पतञ्जलि–६ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला



              मनुष्यलोक अनुकूल आयुर्वेदशास्त्रको रचना

भरद्वाजबाट आयुर्विद्या ग्रहण गर्नेहरूमा अत्रि ऋषि सबैभन्दा उत्तम ठहरिए। यिनले मनुष्यलोकमा फर्केपछि स्वर्गमा सिकेको ज्ञानलाई लिपिबद्ध गर्न ग्रन्थ रचना गर्नुपर्ने थियो। ग्रन्थ रचना गर्न स्थिरासनको खाँचो हुन्छ। यो काम यायावर ऋषिबाट गाह्रो थियो। यसका लागि उनले गृहस्थ बन्नुपर्ने थियो। गृहस्थ बन्नको लागि एउटी सुयोग्य कन्यासँग विवाह गर्नुपर्ने थियो उनले।

गोत्रपरम्पराको वृद्धि चाहने ब्रह्माजीको पनि यही इच्छा थियो। युवा तपस्वी अत्रिको विवाह कर्दम ऋषि र देवहूतिकी कन्या अनसूयासँग भयो। महर्षि अत्रिले अनसूयालाई विवाह गरेर हिमालयको पाखामा खेचरपर्वतको खप्तडस्थित आफ्नो आश्रममा ल्याए। अब यिनी यायावरबाट गृहस्थ ऋषि भए।

अत्रिपत्नी अनसूया हिमवद्देश आर्यावर्तकी आदर्श महिला थिइन्। यिनी साध्वी विदुषी र तपस्वीनी थिइन् । अनसूयामा तात्कालिक समाजका लागि उपयोगी आदर्श नारीका समस्त गुणहरू थिए। समाजमा नारी जातिको सम्मान एवं मर्यादाका लागि समय–समयमा यिनले तिनीहरूलाई उपदेश दिने गर्दथिन्। यिनले एकपल्ट रामका साथ वनवास गएकी सीतालाई समेत चित्रकूटमा नारीधर्मको शिक्षा दिएकी थिइन्। आर्यावर्तकी नारी शिरोमणि तपस्विनी अनसूयाले आफ्ना तपोबलले राजा भगीरथले जस्तै भागीरथी गङ्गाको एउटा धारालाई चित्रकूटमा ल्याएकी थिइन्। त्यसलाई मन्दाकिनी भनिन्छ।

नयाँ प्रविधिअनुसार जनसमाजको चिकित्सामा लागिहाले। आफ्ना बाबु ब्रह्माबाट सिकेको ब्रह्मसंहिता र अहिले इन्द्रले सिकाएको त्रिस्कन्ध आयुर्वेदको नयाँ प्रविधि दुवैको संयोजनसाथ लिपिबद्ध गरेर अर्को एउटा आयुर्वेदशास्त्रको निर्माण गर्ने सोच पनि महर्षि अत्रिले त्यतिखेरै बनाए। उनको लेखनी अविराम चल्न थाल्यो। अत्रिका कृतिहरूमा नौ अध्याय र चार सय श्लोकसंख्याको अत्रि संहिता, नवै अध्यायकोे अत्रि स्मृति, यसै गरी यिनका लघ्वत्रिस्मृति आदि ग्रन्थ पनि उल्लेख्य छन्।

महर्षि अत्रि हिमवद्देशमा आयुर्वेदका आदि आचार्य भए। यिनी आयुर्वेद चिकित्साका प्रथम प्रवत्र्तक बन्न पुगे। स्वर्गलोकको वातावरण अनुकूलको आयुर्वेदशास्त्रलाई महर्षि अत्रिले मनुष्यलोकको हावापानी र वातावरण अनुकूल हुने गरी त्यसमा केही थपघट र परिष्कार गरेर देश, काल र परिस्थितिको अनुकूल बनाए। महर्षि अत्रि गोत्रकार गृहस्थ हुदाँहुँदै पनि पछि फेरि यायावर ऋषि भए।

यिनले मनुष्यलोकमा आयुर्वेदको जनजनमा प्रचारप्रसार गरे। यिनी लोकोपकारका लागि यत्रतत्र घुमिरहन्थे। यी साह्रै हक्की र निस्पृह स्वभावका थिए। कोही रिसाओस् कि खुसाओस् ! यिनी आफ्ना ब्रह्मले देखेको र चित्तले ठम्याएको कुरा प्रिय अप्रिय जेसुकै होस्, राजा–रङ्क जोसुकै होस्, फटाफट भनिदिन्थे र त्यहाँबाट अन्यत्र हिँडिदिन्थे।
क्रमशः

प्रतिक्रिया दिनुहोस्