सडक अतिक्रमण गरी वर्षौंदेखि व्यापार



सलिम अन्सारी, प्युठान
जिल्लाका विभिन्न भेगमा व्यावसायीले निजी प्रयोजनका लागि सडक अतिक्रमण गर्ने क्रम रोकिएको छैन। व्यावसायीले प्युठान भालुबाङ खण्डको बाग्दुला पुलचोक बजार क्षेत्रमा सडक अतिक्रमण गरी व्यावसाय गरिरहेका छन्।

यहाँ जनज्योती सामुदायिक विकास केन्द्रले सटर निर्माण गरी भाडामा लगाएको छ। त्यसैमा व्यापारीले जस्तापाताको टहरा थपेर व्यापार गर्दै आएका हुन्। बहाने जाने सडक छेउमा पनि अस्थायी टहरा खडा गरी व्यापार गरेपछि सडक साँघुरिदै गएको छ। सडकको दुबैतर्फ किराना एवं तरकारी फलफूलका पसलका कारण आउजाउमा समस्या थपेको छ। राष्ट्रिय राजमार्गका सडक किनाराबाट २५ र सहायक मार्गमा १५ मिटर खुला राख्नुपर्ने प्रावधान भए पनि त्यस्तो व्यवस्था सरासर उल्लंघन भएको छ। कतिपय क्षेत्रमा सडक मिचेर घरटहरा बनाइएको छ भने प्युठान नगरपालिका र सडक डिभिजनले समेत यसबारेमा अनुगमन नगरेको सरोकारवालाको आरोप छ।

स्थानीय व्यापारीले बाग्दुला चोकको दुवैतर्फका टहरामा सामान राखेर बिक्री गर्दै आएका छन्। प्युठान नगरपालिकाले दोस्रो नगरसभाबाट बजार क्षेत्रका ती सडक मिचेर बनाइएका घर टहरा भत्काउने निर्णय गरेको छ। नगरपालिकाले व्यवसायी र घरधनीलाई पटकपटक मौखिक र लिखित रूपमै घर अगाडीका अस्थायी टहरा हटाइदिन आग्रह गरिरहेको छ तर कार्यान्वयन हुन सकेको छैन।

भोगचलन गर्दै आएका संरचना हटाउन व्यापारीहरूले अवरोध गरेपछि प्युठान नगरपालिका हच्किएको छ। नयाँ बजार जुम्रीका धेरैजसो टहरा हटाइए पनि बिजुवार बाग्दुला क्षेत्रका टहरा हटाउन लाग्दा स्थानीयले अवरोध गरेका थिए। जिल्ला ट्राफिक प्रमुख छबिलाल ढकालले नगरपालिकासित समन्वय गरी राजमार्गको दुवै क्षेत्र खालि गरिने बताउनुभयो। ‘नियम मिचेर सडकमा पसल थाप्न पाइँदैन, उहाँले भन्नुभयो ‘जनप्रतिनिधिसित छलफल गरी हटाउँछौं।’

अस्थायी टहरा हटाउने अभियान पूर्णरूपमा कार्यन्वयन गरेरै छाड्ने प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो। बाग्दुला क्षेत्रमा केही चुनौती देखिएको बताउँदै उहाँले भन्नुभयो– ‘व्यवस्थित सब्जीमन्डी सञ्चालन गर्ने योजनामा छांै, त्यसपछि समस्या समाधान हुन्छ।’ सब्जीमन्डी सञ्चालनका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले २० लाख रूपियाँ बजेट विनियोजन गरेको छ।

उता व्यापारीहरूले भने सडक डिभिजन कार्यालयले सडकको दुवैतिर १५ मिटर सडक निर्माण गर्न काम अघि बढाए अस्थायी टहरा छोड्न तयार रहेको बताएका छन्। सडकले आफ्नो क्षेत्र कायम गरे हामी अन्यत्र जान्छौं वर्षौंदेखि भाडाको सटरमा बस्दै आउनुभएका व्यापारी राजन केसीले भन्नुभयो– ‘आफ्नो व्यावसाय गरेर बसेका छौं कसरी हट्नु ?’ यहाँबाट हट्नुपरे व्यापारका लागि बैकल्पिक स्थान सुनिश्चित गरिनुपर्ने उहाँसहितका व्यवसायीको तर्क छ।

सडक मिचेर बनाइएका टहरामा किराना, फलफूल र तरकारी पसल सञ्चालन गरिरहेकाहरूले प्रतिमहिना ५ हजार ५ सयदेखि ९ हजारसम्म भाडा तिर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्