१ अर्बभन्दा बढीको अनुदान सहयोग



नेपाल समाचारपत्र
काठमाडौं
बिपी राजमार्गको बनेपा–बर्दिवास सडक पुनर्निर्माणका लागि जापानले १ अर्बभन्दा बढीको अनुदान सहयोग गरेको छ। यो राजमार्ग मर्मत संभारका लागि जापानले नेपाललाई १ अर्ब ८ करोड रुपियाँ अनुदान सहयोग गरेको हो।

कूल १ सय ६० किलोमिटर लामो सो सडक खण्ड जापान सरकारकै सहयोगमा निर्माण भएको हो भने मर्मतमा पनि सोही मुलुकले सहयोग गर्ने निधो भएको छ। यससम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गर्नुभएको छ। कूल १ सय ६० किलोमिटर लामो बीपी राजमार्गमा साढे ३ वर्ष अघिको भूकम्प र अन्य कारणले क्षति पुगेको छ।

सो अवसरमा बोल्दै राजदूत साइगोले जापानले नेपाललाई उपलब्ध गराएको अनुदानमध्ये ठूलो भएको बताउनुभयो। भूकम्पका कारण बीपी राजमार्गको २० ठाउँमा क्षति पुगेको र केही दिनभित्रैमा पुनर्निर्माण शुरू हुने उहाँको भनाइ छ। अर्थ सचिव डा. खनालले यस सहयोगका लागि आभार व्यक्त गर्दै नेपालको पूर्वाधार विकासमा जापानी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

सरकारले सो राजमार्गमा सवारी अनुशासन कायम गर्न नसक्दा सडकको गुणस्तर खस्किदै गएको छ। जापानले २० वर्षमा निर्माण गरेको सो राजमार्ग २०७२ असार १८ गते नेपाललाई हस्तान्तरण गरेको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र सडक विभागको टोलीले गत वर्ष गरेको अध्ययनले राजमार्गको पुनर्निर्माण गर्नुपर्ने सुझाएको थियो। सडक पुनर्निर्माण गर्न १ अर्ब ५० करोड रुपियाँ लगत पर्ने देखिएको छ।

जापानले उपलब्ध गराएको अनुदानबाट ५ ठाउँमा मात्र पुनर्निर्माण हुने बीपी राजमार्ग आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले जानकारी दिनुभयो। राजमार्गको ढुङ्ग्रे झञ्याङमा माटो बगिरहने समस्याले गर्दा पुनर्निर्माण गर्नुपर्ने देखिएको छ भने सडकका ग्याविन पर्खाल भत्किएका छन्। सडकको क्षमताभन्दा बढीका सवारी, गिट्टी, बालुवा र ढुंगाको ओसार–पसार गर्ने मालवहाक सवारीको अधिक चापका कारण खस्किएको सडक र भूकम्पले झनै जीर्ण बनाएको अध्ययन समितिको निष्कर्ष छ।

नेपालथोक–धुलिखेल खण्डको करिव ५० किलोमिटर सडक पूर्णरूपमा बिग्रिएको अध्ययने टोलीको ठहर छ। धुलिखेलदेखि भकुन्डेबेंसीसम्म एक दर्जनभन्दा बढी क्रसर उद्योग रहेका छन् भने दैनिक सयौ संख्यामा टिपर ओहोरदोहोर गर्दा सडकको अवस्था खस्किएको विज्ञहरूको ठहर छ। सो सडक मर्मत संभारका लागि सरकारले वार्षिक रूपमा २ करोड रुपियाँ छुट्टाउने गरेको छ।

सोही रकमबाट संवेदनशील क्षेत्रमा पुनर्निर्माण हुने गरेको निमित्त आयोजना प्रमुख महर्जनले बताउनुभयो। पछिल्लो तथ्यांकअनुसार सो सडकमा दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्छन्।

प्रतिक्रिया दिनुहोस्