छक्का पञ्जासँगै चरिकोटमा फेरि खुल्यो हल



चिरञ्जीवी मास्के, दोलखा

बन्द भएको ४ वर्षपछि पुनः सञ्चालनमा आएको सदरमुकाम चरिकोटको कालिञ्चोक चलचित्र मन्दिरमा छक्का पञ्जा–३ सफलतापूर्वक प्रदर्शन भइरहेको छ।

हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक चलचित्र मन्दिरमा प्रदर्शित छक्का पञ्जा–३ ले ९ दिनको अवधिमा (असोज ३० गते फूलपातीदेखि कात्तिक ७ गते पूूर्णिमासम्म) झन्डै १ लाखको व्यापार गरेको हल सञ्चालक सुरज खड्काले बताए। सामाजिक, राजनीतिक तथा शैक्षिक विकृति विसंगतिविरुद्ध कडा प्रहार भएको हास्यव्यंग्यले भरपुर छक्का पञ्जा–३ लाई दोलखाका दर्शकले निकै रुचाएको हल सञ्चालक खड्काको भनाइ छ। सुदीप बस्नेतको नाममा रहेको कालिञ्चोक चलचित्र मन्दिर केही वर्ष सञ्चालनमा आएर बन्द भएको थियो। बन्द भएको ४ वर्षपछि भूकम्पले क्षति पुगेको भवनको मर्मतसम्भार गरी नयाँ प्रविधि, नयाँ सिट र नयाँ व्यवस्थापनसहित सुरज खड्काले भाडामा लिएर असोज ३० गतेदेखि सञ्चालन गरेका हुन्।

बाल्कोनी र स्पेसल गरी २ सय १४ सिट क्षमताको कालिञ्चोक चलचित्र मन्दिरमा बाल्कोनीका लागि २ सय र स्पेसलका लागि १ सय टिकट शुल्क रहेको छ। शनिबार भने विद्यार्थी सहुलियत ५० प्रतिशत छुट दिने गरिएको खड्काले बताए। मनोरञ्जनात्मक हास्यव्यंग्यले भरिपूर्ण छक्का पञ्जा–३ का दर्शक ग्रामीण प्रौढ महिला तथा पुरुष, युवा, विद्यार्थी, कर्मचारीलगायत रहेको हलका स्टाफ दावा लामाले बताए।

प्रतिक्रिया दिनुहोस्