आगलागीमा परी दुईकोे मृत्यु



चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ टासिनाममा आगलागिमा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
शुक्रवार विहान करिब साढे दुई बजे टासिनामको शेर्पा गाँउका गोपाल शेर्पाको काठ र जस्ताले बनेको एक तले घरमा आगलागि हुदा गोपाल शेर्पाको आमा ८० बर्षिय डालकी शेर्पा र कान्छो छोरा १२ बर्षका मिङमा शेर्पाको जलेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

गोपालको जेठा छोरा १५ बर्षिय फुर्साङ शेर्पा आगोले जलेर घाईते भएको र सदरमुकाम चरिकोटमा उपचार भै रहेको प्रहरीले जनाएको छ । गोपाल शेर्पाको आमा मृतक डालकी शेर्पा सधै अगेनाको डिलमा सुत्ने गरेकोले मृतक डालकीले ओढेको कपडाबाट आगो सल्कीएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।

उक्त आगलागिबाट घर सहित लताकपडा, अन्नपात, भाँडावर्तन समेत जलेर नष्ट हुदा करिब ९ लाखको आर्थिक क्षति समेत भएको प्रहरीले जनाएको छ । उक्त आगलागि प्रहरी तथा स्थानियको प्रयासमा विहान चार बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

चौधरी मृत भेटिए
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ९ खरिढुङ्गाको फुलवारी घुम्ती नजिक कैलालिको गोदावरी नगरपालिका वडा नम्बर ३ धनगढीका अन्दाजि ४० बर्षिय पल्टु चौधरी शुक्रवार विहान मृत भेटिएका छन् । चौधरीको मृत्युको विषयमा अनुसन्धान भै रहेको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्