अब युवा बेचिनुहुँदैन



पछिल्लो समय नेपाली युवाहरूमा वैदेशिक रोजगारीको मोह बढ्दो छ। विभिन्न संघसंस्थाले संकलन गरेको तथ्यांकले नेपाली युवाहरू सय बढी मुलुकमा रोजगारीको लागि जाने गरेको खुलेको छ। मुलुकमा रोजगारीको अवसर कम हुँदै गएको तर महँगी बढेर जीवन कष्टकर बन्दै गएको अवस्थामा वैदेशिक रोजगारीले धेरैलाई राहत पनि दिएको छ। यस्तोमा वैदेशिक रोजगारी फस्टाउने कुरा स्वाभाविक पनि हो। केही समयअघिसम्म युवकहरू मात्र रोजगारीका लागि विदेश जान्थे तर हिजोआज युवतीहरूको संख्या पनि उस्तै छ। यहाँसम्म कि नेपाल सरकारले महिलालाई रोजगारीमा जान प्रतिबन्ध लगाएको खाडी मुलुकहरूमा समेत ठूलो संख्यामा युवतीहरू रोजगारीको लागि गएको अवस्था छ।

नेपाल सरकारले महिलालाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको खाडी मुलुकमा ठूलो संख्यामा नेपाली महिला कामदार रहेको बताइन्छ। धेरै रकम कमाउन सकिने प्रलोभन देखाएर दलालहरूले भारतको बाटो हँुदै महिलालाई कुवेत, बहराइन, इराक, कतारलगायतका मुलुकमा लैजान्छन्। गाउँ–गाउँमा पुगेर दलालहरूले मासिक ३०–४० हजारसम्म कमाउन सकिने बताएपछि गरिब र अशिक्षित महिलाहरू सजिलै फस्ने गरेका छन्। चितवनको माडी, नारायणी, चित्रवन, रत्ननगर तथा खैरहनी नगरपालिका, भरतपुर उपमहानगरपालिका एवम् पदमपुर, भण्डारा, जुटपानी र लोथर गाविसका धेरै महिला रोजगारीको लागि खाडीमुलुक जाने गरेको पाइन्छ। अधिकांश महिलाहरू दलालले धेरै कमाइ हुन्छ भनेकै भरमा कुरा नबुझी विदेश जान्छन्। उनीहरूलाई कुन देशमा जान कति रुपियाँ लाग्छ, के काम गर्नुपर्ने हो, खाने–बस्ने व्यवस्था कस्तो छ ? भन्नेसम्म पनि थाहा हुँदैन। यस्तोमा उनीहरू विदेशमा गएपछि समस्यामा पर्ने गरेका छन्।

विदेशमा होस् स्वदेशमा नेपाली नागरिकलाई समस्या परेको बेला सरकारले सहयोग गर्नुपर्दछ। नेपालमा बसेर नेपालीलाई ठग्ने जोकसैलाई कानुनबमोजिम कार्वाही गरिनुपर्दछ तर नेपाल सरकारले न नेपालीलाई ठग्नेमाथि कार्वाही गर्न सकेको छ न समस्यामा परेका नेपालीलाई सहयोग गर्न सकेको छ। यसबाट ठग्नेहरूले उन्मुक्ति पाउने र अझ धेरै नेपाली युवाहरू ठगिने अवस्था सिर्जना भैरहेको छ।

हुनतः नेपालको कानुनमा वैदेशिक रोजगारीको नाममा ठगी गर्नेमाथि कडा कार्वाही हुने व्यवस्था छ तर जानकारीको अभावमा ठगिएका धेरैले उजुरी गर्दैनन्। यस्तोमा विभिन्न संघसंस्था तथा स्थानीय निकायहरूले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई सचेत पार्ने, वैदेशिक रोजगारीमा गएकाहरूको रेकर्ड राख्ने र वैदेशिक रोजगारीका नाममा ठगिनेहरूलाई सहयोग गर्नुपर्दछ। स्वदेशमा होस् या विदेशमा कोही पनि नेपाली नठगिने अवस्था बनाउन सबैको सहयोग आवश्यक छ।
– सुरज वैद्य, काठमाडौं।

