पशुपतिस्थित वृद्धाश्रमछेउको शौचालय हटाऊ



पशुपति क्षेत्रको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय हटाउन जरुरी देखिएको छ। शौचालयबाट वृद्धवृद्धाका स्वास्थ्यमा प्रतिकूल असर परेको अवस्था छ। वृद्धाश्रमसँगैको शौचालयका विकल्प खोज्न र वृद्धाश्रमको सरसफाइमा ध्यान दिनुपर्नेमा यसतर्फ बेवास्ता गरिएको छ।

वृद्धाश्रममा पर्याप्त खानेपानीको व्यवस्था गर्नुपर्छ। खानेपानी, शौचालय, जग्गा, भवन निर्माण तथा भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको पुनः निर्माण गर्नु अहिले अपरिहार्य रहेको छ। वृद्धमैत्री जग्गा तथा भवन निर्माण गर्नुपर्ने र यसका लागि प्रक्रिया शुरू गर्नुपर्ने देखिन्छ। सर्वप्रथम वृद्धाश्रमछेउको सार्वजनिक शौचालय हटाउन जरुरी देखिन्छ।

– प्रशान्त मरासिनी, गुल्मी, हाल ः गोठाटार।

कर्णाली प्रदेशमा कसरी गरिबी हटाउने ?

कर्णाली प्रदेश विभिन्न समस्याबाट ग्रसित प्रदेश हो। यहाँको गरिबी न्यूनीकरण गर्नका लागि एकीकृत बस्ती विकास यहाँको महत्वपूर्ण कुरा हो। कर्णाली प्रदेशभित्रका विभिन्न ऐतिहासिक महत्वका वस्तुहरूको प्रवद्र्धन गर्नु पनि अहिलेको आवश्यकता हो। कर्णाली प्रदेशभित्र छरिएर रहेको विकेन्द्रित बस्तीलाई एकीकृत गर्नका लागि विगत दश वर्षदेखि चर्कोरूपमा यसको बहस भएको छ। बहस र पैरवी जति धेरै उठेको भए पनि कार्यान्वयनका लागि भने अझै समस्या नै देखिएको छ।

केन्द्र सरकारले पहिलेदेखि नै यस्ता विषयहरूका बारेमा गम्भीर चासो व्यक्त गरेको छ तर पनि बस्ती विकासको स्वरूप अहिलेसम्म आउन सकेको छैन। निकै छरिएर रहेको कर्णालीको बस्तीलाई जबसम्म एकीकृत गर्न सकिँदैन तबसम्म कर्णाली प्रदेशको गरिबी अन्त्य हुन सक्दैन।

बस्ती व्यवस्थित गरेपश्चात् खालि स्थानहरूमा कर्णालीमा पाइने विभिन्न जडीबुटीहरू उत्पादन केन्द्र बनाउने र त्यसको बजारीकण गर्न सकेको खण्डमा यसले सिंगो कर्णाली क्षेत्रको आर्थिक अवस्था सुधारमा टेवा पुग्नेछ। अहिले कर्णाली प्रदेश सरकारले अभियान शुरू गरेको छ। दश वर्ष नै किन नलागोस्, बस्ती स्थानान्तरण गर्नका लागि के गर्दा उपयुक्त हुन सक्छ र कहाँ बस्ती राख्दा राम्रो हुन्छ, यसबारे कार्य प्रारम्भ गर्ने औजारहरूको प्रयोग गरेर व्यवहारतः यो कार्य लागू भएको जनतालाई देखाउनुपर्ने बेला आएको छ।

कर्णाली क्षेत्रको बस्तीलाई एकीकृत बस्ती विकास गर्नेबारे योजना बन्नु जरुरी छ। अब के, कसरी, कहिलेसम्म यस्ता ठोस विषयहरू बाहिर आउनुपर्ने भन्ने अहिलेको आवश्यकता हो। कर्णालीका केही जिल्ला अझै पनि सडक सञ्जालमा जोडिएका छैनन्। जोडिए भनेकाहरू पनि व्यावहारिकरूपमा सुचारु छैनन्। यस विषयमा केन्द्र सरकारको ध्यान जानु नितान्त जरुरी छ।

