लामाबगरः कहिले बन्ला ल्हासाजस्तै



चिरञ्जीवी मास्के,

स्कुल पढ्दैदेखि तिब्बतको ल्हासा बारेमा सुनेको थिएँ। जतिबेला तिब्बत (ल्हासा) सायद छुट्टै देश थियो। सीमा जोडिएको नेपाली भूमिका बासिन्दाहरू नुन र सुनका लागि ल्हासाको चर्चा गर्थे। स्रङ्चङ गम्पो र भृकुटीको विवाह, पोताला दरबार, अरनिकोको कला आदिका कारण पनि ल्हासा नेपालीको लागि प्रसिद्ध थियो।

०७५ भदौ २२ गते,

चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक एक्सपोमा सहभागी हुन हामी केही पत्रकार त्यस्तै दिउँसो १ बजेतिर तिब्बतको राजधानी ल्हासा एयरपोर्ट पुग्यौं। हवाईजहाजमा उड्दै गर्दा आकाशमार्गबाट तलतल नियाल्दा पानी, रुख र घरहरूमात्र देखेको हाम्रा लागि एयरपोर्टबाट ल्हासा बजार हुँदै बासस्थानको व्यवस्था गरिएको सांग्रीला होटलसम्म पुग्दा विकासको अलौकिक शहरमा आएको आभाष भयो। सफा र सुन्दरता त चीनको हरेक प्रान्तको विशेषता हो। जुन विशेषता ल्हासा (तिब्बतको राजधानी) मा नहुने कुरै भएन। ल्हासाको थप विशेषता भनेको सांस्कृतिक, भाषिक, पुरातात्विक सम्पदाको संरक्षण नै हो।

एक्सपोमा प्रर्दशन गरिएको सांस्कृतिक झाँकीहरू आकर्षक मात्र होइन, सिंगो तिब्बतको सांस्कृतिक परम्पराको प्रतिनिधि थियो। अझ त्योभन्दा रोचक र आश्चर्यजनक त एक्सपोका अतिथिका लागि प्रर्दशन गरिएको नाटक थियो।

खुला नाटकघरमा प्राकृतिक भू–बनोट नै प्रर्दशनस्थल थियो। तिब्बतको इतिहास, राजनीतिक अवस्था, सांस्कृतिक परम्परा, पोताला दरबारको कथा आदि समेटिएको नाटक आधुनिक युगमा इतिहासको परम्परागत वैज्ञानिक संरक्षणको उत्कृष्ठ नमुना थियो। खुला चौरमा क्षणमै पोतला दरबार त क्षणमै हिमपातले ढाकेको डाँडाकाडा देखाउँदा दर्शकलाई रोमाञ्चित बनाएको थियो। परम्परागत संस्कारलाई जीवन्त बनाउने आधुनिक प्रविधिसहितको नाटक तिब्बतको विकासको एउटा उत्कृष्ट नमुना होे।

तिब्बतको ल्हासा नेपालमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माणस्थल रहेको दोलखाको लामाबगरसँग मिल्दोजुल्दो भौगोलिक बनावटको छ। तर विकासको स्तर लामाबगरको भन्दा सयौं गुणा माथि छ। फराकिला सडक, प्राकृतिक एवं धार्मिकस्थलहरूको उत्कृष्ट संरक्षण, सफा र सुन्दर शहर अनि परम्परागत सामाजिक अवस्थितिको आधुनिक परिचालन ल्हासाको विशेषता हो।

तिब्बतमा राजधानी ल्हासासहित ६ वटा उत्कृष्ट शहर छन्। ७४ वटा काउन्ट्री र ६ सय ९७ वटा बजारक्षेत्र रहेको तिब्बतमा विभिन्न ४० जातिका मानिसको बसोबास रहेको छ।

त्यसैले त राजधानी ल्हासा तथा अन्य शहरमा के छ भन्दा पनि के छैन भन्नु सान्र्दभिक हुन्छ। जातीय, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सुन्दरता र विकासको अलौकिक मोडलका कारण झन्डै ३० लाख जनसंख्या भएको तिब्बतमा वार्षिक साढे २ करोडभन्दा बढी पर्यटक पुग्ने गर्छन्। त्यसो त क्षेत्रफलको हिसाबले तिब्बत चीनको दोस्रो ठूलो प्रान्त हो तर तिब्बतमा जनसंख्या कम छ, विकास बढी छ। करिब १० वर्षको अन्तरालमा तिब्बतले विकास र समृद्धिको हिसाबले कायापलट नै गरेको देखिन्छ।

