सशक्त हुन नसकेको कांग्रेस



कांग्रेस यतिखेर बलियो प्रतिपक्षी दलको रूपमा रहनुपर्ने हो । तर गुट–उपगुटमा विभाजित नेपाली कांग्रेसका भ्रातृ संगठनहरू पनि कमजोर बन्दै गएका छन् । पार्टीको सशक्त भ्रातृ संगठनका रूपमा रहेका नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघ आन्तरिक विवादका कारण कमजोर बन्दै गएको समाचार छ । १२ औं महाधिवेशनको मिति तय गरिसकेको नेविसंघभित्रको विवादले अधिवेशन हुने वा नहुने अन्योल बढेको छ भने महिला संघभित्र पनि गुट–उपगुट हुन थालेको कुरा बाहिर आएको छ । कांग्रेसले आफ्ना कार्यकर्ता, शुभचिन्तक तथा सहयोगीलाई समय–समयमा विभिन्न कार्यक्रममार्फत जमघट गरेर पार्टीसम्बन्धी प्रशिक्षण, तालिम तथा चेतना प्रदान गरी आफ्नो पार्टीप्रति आस्था र संलग्नता बढाउने अभियानमा जुट्नुपथ्र्यो । तर त्यसो हुन नसक्दाको परिणाम अहिले उसले भोग्नुपरिरहेको छ ।

कांग्रेसको सशक्त भ्रातृ संगठनका रूपमा रहेको नेपाल तरुण दलको महाधिवेशन भएको दुई वर्षसम्म पनि कार्यसमितिले पूर्णता पाउन सकेको छैन । कांग्रेसभित्र रहेको चरम गुटलाई मिलाउन तरुण दलको ६१ सदस्यीय कार्यसमितिको आकार बढाएर ९५ सदस्यीय समिति बनाइएको बताइए पनि अहिले तरुण दलमा चारजना पदाधिकारी मात्र रहनु लज्जास्पद कुरा हो । अब कांग्रेसले बलियो प्रतिपक्षी बन्नका लागि पनि यावत् कुरालाई हृदयङ्गम गरेर सच्चिनै पर्छ ।

महिलालाई नेतृत्वकलामा सक्षम बनाउनका लागि नेतृत्व सुम्पन र पार्टीप्रति आस्था एवम् क्रियाशीलता बढाउन कांगे्रस जहिल्यै पछाडि पर्दै आएको छ । स्थानीय तहदेखि केन्द्रीय स्तरसम्मको संगठनमा महिलाको संलग्नता र सक्रियता बढाउन, अझ भनौँ प्रबुद्ध वर्गका महिलालाई पार्टीप्रति आकर्षण र समपर्ण बढाइराख्न कांग्रेसले अब चुक्नुहुँदैन । करवृद्धि, महँगी, राजनीतिक अराजकता, सामाजिक अपराधका विरुद्ध आवाज उठाएर अघि बढ्न पनि कांग्रेसले आफ्नो पार्टी सुदृढीकरण गर्न ढिलो गर्नुहुँदैन ।

प्रतिपक्षीको काम विरोध गर्ने मात्र होइन, सरकारलाई रचनात्मक काममा सहयोग पुर्याउनु पनि हो । त्यसैले कांग्रेसले जनउपयोगी मुद्दाहरू उठाई जनताका दैनिकीलाई सहज बनाउने प्रयत्नमा पनि जुट्नुपर्छ । आफ्नै पार्टीभित्रको अस्तव्यस्तता र छिनाझम्टीमा कांग्रेस रुमल्लिँदा सत्तापक्षको कम्युनिस्ट चरित्रमा मनोमानिता र स्वेच्छाचारिता अझै बढ्न सक्छ ।

त्यसैले लामो समय सत्ता सम्हाली राजनीतिमा खारिएको प्रतिपक्षी कांग्रेस अब सशक्त भएर उत्रन सक्नुपर्छ । सधैँ एउटै पार्टी सत्तामा टिकिरहन सक्दैन । मुलुकको जनमत ढल्केसँगै राजनीतिले पनि कोल्टे फेर्ने हुन्छ । यो कुरा विगतले पनि दर्शाएकै छ । त्यसैले कांग्रेसले हरेक समस्याको समाधान सभ्य र मर्यादित ढंगले खोज्दै जानुपर्छ । यसका लागि कांग्रेसले आफू सच्चिएर एकढिक्का हुनै पर्छ । साथै आफ्ना भ्रातृ संगठनहरूलाई समेत व्यवस्थित गरेर जरैदेखि पार्टी बलियो बनाउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्