निङ्गलाशैनी प्रिमियर लिगः सिगासको विजयी सुरुवात



विनोद सिंह विष्ट, बैतडी ।
निङ्गलाशैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ बिहीवारदेखि सुरु भएको छ । बिहीवार भएको उद्घाटन खेलमा सिगास गाउँपालिकाले विजयी सुरुवात गरेको छ। निङ्गलाशैनी खेल मैदानमा टस जितेर पहिला व्याटिंग गरेको सिगासले दोगडाकेदार गाउँपालिकालाई ७९ रनले पराजित गरेको हो । सिगासले निर्धारित २० ओभरमा नरेस चन्दको सर्वाधिक ४२ तथा मोहित भण्डारीको नटआउट ३६ रनको मद्दतमा ६ विकेटको क्षतीमा १८० रन बनाएको थियो । दोगडाकेदारका अशोक कार्कीले २ विकेट हात पारे ।

१८१ रनको बिशाल लक्ष्यका साथ मैदान उत्रेको दोगडाकेदार १९.१ ओभरमा १०१ रनमा समेटियो। दोगडाकेदारका रमेश भट्टले १७ बिरेन्द्र कार्कीले १५ र सविन चन्दले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन् । सिगासका रुपक ऐरी र राम चन्दले समान ३÷३ विकेट हात पारे भने बसन्त खत्रीले २ विकेट लिए । खेलका म्यान अफ द म्याच सिगासका नरेस चन्द घोषित भए । शुक्रवार पहिलो खेलमा सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिका ए भिड्दा दोस्रो खेलमा दोगडाकेदार गाउँपालिका र आयोजक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि) भिड्ने भएका छ्न।

प्रतियोगितामा प्रथम परस्कार १ लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैंया,ट्रफी र प्रमाणपत्र राखिएको छ । कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी १ जनालाई ११ हजार १११ ट्रफी र प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एक एक जनालाई जनही ५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाएको छ ।

१२ टोलीको सहभागीता रहेको प्रतियोगितामा सर्वाधिक छक्का हिर्काउने १ जनालाई २ हजार २२२, सर्वाधिक चौका हिर्काउने १ जनालाई १ हजार १११ र सर्वाधिक क्याच समात्ने १ खेलाडीलाई नगद १ हजार १११ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने बताईएको छ । यस्तै अनुसासित १ टिमलाई ब्याट, ट्रफी र प्रमाणपत्र तथा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी १ जनालाई ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने जनाएको छ ।

खेलकुदको विकासका सक्दो पहल गछौं– नेता भण्डारी
यसैबिच बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । बैतडीको देहीमाण्डौंमा शुरु भएको निङ्गलाशैनी प्रिमियर लिग(एनपीएल) को उद्दघाटन सत्रमा बोल्दै सांसद भण्डारीले खेलकुदका पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेकपाका नेता समेत रहनुभएका भण्डारीले बैतडी क्रिकेट क्षेत्रको उर्वरभूमी भएको बताउँदै निंगलाशैनी खेलमैदान निर्माणका लागि स्थानीयस्तरबाट जमीनका लागि पहल भए आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

बैतडी क्षेत्र नम्बर (ख)बाट निर्वाचित सांसद लिलाधर भट्टले खेलकुद क्षेत्रको विकासका लागि आफूले प्रदेश सरकारबाट सहयोग गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एवं पूर्ण वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले खेल जीतका लागि मात्रै नभई खेलमा सहभागिता महत्वपूर्ण भएको बताउनुभयो ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्यानको विवाद नसुल्झिदा पछिल्लो समयमा क्रिकेटका गतिविधि कम हुँदै गएको बताउनुभयो । निर्वाचित क्यानलाई सरकारले सहयोग नगरेकै कारण विगत तीन बर्षदेखि देशमा क्रिकेटले गति लिन नसकेको बताउनुभयो ।

यस्तै प्रतियोगिताका संरक्षक यूवा समाजसेवी तेजबहादुर चन्दले खेलुकद क्षेत्रको विकासबाट यूवाहरुको विकास हुने भएकाले आफूले खेलकुद क्षेत्रमा लगानि गर्ने गरेको बताउनुभयो । निंगलाशैनी क्रिकेट क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ । आयोजक निंगलाशैनी क्रिकेट क्लबका अध्यक्ष महेशसिंह भण्डारीको अध्यक्षतामा प्रतियोगिता उद्दघाटन सत्र सञ्चालन भएको थियो । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका हुन लागेको यो प्रतियोगिता हालसम्मकै ठुलो प्रगियोगिता रहेको आयोजकको दाबी रहेको छ। ।

प्रतिक्रिया दिनुहोस्