सिन्धुपाल्चोक जिल्लाकै नमुना बस्ती



ज्ञानमणि नेपाल कालोटोपी

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सबैभन्दा धेरै मानवीय र भौतिक क्षति पुर्याएको सिन्धुपाल्चोकको झ्याँडीमा अवस्थित माझीगाउँमा कलाकार श्वेता खड्काको पहलमा अहिले नमुना बस्ती बनिरहेको छ। ५४ वटा निजी आवास र एउटा संस्थाको सम्पर्क कार्यालयसहित ५५ वटा घरहरू हाल निर्माणको अन्तिम चरणमा पुगेको छ। ०७४ साल जेठ १५ गते पुनर्निर्माण प्राधिकरणका तत्कालीन सीईओ गोविन्द पोखरेल तथा कलाकार श्वेता खड्कालगायतको टिमले यो बस्तीको शिलान्यास गरेको थियो। त्यसयता विविध अप्ठ्यारासँग झेल्दै अहिलेको बस्तीले यस्तो आकार लिएको छ।

हुन त यो बस्ती यसअघि नै निर्माण सकिनुपर्ने हो तर यहाँ निर्माणका क्रममा धेरै समस्याहरू आएपछि ढिला भएको छ। समस्याका रूपमा आर्थिक अभाव नै रहेको श्वेताश्री फाउन्डेशन झ्याँडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी बताउनुहुन्छ। यति मात्र होइन एकीकृत बस्तीका लागि जग्गा व्यवस्थापन पनि उस्तै समस्याका रूपमा रहेको थियो। माझी समुदायमा चेतना जगाउन र बस्ती निर्माणका लागि समन्वय गराउन पनि अप्ठ्यारो भएको थियो। यी धेरै समस्यालाई सहजीकरण गर्दै बस्ती निर्माण शुरू गरिएको अध्यक्ष माझीले बताउनुभयो।

उहाँका अनुसार यस बस्तीमा अहिलेसम्म करिब २ करोड ५० लाख खर्च भइसकेको छ भने बस्ती निर्माण सम्पन्न हुँदा ५ करोड ८८ लाखभन्दा बढी लाग्ने अनुमान गरिएको छ। २६ रोपनी क्षेत्रफलमा बनिरहेको यस बस्तीमा अहिले ७ जनाको टोल सुधार समितिको निगरानीमा दैनिक २० जना जति दक्ष प्राविधिक र प्रत्येक घरबाट एक एकजना स्थानीयले बस्ती निर्माणमा प्रत्यक्षरूपमा सहयोग गरिरहेका छन्।

सरकारी मापदण्डमा झन्झट र बैंकले दिने सहुलियत ऋणमा ढिलाइले गर्दा बस्ती निर्माणमा पनि ढिलाइ भएको श्वेताश्री फाउन्डेशनका कार्यक्रम संयोजक यज्ञराज कार्कीले बताउनुभयो। सरकारी मापदण्ड सजिलो हुने हो भने केही महिनाभित्रै बस्तीले पूर्णता पाउने पनि उहाँले बताउनुभयो। कार्कीका अनुसार बस्तीमा रहेका स्थानीयहरूलाई बस्तीप्रति माया बढोस् भन्ने उद्देश्यले त्यहाँ रहेका युवाहरूलाई परिचालन गरी काम अघि बढाइएको छ। सकेसम्म छिटो काम सकेर बस्ती समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो। अहिले निर्माणाधीन ५४ घरमध्ये ३४ वटा घरमा छाना छाउने सम्मको काम सकिएको छ भने बाँकी घरहरू निर्माणकै क्रममा रहेका छन्। यहाँको समुदायलाई बस्ती निर्माणपछि पनि जीविकोपार्जनका अन्य कार्यक्रमतर्फ प्रेरित गराउने यस संस्थाको उद्देश्य रहेको बताइएको छ।

साविकको ठूलोसिरुबारी गाविस तथा हाल चौतारा साँगाचोकगढी नगरपालिका १४ मा रहेको यस गाउँमा करिब ३ सय ७० जना माझी समुदायहरूको बसोबास रहेको छ। भूकम्पले भएभरका सबै घरहरूलाई क्षणभरमै खण्डहर बनाइदिएको झ्याँडीबासीहरूले यस्तो बस्ती आफ्नै गाउँमा बनाउन सकिने कुरा सपनामा पनि सोचेका थिएनन्। बस्ती निर्माणको अन्तिम अवस्था हुँदा अहिले उनीहरू निकै नै खुसी छन्। स्थानीय ६५ वर्षीय मैया माझी भन्नुहुन्छ– ‘हामीले कहिल्यै नसोचेको नमुना बस्ती आफ्नै गाउँमा पाउँदा हामी धेरै खुसी भएका छौं। हाम्रो दुःखलाई बुझेर सहयोग गर्नु हुने संस्थालाई धेरै धेरै धन्यवाद छ।’

