प्रेम, धोका र विछोडको अपवित्र छाया



रश्मी थापा
उपन्यासकार डा. डीआर (धर्मराज) उपाध्यायको चौथो उपन्यास हो ‘अपवित्र छाया’। यस मर्मस्पर्शी उपन्यासमा दुई प्रेमी जोडी र उनीहरूको प्रेम–जीवनमा आउने विभिन्न उतारचढावका साथै आरोह–अवरोहलाई प्रस्तुत गरिएको छ। पहिलो प्रेमजोडी बादल र शशीको प्रेमप्रसंग अन्त्यमा विछोडमा गएर टुङ्गिन्छ भने दोस्रो जोडी बासु र मिनाक्षीको प्रेमले सफलता पाएको छ।

आमाबाबुको करकापका कारण आफ्नो इच्छाविपरीत विवाह गर्न बाध्य भएका बादललाई श्रीमतीप्रति कुनै मोह छैन। विवाहपश्चात् श्रीमती माइतमै बस्ने भएकाले शशीले पनि बादल विवाहित हुन् भन्ने कुरालाई सामान्यरूपमै लिन्छिन्। आफ्नो कारमा एकपटक लिफ्ट दिएकै भरमा शशीप्रति मोहित भएका बादल पटक–पटकको प्रयासमा शशीसँग चिनजान र सम्पर्क गर्न सफल हुन्छन्।

शशी र बादलबीचको प्रेममा अचानक शशीकी दिदी श्वेताको कारण दरार आउँछ। श्वेताले विवाहित पुरुषसँग प्रेमसम्बन्ध राख्दा आफूसहित परिवार नै बदनाम हुनुपर्ने कारण देखाउँदै बादलबाट टाढिन दिएको चेतावनी सम्झिएर शशी एकाएक बादललाई बेवास्ता गर्न थाल्छिन्। तर दिदीले के कारणले त्यसो भनिन् भन्नेबारे उनी खोजिनीति गर्नपट्टि लाग्दिनन्।

उता उच्च ब्राह्मण परिवारमा जन्मिएका बासुको नेवार समुदायकी मिनाक्षीसँग प्रेम हुन्छ। बासु एक लोकप्रिय गायक हुन् भने मिनाक्षी पनि सुन्दर स्वरकी धनी गायिका। एक सांगीतिक कार्यक्रममा भेटेका उनीहरू एक–अर्कामा नजिकिन थाल्छन् भने उनीहरूको भेटघाट प्रेममा परिणत हुन्छ। बासुलाई बेला–बेलामा घरपरिवारको सोच र पुरातन मान्यताको कारण आफ्नो प्रेम असफल हुने कुराले सताइरहन्छ। जब बासुका बाबुआमाले नेवार समुदायकी यु्वतीसँगग बासुको प्रेम भएको थाहा पाउँछन्, उनीहरू तनावमा पर्छन्।

बादल र शशी अनि बासु र मिनाक्षी दुवैको प्रेमकथा यत्तिमै टुङ्गिँदैन। यहाँसम्मको कथा जति रोचक छ, त्यसपछि अगाडि बढाउने कथा अभैm रुचिकर लाग्न सक्छ। त्यसका लागि पूरै उपन्यास पढ्नै पर्ने हुन्छ। उपन्यासकारले उपन्यासको आधाजस्तो भाग यी दुई प्रेमजोडीको मायाप्रेमको बयान गर्न र उनीहरूलाई चिनाउनमा नै खर्चिएका छन् भने मध्यभागदेखि उपन्यासले गति लिएको छ। पढ्दै जाँदा उपन्यास फुर्सदमा शुरू गरेर हतारमा समापन गरिएको जस्तो लाग्छ। प्रेम र जीवन एक–अर्काका परिपूरक हुन्, एकविना अर्कोको अस्तित्व बचाउन गाह्रो हुन्छ भन्ने कुरा बादल र बासुको प्रेम–जीवनलाई उदहारणको रूपमा अघि सारेका छन् लेखकले।

समग्रमा प्रेम र वैवाहिक जीवनका माया, इष्र्या, धोका र प्रतिशोधको कहानी नै ‘अपवित्र छाया’को सार हो। त्यसैले उपन्यासकारले भनेका पनि छन्– ‘प्रेमको बिरुवा रोप्यो भने प्रेमकै फूल फुल्नुपर्ने हो। तर यहाँ अनेकौं यस्ता उदहारण छन्, जहाँ प्रेमको बिरुवा रोप्दा विषालु काँडा मात्र उम्रने गरेका छन्।’

यसभन्दा अघि पनि भाग्य चक्र, त्यागी, वज्रघातजस्ता उपन्यास पाठकमाझ पस्किसकेका डा.डीआरको यो चौथो उपन्यासको पहिलो संस्करण २०७३ मा आएको थियो भने दोस्रो संस्करण २०७५ सालमा आएको छ। अंंकित खनाल प्रकाशक रहेको उपन्यास युनाइटेड ग्राफिक प्रिन्टर्स प्रालिले मुद्रण र एसिया बुक्स डिस्टिब्युटर्सले वितरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्