दशैंको अफर



यसपालि दशैँमा धरहराले निःशुल्क रुपमा धेरै महत्वपूर्ण मनोरञ्जन लिन पाइरहेको छ । त्यो पनि स्यालदरबार, सिंहदरबारबाट हो र ? नाम फेरिएको नारायाणहिटी दरबार याने कि शीतलदरबारबाट ! राजतन्त्रभित्र गणतन्त्र अटाउन सक्दैन तर गणतन्त्रभित्र राजतन्त्र अटाउन सक्छ भनेको सही नै हो रहेछ ।

यसपालिको विजयदशमीको दिन त्यो दृश्य हेर्न धरहराले नौ तलामाथि चढ्नै परेन । भूईँतलाको सानो आँखीझ्यालबाटै देख्न पायो त्यस्तो दृश्य । पूर्व प्रधानमन्त्री भैसकेका र अहिले कम्युनिष्ट नामधारी ‘नेकपा’ भित्र प्रतिपक्ष भनेर देखिएका माधवकुमार नेपाल, उपराष्ट्रपति नन्दबहादुर पुन, बाहालवाला प्रधानमन्त्री केपी शर्मादेखि विवादास्पद पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीसम्मले ‘गणतन्त्रकी बडामहारानी’ को चरणकमलमा गरेको धनुष्टङ्कार देख्दा धरहरालाई कुरी–कुरी नै लाग्यो ।

लाजले पानी पानी मात्र भएको होइन, रौँ नै ठाडाठाडा भए । पदलाई ठूलो मान्ने हो कि जेष्ठतालाई ? दशैँमा त जेष्ठले कनिष्ठलाई टीकाटाला लगाइदिने हो नि तर उमेरले कान्छा पनि पदलाई ठूलो ठानेर टिकिन गएको देख्यो धरहराले । अर्काेतिर आफैँले धर्मनिरपेक्ष बनाएको मुलुकको राष्ट्रपतिको नौटङ्की किन ? हिन्दू राष्ट्रपति हुनु नै थियो भने किन संसारको एकमात्र हिन्दू राज्य फालेर धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको ?

नत्र धर्मनिरपेक्ष राज्यको राष्ट्रपति यसरी विवादमा आउने गरी टीका–टालामै उत्रनुपर्ने कारण के पर्यो ? यस्तै जनताले चुनेको भन्ने पूजा–अर्चना गर्दा पनि तिनै जनतालाई सास्ती दिएर सामन्तीशैलीमा हुँइकिने ? यो पनि निःशुल्क मनोरञ्जन नै हो । यहाँको चलन नै यस्तो हो कि त ? यस्तो चलन धरहराले नबुझ्या हो कि त ?

प्रतिक्रिया दिनुहोस्