सयपत्री फूल खेतीमा बढ्यो आकर्षण



उत्तम नेपाल, भद्रपुर
फूलहरूमध्ये सयपत्रीलाई अधिकांसले रुचाउँछन्। सभा समारोह सजाउन, अतिथीको स्वागत, न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री फूल नै उत्तम मानिन्छ।
सर्वत्र माग हुने सयपत्री आम्दानीको गतिलो स्रोत बन्न सक्छ भन्ने पुष्टी गर्न झापाका एक दम्पती सयपत्री फूलको खेतीमा क्रियाशील छन्। भद्रपुर–७ इलुबारीमा खेमराज दाहाल र खगिन्द्रा खुसीले दुई विगाहा जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती शुरू गरेका छन्। सीमावर्ती नाकाबाट बर्सेनी करोडौं मूल्य बराबरको फूल भित्रिरहेको अवस्थामा दाहाल दम्पतीले सयपत्रीलाई आयआर्जनको दिगो स्रोत बनाउन जुटेका हुन्।

बाह्रैमास फूल्ने सयपत्रीको वर्णशंकर र रैथाने बिरुवा रोपेकाले स्वदेशी फूलले बजारको माग धान्ने खगिन्द्राको विश्वास छ। अन्य समयभन्दा तिहारमा बढी माग हुने सयपत्री फूल भारतबाट भित्रिने र फूल किन्न घुइँचो लागेको देखेर यसको खेती गर्ने सोच आएको उहाँले बताउनुभयो। तत्काल एक विगाहा निजी लगानीमा खेती शुरू गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘विस्तारै क्षेत्र बढाउने तयारी गरेका छौं।’
गत चैत्रबाट शुरू गरिएको यो खेतीका लागि सुनसरीको इटहरीबाट साढे सात हजार कलकते जातको बिरुवा झिकाइएको थियो। अहिलेसम्म करिब ३ लाख रुपियाँ लगानी भएको र स्थानीय सरकारले सहयोग गरेमा आफ्नो प्रयास सफल बन्ने उहाँहरूको विश्वास छ। फूल खेती शुरू भएपछि यसबारेमा चासो लिने र फूल किन्ने व्यापारी बारीमै आउने गरेकाले व्यापारको समस्या नभएको र फूलको बेर्ना रोपेको एक महिनापछि नै फूल्न थालेको दाहालले जानकारी दिनुभयो।

अन्य खेतीभन्दा यो खेतीमा काम गर्न सजिलो र उत्पादन खर्चसमेत कम हुने बताउँदै उहाँले भन्नुभयो– ‘तत्काल लगानी नउठे पनि हामी सन्तुष्ट छौं।’ दाहाल दम्पती मात्रै होइन, भद्रपुरसँगै अर्जुनधारा, मेचीनगर, बिर्तामोड, गौरादहलगायतका क्षेत्रमा किसानहरूले यसपटक २० विगाहाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती लगाएका छन्। त्यस्तै मेचीनगर–९ मा डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि दिक्षा उप्रेतीले नर्सरी व्यवसाय सञ्चालन गर्नुभएको छ। उहाँले यसपटक १० कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरू गर्नुभएको छ भने खेती गर्न चाहनेहरूलाई परामर्शसहित यही वर्ष ३५ हजार सयपत्रीका बिरुवा बिक्री गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्