सर्लाहीका प्रतिभा सम्मानित



विजयादशमीको अवसरमा सर्लाहीमा आयोजित एक कार्यक्रमबीच विभिन्न विधाका प्रतिभालाई सम्मान गरिएको छ। सर्लाहीबाट आफ्नो क्षेत्रमा चिनिएका कलाकर्मी, पत्रकार तथा समाजसेवीलाई सम्मान गरिएको हो।

सर्लाहीस्थित बरहथवा नगरपालिकाअन्तर्गतको वडा नम्बर ३ मा श्री मँँ शक्ति दुर्गा क्लबद्वारा आयोजित सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०७५ मा निर्देशक प्रदीप भट्टराई, अभिनेता निखिल उप्रेती र विजय बराल, गायक कमल खत्री र कर्णराज गिरी, हास्यकलाकार शिवशंकर रिजाल, मोडल इस्टु कार्की, मिस सर्लाही–२०७५ प्राप्ति उप्रेती, कलाकार राम ठाकुरलाई कलाकारिता सम्मानबाट सम्मान गरिएको छ। त्यसैगरी प्रदीप कार्की, मनिष कार्की र नवीन गिरीलाई पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ।

बरहथवा नगरपालिका प्रमुख देवानन्द महतो तथा संविधानसभाका निवर्तमान सभासद हरि उप्रेतीले सम्मान प्रदान गरेका थिए।

सो अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा गायक कमल खत्रीले आफ्ना चर्चित गीत आत्मामा, गल्ती मेरो छैन, जाउँला रेलैमालगायतका गीत गाउँदा स्थानीय दर्शक रमाएर नाचेका थिए। यसैगरी कर्णराजले आफ्ना चर्चित गीतसहितको प्रस्तुति दिएका थिए भने शिवशंकर रिजालको प्रहसनले स्थानीयलाई हाँस्न बाध्य बनाएको थियो।

सम्मान ग्रहण गरिसकेपछि गायक कमलले यस किसिमको सम्मानले आउँदा दिनमा ऊर्जा मिल्ने बताए। ‘आफैं हुर्केको ठाउँमा सम्मानित हुन पाएँ, यो सम्मानको मान बढाउने कोसिस रहनेछ’ –उनले भने। यसैगरी निर्देशक प्रदीप भट्टराईले पनि सम्मानले हौसला थप्ने बताए। ‘गृह जिल्लाको सम्मान निकै प्यारो हुन्छ। त्यसमाथि हाम्रो पहाडी र मधेसी समुदाय मिक्स भएको ठाउँमा यस किसिमको कार्यक्रमले कल्चर एक्सचेन्जमा पनि मद्दत पुर्याँउछ’ –उनको भनाइ थियो। आयोजक कमिटीका अध्यक्ष रघुवीर कुशवाहाले आगामी दिनमा पनि यस किसिमका कार्यक्रम गर्ने ऊर्जा मिलेको बताए।

प्रतिक्रिया दिनुहोस्