एक अर्ब ४४ करोड बराबरको आईपीओ आउँदै



नेपाल समाचारपत्र
काठमाडौं
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आगामी सातादेखि सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने भएको छ। चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कात्तिक १५ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको हो।

सो कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। कम्पनीले पहिलो चरणमा सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर होल्डर कम्पनीका कर्मचारीलाई १ अर्ब ४४ करोड रूपियाँबराबरको १ करोड ४४ लाख कित्ताको आईपीओ जारी गर्न अनुमति पाएको हो।

कम्पनीले गत असार १७ गते धितोपत्र बोर्डमा आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएकोमा बोर्डले असोज २९ गते स्वीकृत दिएको हो। जसमध्ये कर्मचारी संचय कोषका सञ्चयकर्ताहरूका लागि कुल एक अर्ब १७ करोडबराबरको १ करोड १७ लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि २१ करोडबराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ करोडबराबरको ६ लाख कित्ता शेयर बिक्री गर्नेछ।

जलविद्युत् कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबीएल क्यापिटल लिमिटेड रहेका छन्। पहिलो चरणको शेयर निष्काशनसँगै कम्पनीले दोस्रो चरणमा सिन्धुपाल्चोक बासीका लागि ६० करोडको आईपीओ र तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई ९० करोडको आईपीओ निष्काशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्