आर्सेनल विजयी



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सेनल विजयी भएको छ।

सोमबार राति भएको खेलमा आर्सेनलले लेस्टर सिटीलाई ३–१ गोलअन्तरले हराएको हो। लेस्टरले खेलमा शुरुआती अग्रता लिए पनि आर्सेनललाई सहजै नतिजा सुम्पेको थियो। योसँगै प्रिमियर लिगको अंक तालिकामा तेस्रो हुने होड पनि निकै रोचक बन्न थालेको छ।

लिगको ९ चरणको खेलको समाप्तिसम्म तेस्रो स्थानमा चेल्सी, चौथो स्थानमा आर्सेनल र पाँचौं स्थानमा टोटनह्याम हट्सपर रहेका छन्। तीनै टोलीको समान २१–२१ अंक छ। लेस्टरको भने १२ अंक रहेको छ।

अंकतालिकाको शीर्ष स्थानमा म्यानचेस्टर सिटी रहेको छ। २३ अंक जोडेको सिटीले गोलभिन्नतामा लिभरपुललाई दोस्रो स्थानमा धकेलेको छ। लिभरपुलको पनि २३ अंक नै छ।
खेलको ३१औं मिनेटमा आर्सेनलका हेक्टर बेलेरिनले आत्मघाती गोल गर्दा लेस्टरले शुरुआती अग्रता लिएको थियो। तर आर्सेनल कप्तान मेसुट ओजिलले खेलको ४५औं मिनेटमा बराबरी गोल फर्काएपछि पहिलो हाफसम्म दुवै टोली १–१ स्थितिमा रहेका थिए।

यसैगरी खेलको ६३औं मिनेटमा पेरी एम्रिक औबामेयांगले गोल गर्दै आर्सेनललाई २–१ को स्थितिमा ल्याए। उक्त गोल भएको तीन मिनेटपछि नै पुनः औबामेयांगले नै व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सेनलको जित सहज भयो।

प्रतिक्रिया दिनुहोस्