जय भोलेलाई एक सातामा ३ करोड



नसोचेको व्यापार भयो ः अशोक शर्मा

निर्माता, निर्देशक तथा अभिनेता अशोक शर्माले आफूले १२ वर्षको अन्तरालपछि निर्माण गरेको फिल्म जय भोलेले नसोचेको व्यापार गरेको बताएका छन्।

बुधबार आफ्नै कार्यालय डिजिटल सिनेमा नेपाल (डीसीएन) मा आयोजित पत्रकार भेटघाटमा शर्माले हाल रिलिजमा रहेको जय भोलेले गत सोमबारसम्म ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपियाँ ग्रस कलेक्सन गरेको बताए।

फूलपातीका दिन असोज ३० गते रिलिज भएको फिल्मले एक सातामा ३ करोड रुपियाँ बढी तथा बुधबारसम्ममा ४ करोड रुपियाँको हाराहारीमा ग्रस कलेक्सन गरेको डीसीएनकी वितरण तथा बजार प्रमुख सीता मैनालीले जानकारी गराइन्।

‘रिलिजको पहिलो दिन १ सय १५ स्क्रिनमा लागेको जय भोलेले पहिलो हप्ता मैले सोचेभन्दा निकै राम्रो व्यापार गर्यो। पहिलो हप्ता डेढ २ करोडको रेन्जमा व्यापार हुन्छ भन्ने सोचेको थिएँ। किनभने घटस्थापनको दिन ठूलो ब्रान्डको फिल्म छक्का पञ्जा–३ आएको थियो, तर जय भोलेले पहिलो हप्ता नै मैले सोचेकोभन्दा बढी व्यापार गरिदियो’, शर्माले प्रशन्नता व्यक्त गर्दै भने– ‘१ करोड ३५ लाखमा बनेको फिल्म पहिलो सातामै लगानी सुरक्षित गरेर नाफामा गएको छ। हामीले काममा पारदर्शिता अपनाउनुपर्छ भनेर नै फिल्मको व्यापारबारे जानकारी दिन कार्यक्रम राखेका हौं।’

शर्मा सुनाउँदै थिए– ‘यो दशैंमा छक्का पञ्जा–३ र जय भोले लगभग सँगै रिलिजमा आयो। हामीले केही दिनको ग्याप म्यानेज गर्यौं, तर अबदेखि दशैंमा कुनै फिल्मले एक्लै लड्छु भन्ने नसोचे पनि हुन्छ। किन भने राम्रा सिनेमा राम्रा अवसरमा लाग्नुपर्छ। दशंै फिल्म रिलिजको लागि राम्रो अवसर हो। मेरो अर्को फिल्म रातो टीका निधारमा अब अर्को दशैंमै आउँछ।

त्यो बेला अरु फिल्म पनि आउलान्। उक्त फिल्ममा बुद्धि तामाङ मात्र फिक्स छन्। अरू को–को हुन्छन् फिक्स छैन। किनभने स्क्रिप्ट नै तिहारपछि लेख्न थाल्छु।’ ‘तिहारसम्म त जय भोलेमै कुदिन्छ’, उनले भने– ‘मैले आफ्ना सबै फिल्मबाट केही न केही शिक्षा लिएको छु। जय भोलेबाट पनि मैले केही शिक्षा लिएको छु।

दर्शकसँगै फिल्म हेर्दा मैले उनीबाट पनि राम्रो प्रतिक्रिया पाएको छु। रातो टीका निधारमामा म जय भोलेमा समेट्न नसकेका कुरा समेट्नेछु। १२ वर्षपछि फिल्म क्षेत्रमा आउँदा पनि मलाई दर्शकले उत्तिकै माया गरिदिनुभएको छ। १२ वर्षको ग्यापमा मैले गरेको अब्र्जभेसन र आफू डीसीएनमा आबद्ध भएका कारण मलाई फिल्मसम्बन्धी जानकारी लिन र बुझ्ने मौका पाएकाले यसले मलाई फाइदा गर्यो।’

फिल्मका कलाकार बुद्धि तामाङले जय भोलेसँगै आफ्नो अर्को फिल्म छक्का पञ्जा–३ पनि प्रदर्शन भईरहँदा रमाइलो लागेको बताए। ‘रमाइलो भयो, बडा रमाइलो भयो। दुवै फिल्म सँगै आयो र हिट पनि भयो’ –तामाङले दंग पर्दै भने।

किरण शर्मा, कृति शर्मा तथा अंकित शर्माको निर्माण रहेको फिलममा खगेन्द्र लामिछाने, बुद्धि तामाङ, सौगात मल्ल स्वस्तिमा खड्का, लक्ष्मी गिरी, जयनन्द लामा, राजाराम पौडेल, रामचन्द्र अधिकारी, अशोक शर्मालगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्