आफ्ना श्रीमान् कलाकार श्रीकृष्ण श्रेष्ठको निधन भएपछि नायिका श्वेताको मन कलाकारिताका साथै समाजसेवामा पनि आर्कषित भएको थियो। श्रीकृष्णकै गृहजिल्ला सिन्धुपाल्चोकमा श्वेताकै पहलले श्वेताश्री फाउन्डेशनको स्थापना गरी फाउन्डेशनको पहिलो बस्तीका रूपमा झ्याँडीमा एकीकृत नमुना बस्ती बन्दै गरेको हो। एकीकृत बस्ती निर्माणबारे संस्थाकी अध्यक्ष नायिका श्वेता खड्काले झ्याँडीकै बस्ती निर्माणका लागि फाउन्डेशनको स्थापना भएको बताउनुहुन्छ। ‘माझी समुदायसँग काम गर्न पाउँदा म एकदमै खुसी छु।’ –उहाँले भन्नुभयो। ‘यो बस्ती राजधानीबाट धेरै नै नजिक रहेको तर हरेक समस्याले पीडित रहेको कुरा पत्रिकामा पढेर थाहा पाएँ। त्यसपछि केही सहयोग गर्न सकिन्छ कि भनेर सोच्दै गर्दा फाउन्डेशन बनाएर नै काम गर्नुपर्ने आवश्यकताको महसुस भयो र काम शुरू गरियो। गत वर्षको जेठबाट निर्माण शुरू गरियो।’ –उहाँले भन्नुभयो। तर वर्षायाम भएकाले सामान ढुवानी र अन्य काम गर्न धेरै समस्या भयो।

गतवर्षको चुनावले पनि कामलाई अवरोध गरेपछि निर्धारित समयमा सम्पन्न गर्न सकिएन। हामीले यो दशैंसम्ममा त जसरी पनि काम सक्ने योजना बनाएका थियौं तर बस्ती हस्तान्तरणका लागि अझै केही महिना लाग्न सक्ने अवस्था रहेको बताउँदै नायिका खडकाले सरकारले अनुदान दिने प्रक्रियामा धेरै चरणहरू पूरा गर्नु पर्दा र झन्झटिलो बैंकिङ प्रक्रियाले गर्दा पनि केही समय ढिला भएको अनुभव सुनाउनुभयो। ‘ढिलै भए पनि हामीले सोचेभन्दा राम्रो बस्ती निर्माण गर्दै छौं। यो जिल्लाकै नमुना बस्ती हुनेमा म ढुक्क छु। जसले जहाँबाट हामीलाई सहयोग गर्नु भएको छ, सबैप्रति आभारी छु।’ –उहाँले भन्नुभयो।

बस्तीमा अहिले हेल्प जर्मन र टुकीसंघको सहयोगमा खानेपानीका लागि पनि काम भइरहेको छ। बस्ती निर्माणका क्रममा सामान ढुवानी गर्न पनि धेरै नै समस्या भएको थियो। समस्या भए पनि अहिले यहाँ प्रत्येक घरमा ३ वटा कोठा र शौचालयसहितको पक्की घर बन्दै छ। तल सुसाउँदै गरेको इन्द्रावती नदी र छेवैको झ्याँडी खोलाको नजिक रहेको यस बस्तीलाई श्वेताश्री फाउन्डेशनले जिल्लाकै नमुना बनाइदिएकोमा स्थानीयबासी निकै खुसी छन्।

काभ्रे र सिन्धुपाल्चोकको सिमाना दोलालघाटबाट १ घण्टाको कच्ची बाटोमा बसयात्रा तथा काभ्रेको मण्डनदेउपुर नगरपालिका हुँदै पनि जान सकिने झ्याँडीको यो नमुना बस्तीमा कुनै अवरोध नआए अबको केही महिनामा सम्पन्न गरी स्थानीयबासीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको सो बस्ती निर्माण समितिका अध्यक्ष दिनेश माझीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्