुपमा स्थापित भएको छ कुपिण्डे ताल। तर, ताल आसपासमा होटल र अन्य पूर्वाधार नहुँदा त्यहाँ पुग्ने पर्यटक चाहेर पनि बसाई लम्ब्याउन सक्दैनन्।

सामान्य खाना र खाजा पसलसमेत नहुँदा त्यहाँ पुग्ने सयांै पर्यटक भोकै फर्किनुपर्ने बाध्यता छ। ताल आसपास सामुदायिक वनको क्षेत्र भएकाले होटल र अन्य पूर्वाधार तयार गर्दा विवाद भएपछि समस्या भएको स्थानीय बताउँछन्। विद्यमान कानुनअनुसार सामुदायिक वन क्षेत्रभित्र कुनै घर टहरा निर्माण गर्न बन्देज गरिएकाले यसअघि निर्माण भएका घर टहरा समेत भत्काइएको छ।

सल्यानलाई चिनाउने एउटा महत्वपूर्ण पर्यटकीयस्थल भए पनि होटल र अन्य पूर्वाधार नहुँदा सोही ठाउँमा लामो समय बस्ने वातावरण नभएको दाङका झुपलाल बुढाथोकीले बताउनुभयो। उहाँले भन्नुभयो–‘ताल हेर्न बिहानै दाङबाट हिडियो, ठाउँ निकै रमणीय रहेछ। तर, भोक प्यास लागेपछि भोकभोकै फर्किनुपर्ने रहेछ।’ कुपिण्डे ताल जिल्लाको बन्गाढ कुपिन्डे नगरपालिका–८ मा अवस्थित छ।

हरेक दिन बुढाथोकी जस्ता पाहुना छिमेकी जिल्लाका हुन्छन्। केही समय अघि ताल नजिकै ३ वटा घर थिए तीमध्ये एकमा होटल रहे पनि त्यहाँका घर स्थानीय देवी सामुदायिक वनभित्र पर्ने भएकाले होटल भत्काइएको छ। अन्य दुई घर सुनसान अवस्थामा छन्।

विगत एक वर्षदेखि तालमा डुंगा चलाउँदै आउनु भएका ओमनाथ कुवँरका अनुसार जिल्ला वनमा उजुरी परेपछि देवी सामुदायिक वनका पदाधिकारी र प्रहरी पुगेर त्यहाँको होटल भत्काइको हो। उहाँका अनुसार बास बस्ने योजनाका साथ त्यहाँ पुग्नेहरू खिन्न भएर फर्किन्छन्। होटल र अन्य पूर्वाधार विस्तारमा भएको कठिनाईबारे जिज्ञासा राख्दा डिभिजन वन कार्यालय सल्यानका निमित्त डिभिजनल वन अधिकृत मेघनाथ काफ्लेले सामुदायिक वनभित्र त्यस्ता संरचना बनाउन कानुनी अड्चन रहेको बताउनुभयो।

वनको जग्गा तालको नाममा दिन नसकिने भएपनि सामुदायिक वन उपभोक्ता समितिको सहमतिमा आयआर्जनका लागि व्यवसाय गर्न सकिने उहाँको भनाइ छ। सो क्षेत्रमा होटल सहितका पूर्वाधार बनाउन नगरपालिकाले गम्भीर चासो लिएको बन्गाड कुपिन्डे नगरपालिकाका नगरप्रमुख गोविन्द पुनले बताउनुभयो। तालको लागि बजेट विनियोजित गरेर पर्यटकको व्यवस्थापन हुने पुनको दाबी छ।

वर्षमा तीन पटकसम्म पानीको रङ बदलिने भएकाले कुपिन्डेको आकर्षण विशेष छ। मध्य वर्षा, हिउँद र गर्मी मौसममा पानीको रङ बदलिन्छ। तालको किनारमा बराहको मन्दिर छ। सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका स्थानीय पनि पुग्ने गर्छन्। डुंगा सयर गर्ने, मन्दिरमा पूजापाठ गर्न र मनोरम वातावरणमा पर्यटक रमाउने गर्दछन्। सदरमुकाम खंलगाबाट एक घण्टाको बस यात्रापछि कुपिन्डे पुग्न सकिन्छ। कुपिन्डे ताल ७० मिटर गहिरो छ भन्ने गरिए पनि यसको विस्तृत अध्ययन अनुसन्धान भएको छैन।

ताल २३ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने यसको लम्बाइ ८ सय ३४ मिटर र चौडाइ ५ सय ३८ मिटर रहेको छ। ताल समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ। किम्बदन्तीअनुसार कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो। गाउँमा एक दिन साधु भेषमा एकजना मानिस बासको खोजीमा गाउँमा आएछन्। धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनन्। निरास हँुदै एकजना वृद्धको घरमा उनी पुगेछन्।

बासका लागि आपूm आएको कुरा उनले सुनाएपछि घरमा रहेकी वृद्धाले आफ्नो घरमा खाना र बस्नका लागि केही प्रबन्ध हुन नसक्ने बताए पनि साधु त्यही घरमा बस्ने अनुमति मागे। वृद्धको गरिबी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ती वृद्ध महिलालाई आफू कैलुवाहाह भएको खुलासा गरेछन्। अरूलाई बास बस्न नदिने सो गाउँका पापीलाई छिनभरमा डुबाइदिने बताउँदै अहिलेको कुपिन्डे दहतर्फको पहाड देखाउँदै उनले बृद्धालाई भनेछन्–‘त्यो पहाडसम्म जाऊ। हिँड्दापछि फर्किएर नहेर्नु।’ महिला पहाडतर्फ लागिन। पहाडको चुचुरोमा पुगेर हेर्दा सबै गाउँ पानीले भरिएको दह भएछ।

प्रतिक्रिया दिनुहोस्