मिसेस नेपाल सिंगापुरको स्पर्धामा



मिसेस नेपाल इन्टरनेसलका विजयीले पहिलोपटक सिंगापुरका अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। रिबन इन्टरटेनमेन्ट प्रालिले केहीअघि राजधानीमा गरेको मिसेस नेपाल इन्टरनेसनल २०१८ र २०१७ का साथमा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टकोे आयोजनमा गरेको मिसेस नेपाल ग्ल्याम २०१८ का विजेताहरूले सिंगापुरमा हुने विवाहित महिलाबीचको अन्तर्राष्ट्रिय सौन्दर्य स्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन्।

प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाका अनुसार यी प्रतियोगिताका विजयीहरूले आगामी अक्टोबर २८ देखि नोभेम्बर २ सम्म हुने मिसेस इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगितामा सहभागी हुन इभेन्ट आयोजक निशुकान्त झाको नेतृत्वमा विजयी मिसेस नेपाल इन्टरनेसनल सुन्दरीका साथ प्रशिक्षक कोरियोग्राफर अश्विनी झा, इभेन्ट मेनजेर बालकृष्ण पोखरेललगायतको टोली भोलि शनिबार सिंगापुर पुग्नेछ। अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका विवाहित सुन्दरीले स्पर्धा गर्ने प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ अलाइजा महर्जनले नेपालको प्रतिनिधित्व गर्नेछन्। झाका अनुसार प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेसिया र इन्डोनेसियामा हुनेछ। सिंगापुर विमानास्थलमा उत्रेदेखि नै प्रतियोगीको मूल्यांकन प्रक्रिया शुरू हुनेछ। प्रतियोगिताका विभिन्न चरणका कार्यक्रम सिंगापुर, मलेसिया र इन्डोनेसिया हुँदै निर्णायक स्पर्धा सिंगापुर पुगेर हुनेछ।

नेपालको प्रतिनिधित्व गर्ने मिसेस सुन्दरीहरूले प्रतियोगितामा अब्बल सावित गर्न कोरियोग्राफर अश्विनी झा, अभिनेता वीरेन्द्र हमाललगायतसँग विभिन्न विधाको प्रशिक्षण लिई आफूलाई तयार गरिरहेका छन् भने मञ्जुश्री, कन्टेम्पोरी नृत्य, अभिनयलगायत नेपाल चिनाउने विशेष प्रस्तुति पनि पस्कने कार्यक्रम छ। मिसेस सुन्दरीहरूले आईआईएफटी, क्षितिजा कलेक्सन र भूमि बुटिकले तयार पारेका राष्ट्रिय पोशाकदेखि विभिन्न आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नेछन्। मिसेस इन्टरनेसल सिंगापुरको टीकेएस एन्ड सन्सले आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्