ल्हासाको डाँडाकाँडामा विद्युत्का पोलहरू प्रशस्तै छन्। ब्रह्मपुत्र नदीबाट उत्पादित बिजुली तिब्बतको आर्थिक उन्नतिको एउटा आधार बनेको छ। त्यसबाहेक शहरी क्षेत्रमा उद्योग व्यवसाय र ग्रामीण क्षेत्रमा पर्यटन तिब्बतको आम्दानीको मुख्य स्रोत बनेको छ। ल्हासामा रहेको फाइभस्टार होटल इन्टर कन्टिनेन्टमा मात्र ५ हजार मानिस अट्न सक्छ। ल्हासाबाट करिब ६ सय किलोमिटरको दूरीमा रहेको पर्यटकीय गाउँ टासिघाङमा दुईवटा रिर्सोट रहेका छन् जहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम भइरहन्छन्।

तिब्बतका हरेक गाउँमा रहेका सफा र सुन्दर घरहरू, हरेक घरमा होमस्टेको व्यवस्था, विभिन्न जातिका सुनाखरी र अन्य जातिका फूलहरू, चौरी व्यवसाय अनि हरेक गाउँको आफ्नै संस्कार संस्कृतिले पर्यटकलाई सधैं आकर्षित गरिरहन्छ।

ल्हासा र लामाबगरको समानता

ल्हासा र लामाबगरको समानता प्राकृतिक बनोटमा मात्र होइन, जलविद्युत्को प्रचुरता, जातीय विशेषता र परम्परागत पेशामा समेत पाउन सकिन्छ। किनभने लामाबगरमा पनि विभिन्न जातिका मानिस छन् र उनीहरूको आफ्नै संस्कार संस्कृति छ। चौरी व्यवसाय गर्ने लामाबगरका मानिस विगतमा चौरीको खर्कका लागि सीमानामा रहेको तिब्बतकै भूमिमा जाने गरेका थिए। यद्यपी त्यो क्रम अहिले पनि कायमै रहेको छ। अर्को रोचक संयोग अहिले निर्माणाधीन तामाकोसी आयोजनामा अधिकांश मजदूरहरू चाइनिज नै छन्। तर लामाबगरको विकास ल्हासाको विकाससँग तुलना हुने गरी तत्कालै होला भन्ने कुरामा भने विश्वास गर्ने ठाउँ देखिएको छैन।

दोलखाको विगु गाउँपालिकामा पर्ने लामाबगरलाई ल्हासाकै तुलनामा विकास गर्न तिब्बतकै सहयोग आवश्यक छ। नेपाल हुँदै चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग रहेको लामाबगरमा करिब १३ किलोमिटर सडक निर्माण गर्न सकियो भने विकासको नयाँ सम्भावना शुरू हुन्छ र यसले नेपालकै विकास र समृद्धिमा समेत टेवा पुर्याउन सक्छ। करिब २ सय ७३ किलोमिटरमा नेपाल हुँदै चीन र भारत जोडिने यो मार्गमा लामाबगरबाट १३ किलोमिटर सडक निर्माण गर्न सकियो भने तिब्बतको ङ्याङलुङ नाका हुँदै फलाक जोडिन सक्छ।

तिब्बतका धेरै उच्च पहाडी भेगमा सुरुङमार्ग बनेको छ। लामाबगरमा पनि चिनियाँ प्रविधिमा करिब ३ सय मिटर सुरुङमार्ग बनिसकेको छ। अब तिब्बत जोड्ने १३ किलोमिटर सडकमा तामाकोसी आयोजनाको ड्याम साइड आसपास करिब १ किलोमिटर सुरुङमार्ग बनाउन सकियो भने यो नाका सुचारु हुन सक्छ। तर बिडम्बना नेपाल सरकारले यो नाकालाई कहिले पनि प्राथमिकतामा राख्न सकेको छैन।

विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का सीमा बैठकमा तिब्बत सरकारले सडकबारे जिज्ञासा राख्ने गरेको भए पनि नेपालको परराष्ट्र मन्त्रालयले अनुमति नदिँदा सडक निर्माणबारे गाउँपालिकाले कुनै प्रस्ताव राख्न नसकेको गुनासो गर्छन्।

प्रतिक्रिया दिनुहोस्