चितवन आन्तरिक पर्यटकले खचाखच



कृष्ण आचार्य, चितवन
दशैंतिहारको बिदामा घुमफिर गर्न नेपालका विभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटकले यतिबेला चितवनका होटलहरू खचाखच भरिएका छन्।

चितवनको सौराहा, गैंडाकोटको मौलाकालिका मन्दिर, नारायणी नदी किनार, देवघाटलगायतका तालतलैया, निकुञ्ज, धार्मिकस्थल जहाँतहीं यतिखेर आन्तरिक पर्यटकले भरिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारीदेखि सिराइचुली, मौलाकालिकाजस्ता स्थानमा पुगी सूर्योदयसहित हिमशृंखलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन्।

चितवनमा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने सिजन हो। त्यस्तै मार्च, अप्रिल, नेपाली र अंग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई चितवनले लोभ्याउने गर्दछ।

दशैंदेखि तिहारसम्मको समयमा नेपालीहरूको लामो बिदा हुने र चितवनको मौसम अनुकूल हुने भएकाले पर्यटकको भीड लाग्ने गरेको देखिन्छ।

दशैंको समयमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यस अवधिमा अत्याधकरूपमा आन्तरिक पर्यटक आउने गरेको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो।

‘सौराहाका होटल यतिखेर आन्तरिक पर्यटकले भरिएका छन्’, उहाँले भन्नुभयो– ‘दशैंको भोलिपल्ट त सौराहामा पर्यटकले कोठा पाउनसमेत मुस्किल थियो, त्यसयता पनि होटल पाहुनाले भरिभराउ छन्।’ आन्तरिक पर्यटकले अनलाइनबाट बुकिङ गर्ने प्रचलन पनि बढ्दै गएको अध्यक्ष घिमिरेले बताउनुभयो। उहाँले अनलाइन बुकिङको १० प्रतिशत आन्तरिक पर्यटकले गर्ने जानकारी दिनुभयो।

त्यसै गरी चितवनका अर्का होटल व्यवसायी सुबोध प्रधानले आन्तरिक पर्यटकको भीडले काम गर्न नै नभ्याइएको बताउनुभयो। जगंली जनावर हेर्न धेरै पर्यटक चितवन आउने गरेको उनले बताए। त्यसै गरी चितवन पटिहानीका जंगल भिल्ला रिसोर्टका सञ्चालक गणेश शर्मा पौडेलले जंगल सफारी, डुंगा सयर गर्न आन्तरिक पर्यटकको भीड बढेको जानकारी दिनुभयो।

दशैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैं पेस्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेका छन्। आन्तरिक पर्यटकको पहिलो रोजाइ चितवन पर्ने भएकाले अधिकांशले दुई देखि तीन दिनसम्मको समय छुट्याएर सौराहा र मेघौली आउँछन्।

नारायणगढ–मुग्लिन सडकको सुधार भएसँगै चितवनमा यस वर्ष विगत वर्षको तुलनामा आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको चितवनका होटल व्यवसायीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्