– सुरेश चापागाईं, जुम्ला, हाल ः काठमाडौं।

आधुनिक कृषि प्रणालीको आवश्यकता

प्लास्टिकको घरभित्र तरकारी खेती गर्दै आएका बागलुङका किसानहरूले ‘हाइटेक टनेल’ प्रविधि अवलम्बन गर्न थालेको समाचारले खुशी तुल्याएको छ। थोरै लगानीमा निर्माण हुने परम्परागत बाँसका प्लास्टिकका घरहरू छोटो समयमै भत्किँदा प्रतिफल प्राप्त गर्न नसकिने भएपछि किसानहरू लाखौं रुपियाँ खर्च गरेर फलामे दीर्घकालीन आम्दानीका लागि ‘हाइटेक टनेल’मा लगानी बढाउन थालेका हुन्।

खुल्ला आकाशमा तरकारी खेती गर्दा रोग लाग्ने र कीराले आक्रमण गर्ने हुँदा बेमौसमी तरकारी खेतीका लागि उचित मानिएको प्लास्टिकको घरभित्रको तरकारी खेतीलाई आधुनिक प्रविधिमा रूपान्तरण गर्दै यकाँका किसानले ‘हाइटेक टनेल’ प्रविधि अपनाएर खेती गर्न थालेका हुन्।

बाँसबाट निर्माण गरिने परम्परागत प्लास्टिक घर धेरै वर्ष नटिक्ने, सामान्य हावाहुरीले असर गर्ने समस्याबाट पीडित किसानहरू लाखौं लगानी गरेर हाइटेक प्रविधिको घर निर्माण गरेका हुन्। अब बिस्तारै अन्य जिल्लाका किसानले पनि यो प्रविधि अपनाउनुपर्ने देखिन्छ। परम्परागत टनेलमा खेती गर्दाभन्दा आधुनिक टनेलमा खेती गर्दा तीन–चार गुणा बढी उत्पादन गर्न सकिने बताइन्छ। सरकारले किसानलाई यस्तै आधुनिक खेती प्रणालीतिर आकर्षण बढाउने योजना ल्याउनुपर्छ।

–सुजन तामाङ, बागलुङ।

अहिलेदेखि नै पटका
नियन्त्रण गरियोस्

तिहार नजिकिँदै छ। त्यसैले काठमाडौं उपत्यकामा पटाका भित्रिन लागेको छ। यसको जथाभावी प्रयोगले खचाखच काठमाडौंमा दुर्घटना ननिम्तेला भन्न सकिँदैन। गत सोमबार मात्रै चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेक प्वाइन्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ना ५ ख ६५३८ नम्बरको बसबाट पटका १० प्याकेट, झिरझिरे ९ प्याकेट र रकेट १ प्याकेट प्रहरीले बरामद गरेको खबर छ। सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त यात्रुबाहक बसको डिकीभित्र बेबारिसे अवस्थामा रहेका पटाका फेला पारी प्रहरीले बरामद गरेको हो।

यो त प्रहरीले चेकजाँचका क्रममा फेला पारेको हो। लुकाएर ल्याइएका यस्ता वस्तु अन्य सवारीसाधनमा हुन सक्छन्। चेकपोस्टका प्रहरीको आँखा छलेर यस्ता पटाका दैनिक भित्रिने गरेका छन्। त्यसैले अहिलेदेखि नै नाढुंगा चेक प्वाइन्टमा मात्रै होइन, राजमार्गका अन्य विभिन्न चेकपोस्टमा पनि प्रहरी निगरानी हुनुपर्छ। अझ भारतीय सिमाना नजिकबाट काठमाडौं भित्रिने सवारीसाधनमा निगरानी बढाउनै पर्छ। अहिलदेखि नै यसतर्फ ध्यान जाओस्। पछि काठमाडौंमा पटका भित्रिएपछि यसको प्रयोगमा नियन्त्रण गर्न सकिँदैन।

–बलराम शर्मा, कलंकी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्