हुँदा–हुँदा नास्टमा पनि राजनीति, ‘बार्गेनिङ’ले प्रतिष्ठान उपकुलपतिविहीन



टीका बन्धन, काठमाडौं
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताको चर्को ‘बार्गेनिङ’का कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) उपकुलपतिविहीन बनेको छ।

आफू निकटकालाई नियुक्त गर्न नेकपाका नेताको जोडबल बढेसँगै उपकुलपति नियुक्ति प्रक्रिया लम्बिन थालेको हो। नास्ट विगत डेढ महिनायता उपकुलपतिविहीन छ। यसअघिका उपकुलपति प्राडा जीवराज पोखरेलको कार्यकाल गत भदौ १४ मा सकिएसँगै नास्ट कार्यकारी विहिन बनेको हो।

खोज–अनुसन्धानमा जुट्ने संस्था राजनीतिक रङ र गन्धमा चुर्लुम्म

उपकुलपतिको दौडमा रहनेहरू सत्ताका शीर्ष नेता निकट भएकाले यो प्रक्रिया लम्बिएको नास्टका अधिकारी बताउँछन्। नास्ट उपकुलपतिको कार्यकाल ४ वर्षको हो। सो प्रतिष्ठानको उपकुलपतिको दौडमा नास्टका प्राज्ञद्वय डा. दिनेश भुजु, डा. ऋषि शाह, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. सुनिलबाबु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका प्राध्यापकद्वय रमेश मास्के र जनार्दन लामिछानेलगायत हुनुहुन्छ।

भुजु र श्रेष्ठ नास्ट व्यवस्थापन परिषद् र लामिछाने नास्ट सेवा आयोगका सदस्य रहनुभएको छ। नास्टकै पूर्वसचिव रहिसकेकाले शाह पनि आफूलाई उपकुलपति दाबी गर्दै आउनुभएको छ। प्रतिष्ठानका सह–कुलपति एवं शिक्षामन्त्रीको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले गरेको सिफारिसका आधारमा नास्ट कुलपति एवं प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ।

राजनीतिक बार्गेनिङका कारण यो प्रक्रिया लम्बिएको बताउँदै नास्टका एक उच्च अधिकारीले भने– ‘नियुक्ति प्रक्रिया लम्बिने मुख्य कारण पोलिटिकल बार्गेनिङ नै हो, दशैं र तिहारको बहानामा यो प्रक्रिया अझै लम्बिने अवस्थामा पुगेको छ।’

स्रोतका अनुसार योजना आयोगका पूर्वसदस्य श्रेष्ठ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका नजिकका नातेदार हुनुहुन्छ भने मास्के शिक्षामन्त्री गिरिराजमणि पोखरेल निकट मानिनुहुन्छ।

तत्कालीन माओवादीनिकट मानिने लामिछाने यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्ने चर्चामा रहे पनि सो अवसरबाट वञ्चित रहनुभएको थियो। परिणाममुखी नतिजा देखाउन नसकेको भनेर आलोचित हुँदै आएको नास्टको कार्यकारी पदमा प्रत्यक्ष राजनीतिक प्रभाव झल्किनु दुर्भाग्य भएको त्यहाँ कार्यरत अधिकारी बताउँछन्।

‘विज्ञानका विविध खोज अनुसन्धानमा जुट्ने संस्था राजनीतिक रङ र गन्धबाट टाढा रहनुपर्छ भन्ने प्रष्ट हुँदा हुँदै पनि नास्ट राजनीतिक प्रभावबाटै कहिलै मुक्त हुन सकेन, हाम्रा लागि दुर्भाग्य हो’ –सो निकायका एक अधिकारीले भने।

ती अधिकारीले प्रष्ट्याउँदै भने– ‘उपकुलपति जुनसुकै नेता निकटका आए पनि हामीलाई क्षमतावान्, सबल र सक्षम नेतृत्व चाहिएको छ, विगतमा पार्टीको यो र त्यो जिम्मेवारीमा थिएँ भन्नेहरूले यस्तो निकायको नेतृत्व दावी गर्नु उपयुक्त हुँदैन।’

 

प्रतिक्रिया दिनुहोस्