नमुनाको अभूतपूर्व परिकल्पना



राजधानीमा अभूतपूर्व परिकल्पनाका नाममा भएको फेसन शो अभूतपूर्वरूपमै सम्पन्न भएको छ। होटल सोल्टी क्राउन प्लाजामा आयोजित फेसन कार्यक्रम शीर्षकअनुसार अभूतपूर्व हुन पुगेको हो।

कलात्मक सजावटमा झकिझकाउ र्याम्प सेटअपमाथि ओहोर दोहोर गर्ने मोडलले पहिरिएका कलात्मक, सृजनात्मक तथा फरक परिवेश र पृथक् सोचबाट अभिप्रेरित पहिरनरूपी परिकल्पनाले दर्शकदीर्घालाई मन्त्रमुग्ध बनाइदियो।

परिकल्पना शीर्षकअन्तर्गतका २१ पहिरनमा विद्यार्थी डिजाइनरको मिहेनत प्रशंसनीय देखिन्थ्यो। ८४ जना विद्यार्थी डिजाइनको २१ समूहले प्रस्तुत गरेको भविष्यको परिकल्पना गर्दै तयार पारिएका पहिरनरूपी आकृतिहरू विज्ञान प्रविधि, जीव जन्तुको म्युटेसन, अनलाइन गेम्स, मानव र अन्य जीवको म्युटेसन, संगीत, रोबट, स्पेस सीपबाट प्रभावित थिए। सोहीअनुरूप भविष्यको परिकल्पना गरिएका पहिरनरूपी आकृतिहरूमा पुच्छर, सिङ, पखेटा आदिको समायोजन पनि थियो। कपडाबाहेक विभिन्न घरायसी तथा व्यावसायिक परिवेशमा प्रयोग हुने विभिन्न सरसामग्रीको समायोजन पनि ती पहिरनको विशेषता थियो।

नमुना कलेज अफ फेसन टेक्नोलोजीमा फेसन डिजाइनिङ पढाइअन्तर्गत ३ वर्षे स्नातक तह पूरा गर्ने क्रममा चौधौं ब्याचका ८४ विद्यार्थी डिजाइनको कल्पनाशीलता र सृजनात्मक अभिव्यक्ति प्रदर्शन गरिएको फेसन कार्यक्रमको कोरियोग्राफी एवं निर्देशन रोजिन शाक्यले गरेका थिए। विद्यार्थी डिजाइनरहरू स्वयंले आयोजना एवं व्यवस्थापन गरेको ग्राजुएसन फेसन शो कार्यक्रमको प्रमोसनका लागि फोटोशुटमा प्रयोग भएका पहिरनका मोडलसहित कलेजकी संस्थापक प्रिन्सिपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रूपमा परिचित ज्ञानी शोभा तुलाधरको रनवेमा उपस्थितिसँगै अगाडि बढेको थियो।

क्रिएटिभबाहेक कार्यक्रममा अन्य ५ प्रस्तुति पनि समेटिएका थिए। जसमा नेपाली सांस्कृतिक विविधता र जातीय पहिचानको चिनारी बोक्ने पहिरनको फ््युजन शैली थिए। जसअन्तर्गत लिम्बु, तामाङ, शेर्पा, थकाली, नेवार, सुनुवार, थारुलगायतका जातीयता झल्किने पहिरन थिए।

जुट, हेम्प, अल्लो, ब्याम्बुजस्ता नेचुुरल फ्याब्रिक प्रयोग गरिएका पहिरन भने फ्ल्यापर तथा युनिसेक्स शैलीबाट प्रभावित एवं प्रेरित थिए। २४ युवती तथा दश युवा मोडलको उपस्थिति रहेको कार्यक्रममा ड्रामाटिक ग्ल्याम शीर्षकअन्तर्गत सुन्तला, प्याजी, पहेंलो, नीलो, सिल्भरजस्ता रंगको प्रधानता रहेका साटन, नेट सिफनजस्ता फ्याब्रिकका खेलिएका लङ ड्रामाटिक गाउन प्रदर्शन गरिएका थिए। यसैगरी पप आर्ट अवधारणामा तयार पारिएका रंगीबिरंगी पहिरन पनि कार्यक्रमको आकर्षण रह्यो भने पेस्टल कलरको प्रधानता रहेको विभिन्न स्लीब्स तथा स्लिट्सको प्रधानता रहेका शुद, लेदर, सिन्थेटिक, भेल्भेट आदि फ्याब्रिकमा तयार पारिएका पहिरनले पनि र्याम्पमा ओहोर दोहोर गर्ने अवसर प्राप्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्