शेयरको घरायसी तथा मृत्यु नामसारी अब सीडीएसीबाट



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल स्टक एक्सचेन्जले गर्दै आएको सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी अब सीडीएसी एन्ड क्लियरिङ लिमिटेडले गर्ने भएको छ। निक्षेप सेवा विनियमावली २०६८ (तेस्रो संशोधन) गर्दै नेपाल धितोपत्र बोर्डले सीडीएसलाई सो जिम्मेवारी दिएको हो।

शुक्रबार विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डले विगतमा सूचीकृत धितोपत्रको कारोवार, राफसाफ तथा नामसारीलगायतका कार्य सीडीएसीमार्फत् हुने जानकारी दिएको हो। यसअघि उक्त काम स्टक एक्सचेञ्जले गर्ने गरेको र सोही बमोजिम सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी कार्यसमेत नेप्सेको सिफारिसमा सम्बन्धित सूचीकृत कम्पनीबाट हुने गरेको थियो।

सीडीएस एन्ड क्लियरिङको स्थापना भएपश्चात धितोपत्रको राफसाफ तथा नामसारी कार्य सीडीएसबाटै हुने गरेको भए पनि घरायसी तथा मृत्यु नामसारी कार्य नेप्सेले नै गर्दै आइरहेको थियो। सीडीएससीले धितोपत्रको राफसाफ तथा नामसारी कार्य स्वचालित प्रणालीमार्फत गरिरहेको एवम् धितोपत्रको अभौतिकीकरण भएपश्चात घरायसी तथा मृत्यु नामसारी सम्बन्धी कार्य नेप्सेले गर्दा धेरै समय लाग्ने, अनावश्यक झन्झट व्यहोर्नु पर्ने लगायतका विविध कठिनाई शेयरधनीले व्यहोरिरहेको तथा यस सम्बन्धमा बोर्डमा समेत गुनासो आउन थालेपछि उक्त निर्णय गरिएको बोर्डले जनाएको छ।

‘साविकमा भौतिक शेयरको घरायसी तथा मृत्यु नामसारी नेप्सेले गर्दै आएकोमा धितोपत्रको अभौतिकीकरणपश्चात् यस सम्बन्धमा उत्पन्न अन्योलता, कठिनाई एवम् गुनासो समेतलाई सम्बोधन गर्न आवश्यक देखिएकाले बोर्डले नेप्से र सीडीएसीलाई यस सम्बन्धमा आवश्यक व्यवस्था गर्न निर्देशन दिएको थियो।’ विज्ञप्तीमा भनिएको छ।

यसअघि सीडीएससीबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा संशोधन प्रस्ताव गरी स्वीकृतिका लागि बोर्डमा पेस गरेको थियो। प्रस्तावित संशोधनमा बोर्डबाट पटक–पटक पुनरावलोकन गरी आवश्यक सुधार गरि अन्तिम रुप दिइएको विनियमावलीको तेस्रो संशोधन प्रस्तावलाई बोर्डबाट स्वीकृत गरिएको हो।

संशोधनअनुसार भौतिक, अभौतिक धितोपत्रको घरायसी नामसारी गर्न र मृत्यु पश्चातको धितोपत्र नामसारी गर्न सम्बन्धित निवेदकले विनियमावलीमा तोकिए बमोजिमको फारम भरी निक्षेप सदस्य कहाँमा सम्वन्धित कागजात सहित निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि निक्षेप सदस्यले त्यस्तो निवेदन तथा संलग्न कागजातहरू रुजु गरी सीडीएससीको प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ। निक्षेप सदस्यले प्रणालीमा प्रविष्ट गरे पश्चात प्रणालीबाट उपलब्ध हुने विवरणसहित निवेदन तथा संलग्न सम्पूर्ण कागजात आवश्यक कारबाहीका लागि सीडीएससीमा पेस गर्नुपर्नेछ।

निक्षेप सदस्यबाट प्राप्त हुन आएको निवेदन तथा कागजातको आवश्यक जाँचबुझ गरी उपयुक्त देखिएमा सीडीएससीले निवेदन बमोजिम धितोपत्रको हस्तान्तरण हुनेछ। धितोपत्र धनीको मृत्युपश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरणका लागि अन्य कसैको दाबी भए त्यस्तो दाबी गर्न आउनका लागि सीडीएससीको वेब साइटमा ३५ दिनको म्याद दिई सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था विनियमावलीमा उल्लेख छ। धितोपत्र धनीको मृत्यु पश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरण गर्दा सो धितोपत्रसँग सम्बन्धित बोनस तथा लाभांशलगायतका लाभसमेत हकवालाको नाममा हस्तान्तरण हुनेछ।

नेप्सेले यसअघि कारोबारमा लाग्ने रकमको कमिसन शून्य दशमलव ५ प्रतिशत लिने गरेको थियो भने उक्त कमिसनबाट मर्चेन्ट बैंकले केही पाउदैन थिए। तर, नेप्सेबाट सीडीएससीमा उक्त शेयर नामसारी गर्दा सीडीएससीले लिएको शुल्कको ६० प्रतिशत लिने र बाँकी ४० प्रतिशत बैंक तथा वित्तीय संस्था, धितोपत्र दलाल र मर्चेन्ट बैंकरहरूले पाउने छन्।

हाल बैंक तथा वित्तीय संस्था, धितोपत्र दलाल, मर्चेन्ट बैंकर तथा तिनका शाखामार्फत देशै भरिबाट सेवा प्रदान भइरहेको परिप्रेक्ष्यमा नयाँ व्यवस्थावाट सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया अझ सरल, सहज तथा व्यापक हुने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्