मौद्रिक कसुरमा मेश्रेक बैंकलाई जरिवाना



नेपाल समाचारपत्र
काठमाडौं
अमेरिकाको न्युयोर्क राज्यका वित्तीय नियन्त्रकहरूले संयुक्त अरब इमिरेट्स (युएई) मा प्रधान कार्यालय रहेको मेश्रेक बैंकको न्युयोर्क शाखालाई ४० मिलियन अमेरिकी डलर बराबर जरिवाना सिफारिस गरेका छन्।

बैंकलाई लाखौं रुपियाँ बराबरको उच्च जोखिमयुक्त लेनदेन सफा गर्न पैसा लिने तथा आतंककारी वित्तपोषणका विरुद्ध उचित सुरक्षा नअपनाएको भन्दै हर्जना (सेटलमेन्ट) रकम तिराइएको हो। नेपालबाट समेत अन्तर्राष्ट्रियस्तरको कारोबार गर्दै आएको सो बैंकले पनि न्युयोर्कको वित्तीय नियन्त्रकसँग सो रकम बराबरको जरिवाना तिर्ने सहमति जनाइसकेको छ।

न्युयोर्क फाइनान्सियल सर्बिसेज विभाग (डीएफएस) का महानिर्देशक मारिया बुलोकाअनुसार बैंकले अन्तर्राष्ट्रिय मुद्रा कारोबारमा वित्तीय अनुशासन कायम गर्न सकेको छैन। त्यसै गरी आतंककारी वित्तपोषण र अन्य सम्बन्धित धम्कीविरुद्ध लड्ने उद्देश्यअनुसार न्युयोर्क र संघीय बैंकिङ कानुनको पूर्ण पालन गर्न नसकेपछि आर्थिक जरिवानाका लागि सिफारिस गरिएको हो। न्युयोर्कमा मेश्रेक शाखाले ग्राहकलाई ‘उच्च जोखिम’ अधिकार क्षेत्रमा कुल ७ हजार १ सय ७९ अर्ब डलरको लेनदेन प्रशोधन गर्यो। यसअनुसार बैंक अमेरिकी संघिय कानुन र अन्तर्राष्ट्रिय बैंकिङ कारोबारसम्बन्धी नीतिको अबलम्बन गर्न असफल भएको छ। बैंककै कर्मचारी तथा सदस्यले कस्तो लेनदेन स्वीकार्य थिए भनेर आफैं निर्धारण गरेका महानिर्देशक बुलोको भनाइ छ।

पछिल्लो समय न्युयोर्कका वित्तीय परीक्षकले उच्च वित्तीय जोखिम रहेका देशका लागि डलर सफा गर्ने पोर्टलको निक्षेप निरीक्षण गरिरहेका छन्। उनीहरूले मेश्रेकसँग सम्बन्धित विषय, उसका वित्तीय कमजोरी तथा संदिग्ध क्रियाकलाप, वित्तीय क्षेत्रमा आतंकवाद निर्मुलीकरण र संघीय नीतिको कार्यान्वयनका लागि भन्दै बैंकलाई सजग गराएका हुन्। मेश्रेक बैंक संयुक्त अरब इमिरेट्स (युएई) मा सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बैंक हो। उक्त बैंकको १९६७ पछि सञ्चालन मुनाफा ३४ बिलियन डलरभन्दा अधिक छ। बैंकले सन् २०१७ मा ५ सय ७१ मिलियन अमेरिकी डलर बराबरको मुनाफा कमाएको थियो। युएईमा मुख्य कार्यालय रहेको बैंकको युरोप, संयुक्त राज्य अमेरिका, एसिया र अफ्रिकामा पनि शाखा रहेका छन्।

मेश्रेक बैंकको न्युयोर्क शाखाले संवाददाता बैंकिङ र व्यापारिक वित्त सेवा प्रदान गर्दछ र सेवाग्राहीमा ‘डलर क्लियर’ सेवा प्रदान गर्दछ। बैंकको वित्तीय विवरण हेर्दा सन् २०१६ मा न्युयोर्क शाखाले ३६ मिलियन डलरभन्दा बढी मूल्यका साथ १ दशमलव २ मिलियनभन्दा बढी लेनदेन सफा गरेको देखिएको छ। गतवर्ष अर्थात् सन् २०१७ मा उक्त शाखाले १९ हजार ३ सय ३५ वटा कारोबारमार्फत लाखौं डलर बराबरको संदिग्ध कारोबार गरेको वित्तीय नियन्त्रकहरूको ठम्याइ छ।

मेश्रेक बैंकले वित्तीय अनुशासन कायम गर्नका लागि आफू आवश्यक प्रणाली लागू गर्न चाहेको तथा नियामकद्वारा उठाइएको सबै चिन्ता चाँडै समाधान गरी ग्राहकलाई सर्वोत्तमरूपमा सेवा गर्न चाहेको जनाएको छ। ‘नियामक क्षेत्रले दिएको निर्देशन तथा अपेक्षाको उत्कृष्ट ढंगले परिपालना गरी सरल र मजबुत बैंकिङ सेवासँग आफ्नो ग्राहकलाई उपलब्ध गराउन प्रतिबद्ध छ’ –यसबारेमा बैंकले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ।
मेश्रेक बैंकमाथि अमेरिकामा गरिएको उक्त नियामक कार्यले सम्भवतः संयुक्त राज्य अमेरिका र विश्वभर रहेका अन्य अपरेसनमा प्रत्यक्ष प्रभाव पार्न सम्भव नरहेको समेत बैंकले स्पष्ट पारेको छ। उक्त बैंकले नेपालका विभिन्न बैंकमार्फत अन्तर्राष्ट्रियस्तरको बैंकिङ कारोबारसमेत गर्दै आएको छ।
(स्रोत एजेन्सी)

प्रतिक्रिया दिनुहोस्