उज्यालोतर्फ हेमनको यात्रा



गायनसँगै समाज सेवालाई निरन्तरता दिँदै आएका गायक हेमन मोक्तानले अँध्यारोबाट उज्यालोतर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान भन्ने नारासहित बेलायतमा कार्यक्रम गर्ने भएका छन्।

हेमनले आफ्नो गैरनाफामूलक संस्था मानव जीवन संरक्षण मञ्च नेपालमार्फत बेलायतबाट अभियानको शुरुआत गर्न लागेको बताए। झन्डै ५ करोडको अक्षयकोष निर्माण गरी नेपाल सरकारद्वारा पिछडिएको क्षेत्र घोषित ७ वटै प्रदेशका ५७ स्थानीय तहका विद्यार्थी लाभान्वित हुने गरी सौर्य ऊर्जासहितको कम्प्युटर प्रयोगशाला स्थापना गर्ने उद्देश्यका साथ मञ्च यस अभियानमा अगाडि बढेको जनाइएको छ।

नोभेम्बर १७ मा लन्डनको ग्रिनफोर्ड टाउन हलमा बृहत् सांगीतिक कार्यक्रम तथा नेपाल भ्रमण वर्ष–२०२० को प्रबद्र्वन कार्यक्रम आयोजना गरी कार्यक्रम आरम्भ गरिने हेमनले जनाए। ‘हामी नेपाल भ्रमण वर्षको अभियानसहित हाम्रो अभियानमा अगाडि बढेका छौं, पूर्वप्रधानमन्त्री माधव नेपालसँगै हाम्रो टिम लन्डन प्रस्थान गर्दैछौं’ –हेमनले भने।

उनले अभियानमा हास्यकलाकार मनोज गजुरेल र अभिनेतृ मरिष्का पोखरेलले पनि साथ दिने बताए। अभियानको शुभारम्भ कार्यक्रम बेलायतमा कार्यरत नेपालीको संस्था यति नेपाली एसोसिएसन यूके र गैरआवासीय नेपाली संघ, बेलायत शाखा तथा मञ्चको संयुक्त आयोजनामा हुँदैछ। बेलायतपछि अभियान क्यानडा, अमेरिका, दक्षिण कोरिया, जापानसँगै खाडी मुलुकमा पुर्याउने लक्ष्य निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्