रातारातको उपलब्धि



मंगलबार बिहान ललितपुरको पुल्चोकमा विशाल जमघट देखियो। चाडबाडको समयमा कसले सरकारविरुद्ध आन्दोलन र प्रदर्शन शुरू गरेछ भनेर धरहराले चासो लिएको त त्यहाँको माहोल त बेग्लै पो रैछ। निकै ठूलो तामझामका साथ काठमाडौंमा बिजुली बस अर्थात् विद्युतीय बस चलाउन भद्रभलादमी जुट्या रैछन्।

प्रधानमन्त्री ओली, उनी पछिपछि अनेक थरी मन्त्री, चिनियाँ दूतावासका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख, काठमाडौं र ललितपुर महानगरका मेयर, सांसद र बाक्लै संख्यामा वातावरणविद् देखिए।

यस्तो विशाल जमघट देख्दा निकै फुरुङ परेको धरहराले बुझ्यो, इन्धनले चल्ने सवारी छिट्टै प्रतिबन्ध लाग्दै छन् र अब देशैभर विद्युतीय सवारी अनिवार्य गरिँदै छ।

तर चुरो कुरो अर्कै रैछ। खास कुरो बुझ्दा धरहरा झन्डै छाँगाबाट खसेको। जाबो दुईवटा विद्युतीय बस उद्घाटनका लागि त्यो विशाल जमघट जुट्या रहेछ। दातृ निकायको आर्थिक सहयोगमा लुम्बिनीमा गुडाउने तयारी गरिएका बस रातारात काठमाडौं झिकाएर ओलीले रिबन काट्न रहर गरेपछि अरू साक्षी बस्न बाध्य भा रैछन्। ढिलै गरी चुरो कुरो बुझेका साक्षीहरु लाजले रातोपिरो भएको प्रस्ट देखिन्थ्यो।

अनि अर्को कुरो, कुनै बेला काठमाडौंमा बाक्लै संख्यामा ट्रली बस थिए तर माल पाएर चाल नपाउँदा ती इतिहास बने क्यार। धरहराले बुझ्न नसक्या कुरा ऊ बेलाको ट्रली बस र अहिलेको बिजुली बसमा फरक चाहिँ के छ कुन्नि ?

प्रतिक्रिया दिनुहोस्