प्रहरीको साख बढेको महसुस

झुक्याएर एक व्यवसायीलाई चुम्बन गर्दै गरेको भिडियो खिची ठग्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गर्न सफल भएकोमा प्रहरीको सराहना गर्नै पर्छ। भिडियो सार्वजनिक गरिदिने डर धम्की देखाई १ करोड माग गर्ने गोरखा पालुङटार–८ का बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङ–४ की इन्दिरा उप्रेतीलाई कसुर प्रमाणित भएपछि हदैसम्मको कारबाही गरियोस्। पक्राउ परेकी इन्दिराले ललितपुर कुपण्डोलका व्यवसायीलाई शुरूमा फेसबुकमा निशा अधिकारी नामबाट साथी बनी कुरा गर्दै जाँदा काम छ भनी उनको नम्बर मागेकी थिइन्।

त्यसपछि असार ३ गते अफिसमा भेट्न गई ती व्यवसायीले थाहा नपाउने गरी मोबाइलको क्यामेरा अन गरेर आफूले अंगालो मारी चुम्बन गरेको रेकर्ड गरेकी रहिछन्। पछि यसैलाई माध्यम बनाएर व्यवसायीसँग ठूलो रकम मागिएको रहेछ। अब यस्ता ठगलाई हदैसम्मको कारबाही गरियोस्। यसले प्रहरीको साख बढाएको महसुस भएको छ।
– वरुण कार्की, पुल्चोक, ललितपुर।

छात्राका लागि कक्षाकोठा नै असुरक्षित भएपछि के गर्ने ?

कक्षाकोठामै छात्रालाई जबर्जजस्ती गर्ने शिक्षक पक्राउ परेको समाचार अहिले भाइरल बनेको छ। काभ्रेको एक विद्यालयमा पढाउने पहरी थरका शिक्षकले बालिकालाई काखमा लिँदै जबर्जस्ती गरेपछि उजुरी पर्नासाथ ती शिक्षकलाई पक्राउ गरिएको छ। यस्ता घृणित शिक्षकलाई जति नै कारबाही गरे पनि अभिभावक र छात्राहरू प्रसन्न हुन सक्दैनन्।

कक्षा ५ मा अध्ययनरत छात्रालाई असोज १० गते दिउँसो कक्षाकोठाभित्र जबर्जस्ती गरेपछि विद्यार्थीले अभिभावकलाई भनेपश्चात् घटना सार्वजनिक भएको थियो। त्यसअघि पनि ती शिक्षकले विद्यालयकै अर्की छात्रालाई जबर्जस्ती गरेको उजुरी दर्ता भएको समाचार छ। विद्यालयमा पुगेको प्रहरी टोलीसँग अन्य केही छात्राहरूले समेत शिक्षक पहरीले एक वर्षअघिदेखि अनेक किसिमले दुव्र्यवहार गरी अन्यत्र भनेमा विद्यालयबाट हटाइदिने धम्की दिने गरेको बताएका छन्। यस्ता क्रियाकलाप अन्य विद्यालयहरूमा पनि नहोलान् भन्न सकिन्न। त्यसैले विद्यार्थीसहित अभिभावकहरू सजग हुनुपर्छ। राज्यले पनि यस्ता क्रियाकलापमा संलग्न शिक्षकलाई हदैसम्मको कारबाही गर्न पछि पर्नुहुँदैन।
– चन्द्रकुमार मानन्धर, बनेपा, काभ्रे।

नक्कली चन्द्रमाले वातावरण नै खलबल्याउला !

चीनले सन् २०२० सम्ममा नक्कली चन्द्रमा बनाएर आकाशमा पठाउने खबर अचम्म लाग्यो। हुन त सो नक्कली चन्द्रमालवे राति अहिलेको चन्द्रमाले भन्दा बढी उज्यालो दिने बताइएको छ। तर प्रकृतिविरुद्ध गएर रातलाई पनि दिनजस्तो बनाइदिँदा यसले प्राणीसहित वनस्पतिमा समेत नराम्रो असर पर्ने कुरालाई मध्यनजर गर्नै पर्छ। सो उज्यालोले रातमा विचरण गर्ने पशुपक्षीलाई असर गर्छ। त्यस्तै अँध्यारो पनि चाहिने वनस्पतिसमेत लोप हुने अवस्थामा पुग्नेछन्।

प्रविधिको उपयोगले मानव स्वास्थ्यमा समेत असर नपर्ला भन्न सकिन्न। चीनले गर्न लागेको यो कार्यको असर छिमेकी मुलुक नेपाल नपर्ला भन्न सकिन्न। त्यसैले यस कार्यमा नेपालको भूमिका के हुने भन्ने पनि अहिले नै तय हुनु जरुरी छ।
– विजय सुवेदी र साथीहरू, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्